बढ्दो खराब कर्जाबाट चिन्तित देखिए गभर्नर पौडेल, बैंकर्ससँग भने- कुनैपनि नीति छलफल गरेरै ल्याउँछु

बिजमाण्डू
२०८२ जेठ ८ गते १७:०१ | May 22, 2025
बढ्दो खराब कर्जाबाट चिन्तित देखिए गभर्नर पौडेल, बैंकर्ससँग भने- कुनैपनि नीति छलफल गरेरै ल्याउँछु


काठमाडौं। नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक तथा वित्तीय क्षेत्रमा देखिएका समस्याहरु हलगर्न बनाइने नीतिहरु छलफलबाटै तय गर्ने बताएका छन्।

Tata
GBIME

बाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघका पदाधिकारीहरुसँग बिहीबार भेट्दै गभर्नर पौडेलले अहिलेका समस्या हल गर्नका लागि के कस्ता नीति आवश्यक पर्छन् त्यसको अध्ययन गरी सुझाब दिन पनि भनेका थिए।

बधाइ खान भ्याइनभ्याइ रहेका पौडेलले करिव ५ मिनेट बैंकर्स संघ बिताएका थिए। उनले सचिवालयका कर्मचारीबाहेक अन्य उच्च अधिकारीहरु आफूसँग राखेका थिएनन्। उनले बैंकरको कुरा गम्भिरताका साथ सुनेको सहभागी एक बैंकरले बताए।

‘कुनैपनि नीति ल्याउँदा गुपचुप ल्याउँदैनौं। छलफल गरेर नै ल्याउने हो,’ उनले भने, ‘समस्या र चुनौतीहरु छन्। यसलाई हल गर्नका लागि आवश्यक सुझाब के हुन्छन् लिएर आउनु होला।’

शुभकामना दिन गएका बैंकरलाई उनले अहिलेको चुनौती मिलेरै समाधान गर्नु पर्ने भन्दै व्यस्तता अलिकति कम भएपछि बिस्तारमा कुराकानी गर्ने भनेर बैंकरलाई बिदा गरेका थिए। त्यसबेला उनले बैंकहरुको खराब ऋण, अर्थतन्त्र सुस्त भएको कुरा झिकेका थिए।

सहभागी बैंकरले शुभकामना व्यक्त गर्दा बैंकिङ क्षेत्रमा चुनौती बढेको जानकारी गराएका थिए। उनीहरुले निर्देशित लगानीले समस्या भएको बताएका थिए।