
काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा कम्पनीले दसैं अगाडि व्यावसायिक उडान नगर्ने भएका छन्। वायुसेवा कम्पनीले यात्रु पाउने आधार तयार नभएको भन्दै दसैं अगाडि भैरहवामा अन्तर्राष्ट्रिय उडान नगर्ने भएका हुन्।
विन्टर सेडुल अर्थात अप्रिल अगाडिसम्म नियमित र हप एण्ड हप उडान गर्दै आएका वायुसेवा कम्पनीले अहिले उडान तालिका नै लिएका छैनन्। समर सेडुल अर्थात अप्रिल १ बाट भैरहवा विमानस्थलमा व्यावसायिक अन्तर्राष्ट्रिय उडान ठप्प छ।
फ्लाइ दुबइ र थाइ एयर एसियाले यात्रु नपाएका कारण उडान बन्द गरेको जनाएका छन्। यी दुबै वायुसेवा कम्पनीको नेपालका लागि जीएसए युनिभर्सल टुर एण्ड ट्राभल्स हो।
‘फ्लाइ दुबइ र थाइ एयर एसिया अहिले तत्काल भैरहवामा उडान गरिहाल्ने योजनामा छैनन्। एयर एसियाले विन्टर सेडुलमा उडान गर्ने जानकारी गराएको छ,’ कम्पनीका एक कर्मचारीले भने, ‘थाइले साताको २ वटा उडान गर्ने योजना बनाएको छ।फ्लाइ दुबइसँग छलफल भइरहेको छ।’

जजिरा एयरवेजको नेपालका लागि आधिकारीक जीएसए सोसाइटी इन्टरनेसनलले दसैंको समय पारेर नियमित उडान गर्ने जनाएको छ। कम्पनीका एक कर्मचारीले दसैंको समयमा यात्रुको चाप बढ्ने भएका कारण त्यतिखेर उडान गर्ने योजना बनाइरहेको जानकारी दिए।
‘हामीले अहिले नियमित उडान सेवा दिन खोजेकै हौं। तर, यात्रु यात्रु नपाएपछि जहाज खाली उडाउने कुरा भएन,’ उनले भने, ‘दसैंको समयमा यात्रुको चाप बढ्छ। हामी त्यतिखेर चाहिं उडान गर्छौं।’
नेपाल नागरिक उड्डयन प्रधिकरणले सरकारी निकायले तोकिएको जिम्मेवारी अनुसार काम नगरेका कारण वायुसेवा कम्पनीले यात्रु अभावमा व्यावसायिक उडान बन्द गर्नुपरेको बताएको छ।
‘मन्त्रिपरिषद्ले नै भैरहवा विमानस्थल चलाउनका लागि कुन निकायले के गर्ने भनेर टाइमलाइनसहितको जिम्मेवारी तोकेको थियो। तर, त्यसअनुसार काम भएन। विमानस्थलमा यात्रु आउने आधार बनेन। जसले गर्दा हामीले पनि वायुसेवा कम्पनीलाई बाध्य बनाउन सकेनौं,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने।
भैरहवा विमानस्थलमा सन् २०२४ नोभेम्बरबाट २०२५ मार्चसम्म जजिरा एयरवेज, फ्लाइ दुबई, थाइ एयर एसिया, नेपाल वायुसेवा निगम र कतार एयरवेजले नियमित उडान गरेका थिए।
अहिले नेपाल वायुसेवा निगमले काठमाडौं-क्वालालाम्पुर-भैरहवा–काठमाडौं तर्फ हप अन हप उडान तालिका राखेपनि व्यावसायिक उडान गरेको छैन।