भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी प्रतिबद्धताबारे हृदयराम थानी : खुट्टी देख्दै चाल पाइयो

बिजमाण्डू
२०८२ बैशाख २४ गते १७:३९ | May 7, 2025
भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी प्रतिबद्धताबारे हृदयराम थानी : खुट्टी देख्दै चाल पाइयो
हृदयराम थानी


काठमाडौं। नेपाली कांग्रेसका सांसद हृदयराम थानीले भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी प्रतिबद्धतामाथि प्रश्न उठाएका छन्।

Tata
GBIME
NLIC

उनले बुधबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा अख्तियार विधेयक संसदीय समितिमा रोकेर भ्रष्टाचार नियन्त्रणको कुरा गर्न पत्याउन नसकिने बताए।

उनले संसदीय उपसमितिले दफाबार छलफल गरेर टुंगो लगाएको अख्तियार विधेयक राज्य व्यवस्था समितिमा थन्क्याइएको अवस्थामा भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी प्रतिबद्धता ‘खुट्टी देख्दै चाल पाइयो’ भनेजस्तै हुन पुगेको बताए।

‘अख्तियारजस्तो महत्वपूर्ण विधेयक राज्य व्यवस्था समितिको उपसमितिले बुझाएर समितिमा थन्किएको छ। भ्रष्टाचार न्यूनिकरणका लागि त्यो विधेयक आवश्यक छैन? यहाँ ल्याउनुपर्दैन?,’ उनले भने, ‘भ्रष्टाचार न्यूनिकरण गर्छु भन्ने सरकारले आवश्यक कानुन नबनाउँदा मुलुकको अवस्था के हुन्छ? भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ भने व्यवहारमा पनि लागू गर्नुपर्छ। विधेयक आउनुपर्छ। गाउँघरमा एउटा उखान छ, खुट्टी देख्दै चाल पाइयो।’

थानी संयोजक रहेको उपसमितिले विधेयकमाथि छलफल सकेर गत पुस ४ गते नै समितिलाई प्रतिवेदन बुझाएको थियो।

सांसद थानीले नीति तथा कार्यक्रममा समृद्ध नेपाल, सुखी नेपालीको नारा राखिएकामा असन्तुष्टि जनाए। ‘आफैंले प्रयोग गरेको नारालाई नीति तथा कार्यक्रममा ल्याउँदा यहाँ अरु दल पनि सहभागी छन् भन्ने कुरा सरकारले मनन् गर्नुपर्थ्यो,’ उनले भने, ‘दुई तीनवटा कुराले कन्फ्युज गरायो।’

उनले नीति तथा कार्यक्रमलाई निबन्धको संज्ञा दिए। ‘कृषि मल कारखाना स्थापना गर्ने रटान जनलाई विश्वास लाग्न छाडिसक्यो। बाँझो खेत उपयोग, चक्लाबन्दी, करार खेती कुरा निबन्ध पढेजस्तै भयो। त्यत्रा बाँझा खेत छन्। मान्छेहरु विदेश गइरहेका छन्। गाउँका घर थोत्रा भइसके। त्यसैले लेखेर मात्र भएन। काम गरेर देखाउनुपर्‍यो,’ उनले भने।

थानीले रुग्ण उद्योग पुन: संचालन गर्ने कार्यक्रम कसलाई खुशी तुल्याउन ल्याएको भनेर प्रश्न गरे। ‘रुग्ण उद्योग पुन: संचालन गर्ने कुरा बारम्बार आउँछ। यो कसलाई चित्त बुझाउनका लागि र खुशी बनाउन लेखिएको हो,’ उनले भने, ‘कर्णालीको विकाससम्बन्धी एउटै कुरा छैन यो किताबमा। कर्णालीलाई राज्यले ठगेको छ, शोषण गरेको छ भन्ने जनतालाई परेको छ।’