
काठमाडौं। रोयल च्यालेन्जर्स बेङ्ग्लुरु अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै बेङ्ग्लुरु शीर्षस्थानमा उक्लिएको हो।
दिल्ली स्थित अरुण जेट्ली स्टेडियममा घरेलु टोलीले टस हारेर पहिलो ब्याटिङमा उत्रिएको थियो। दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनायो। यसक्रममा केएल राहुलले सर्वाधिक ४१ रन बनाउँदा तृस्टन स्टुब्सले ३४, अभिषेक पोरलले २८, फाफ डुप्लिसिसले २२ तथा अक्षर पटेलले १५ रनको योगदान दिए।
बलिङतर्फ बेङ्ग्लुरुका भुवनेश्वरकुमारले सर्वाधिक ३ विकेट लिँदा जोस हेजलवुडले २ तथा यस डायल र क्रुणाल पाण्ड्याले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लुरुले क्रुणाल पाण्ड्या र विराट कोहलीको अर्धशतकमा १८.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। पाण्ड्याले सर्वाधिक अविजित ७३ रन बनाउँदा कोहलीले ५१, टिम डेभिडले अविजित १९ र ज्याकोब बेटहेलले १२ रन बनाए। बलिङतर्फ दिल्लीका अक्षर पटेलले २ विकेट लिँदा दुसमान्था चमीराले १ विकेट लिए।
योसँगै १० खेलबाट १४ अंक बनाएको बेङ्ग्लुरु तालिकाको शीर्षस्थानमा छ। दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका गुजरात टाइटन्स, मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सको समान १२ अंक छ।