सिजनमै सुन कारोबार घट्यो, मूल्य बढ्दा किन्ने भन्दा बेच्ने ग्राहक बढी

सरला सुवेदी
२०८२ बैशाख ५ गते ०६:२० | Apr 18, 2025
सिजनमै सुन कारोबार घट्यो, मूल्य बढ्दा किन्ने भन्दा बेच्ने ग्राहक बढी


 काठमाडौं । सुनको मूल्य हालसम्म कै उच्च विन्दुमा पुग्दा सिजनमै कारोबार घटेको छ। यो पटक बैशाखमा करिब १२ दिन विवाहको लगन छ। तर, सुनको मूल्य करिब २ लाख आसपास पुग्न लाग्दा खरिदकर्ता भने न्यून मात्र छन्।

Tata
GBIME
NLIC

पहिला बैशाखमा बिहेको लगन हुने भएकोले सुनको कारोबार दैनिक ३० केजी देखि ४० केजीको हाराहारीमा हुने गरेको थियो। तर, गत वर्ष पनि सुनको भाउ बढ्दै जाँदा सिजनमै कारोबार घटेको व्यवसायी बताउँछन्। त्यही ट्रेन्ड यसपटक पनि देखिँदैछ।

यसपाली बैशाख लागेपछि सुनको मूल्य ३ दिनमा ६ हजार रुपैयाँ बढेर प्रति तोला एक लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ह्वात्तै बढेको छ।

व्यवसायीका अनुसार यतिबेला अतिआवश्यक परेको ग्राहकले मात्र सुन खरिद गरिरहेका छन्। कतिपय ग्राहकले आफुसगँ भएको सुन ल्याएर नयाँ डिजाइनमा बनाउने गरेको पाइएको छ।

बैशाखका लागि व्यवसायीले केहि समयअघिबाट बैंकबाट सुन खरिद गरि स्टक राख्ने गरेका थिए। सुनको भाउ लगातार उकालो लाग्दा गत चैतमा बैंकले आयात गरेको सुन समेत बिक्री नभएर स्टक बसेको थियो।

यतिबेला पनि बैंकले सुन आयात गरिरहेका छन्। तर, बजारमा सुनको भाउ उच्च भए पछि पुरानो सुन बेच्ने ग्राहक बढ्न थालेको व्यवसायीले बताएका छन्।

नेपाल सुनचाँदी व्यवासायी महासंघका उपाध्यक्ष दियेश शाक्यले सुनको भाउ महंगिदा कारोबारमा असर परेको बताए।

‘अहिले नयाँ सुन खरिद गर्ने भन्दा बेच्ने ग्राहक बढ्न थालेका छन्। सिजन सुरु भयो तर भाउले गर्दा सुनको मागमा कमि आएको छ,’ उनले भने।

व्यवसायीले बैंकबाट सुन खरिद गरे पनि यसपाली बिक्री घटेको छ। भाउ धेरै भएपछि सुन बेच्ने ‘ट्रेन्ड’ धेरै बढेको उपाध्यक्ष शाक्य बताउँछन्। उपत्यका बाहिरबाट समेत सुन बेच्न ग्राहक उपत्यका आउने गरेको उनले बताए।

‘पहिले सिजनमा माग नै नभए पनि दैनिक २५ केजीको हाराहारीमा बिक्री हुने गरेको थियो। अहिले सुनको माग कति छ भन्न नसकिने अवस्था रहेको छ। बजारमा सुनको भाउ बढेर ३३ सय डलर भन्दा बढी भएको छ। भाउ अझै बढ्ने सम्भावना रहेकोले केही ग्राहकले खरिद बिक्री नगरी बसेका पाइएको छ,’ उनले भने।

त्यस्तै, न्यूरोडमा रहेको जे जे ज्वेलर्सले पनि सिजनमा सुनको कारोबार कम भएको जनाएको छ। ज्वेलर्सका संचालक पवन सोमानियाले फिर्ता आउने सुनले गर्दा नयाँ सुनको कारोबार न्यून रहेको बताए।

‘सुन बेच्न आउने ग्राहक बढिरहेका छन्। अहिले पैसा कहाँबाट ल्याउने भएको छ,’ उनले भने।

 दैनिक १० तोलाको हाराहारीमा सुन फिर्ता आउन थालेपछि आफूले बिक्री गरेको मात्र सुन खरिद गरिरहेका उनले बताए।

‘पहिले सुनको भाउ महंगो भएकोले ग्राहकले फिर्ता सुन ल्याएर नयाँ बनाउने गरेका थिए। अहिले सुन बेचेर पैसा लिएर जाने धेरै भए,’ उनले भने।

सुन बनाउन आउनेले पनि केहि पुरानो ल्याएर त्यसमा थोरै थप्न लगाउने गरेको उनले सुनाए। यसले गर्दा सुनको कारोबार यतिबेला एकदमै कम रहेको व्यवसायीहरु बताउँछन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बढ्दै जादाँ ग्राहकहरु ‘पर्ख र हेर’को अवस्थामा रहेका छन्।अमेरिकी विज्ञले सुनको भाउ धेरै घट्न सक्ने अनुमान पनि गरेका छन्। त्यसैले पनि केही ग्राहकले भाउ बढेको समयमा बिक्री गरेका हुनसक्ने महासंघको बुझाइ छ।