हिजाजीको दोहोरो गोलको सहायतामा धनगढीको फराकिलो जित, बुटवल पराजित

बिजमाण्डू
२०८१ चैत्र १९ गते २०:३७ | Apr 1, 2025
हिजाजीको दोहोरो गोलको सहायतामा धनगढीको फराकिलो जित, बुटवल पराजित
प्रतिस्पर्धामा धनगढी एफसी र बुटवल लुम्बिनीका खेलाडी। तस्बिर: एनएसएल


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा धनगढीले सुखद् सुरुवात गरेको छ। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनीलाई ४-१ गोलअन्तरले हराएको हो। जारी संस्करणमा यो सबैभन्दा फराकिलो जित हो।

Tata
GBIME

नियमित कप्तान एरिक बिस्टले पहिलो खेलमै रेडकार्ड व्यहोरेकाले बुटवल लुम्बिनी मनीष डाँगीको कप्तानीमा उत्रिएको थियो।

खेलको छैटौं मिनेटमै धनगढीले खेलमा अग्रता बनायो। धनगढीका लागि पहिलो गोल लेबनानी स्ट्राइकर अहमद हिजाजीले गरे। मोहम्मत एल जाउएनीले पेनाल्टी क्षेत्रभित्र रहेका जर्ज प्रिन्स कार्कीलाई दिएको लामो पासमा बल राम्ररी नियन्त्रण गर्न नसकिरहेको अवस्थामा नजिकै रहेका अहमद हिजाजीले आएर गोल गरिदिए। यो प्रहार बुटवलका गोलकिपर दीप कार्कीले मेसै पाउन सकेनन्।

बुटवलले खेलको ३१औं मिनेटमा गोल फर्कायो। कर्नरबाट आएको बललाई केन्ता हाराले ब्याकफुटबाट चलाखीपूर्ण गोलमा परिणत गरे। पहिलो हाफ १-१ गोलको बराबरीमा रोकियो।

दोस्रो हाफमा धनगढी एफसीले फेरि अग्रता बनायो। मार्की खेलाडीसमेत रहेका कृतिस रत्न छुन्जुले ७५औं मिनेटमा कप्तान देवेन्द्र तामाङले सेन्टर नजिक दिएको पासमा बुटवलका तीन डिफेन्डरको बीचमा ड्रिब्लिङ गर्दै दर्शनीय गोल गरे।

इन्ज्युरी समयमा धनगढीका हिजाजीको पासमा जर्ज प्रिन्स कार्कीले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बललाई बुटवलका गोलकिपर दीप कार्कीले सुन्दर बचाउ गरे। तर, अर्को अवसरमा गोलकिपर कार्की अगाडि बढीसकेको अवस्थामा हिजाजीले गोल थपे। लगत्तै धनगढीले चौथो गोल पनि थप्यो। यसपटक सर्जियो बरबोजुले कार्कीले बचाउदा रिबाउन्स भएर आएको बललाई पोस्टको दिशा दिँदै गोल गरे।

यो सँगै धनगढीले सिजनको पहिलो खेलमै जित हातपार्दा बुटवलले लगातार दोस्रो खेलमा पनि जित निकाल्न सकेन। पहिलो खेलमा बुटवल झापा एफसीसँग बराबरीमा रोकिएको थियो।