
काठमाडौं। एयर ट्राफिक कन्जेसनको समस्या रहेको त्रिभुवन विमानस्थलमा एउटै वायुसेवा कम्पनीले दैनिक ५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अप्रिलबाट लागू हुने नयाँ उडान तालिका स्वीकृत गरेको छ।
समर सेडुलमा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुनैपनि वायुसेवा कम्पनीले व्यावसायिक उडान गर्न इच्छा नदेखाएपछि काठमाडौंमा मागेजति स्लट दिइएको क्यानले जनाएको छ।
‘पोखरा र भैरहवाबाट उडान गर्न कुनै पनि वायुसेवा इच्छुक छैनन्। हामीले टीआइएमा समरका लागि वायुसेवाले मागे बमोजिम उडान स्लट दिएका छौं,’ क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने, ‘राति १२:०० बजेसम्म विमानस्थल सञ्चालन हुनेछ। सबै उडान व्यवस्थापन हुने गरी स्लट तयार गरिएको छ।’
एयर इण्डियाले दैनिक ५ वटा उडान गर्ने अनुमति पाएको छ। भारतकै बजेट एयरलाइन्स एयर इण्डिगोलाई क्यानले दैनिक ४ वटा उडान गर्ने अनुमति दिएको छ।
एयर अरेबिया, भुटान एयरलाइन्स र फ्लाइ दुबइले दैनिक ४ उडान गर्ने अनुमति पाएका छन्। यसैगरी कतार एयरवेज, मालिन्दो एयर, जजिरा एयरवेज, विमान बंगलादेश लगायत वायुसेवाले दैनिक ३ वटा उडानको स्वीकृति पाएका छन्।

साताको ४ उडान गर्दै आएको क्याथे प्यासिफिकले यो सिजनबाट साताको सातै दिन उडान गर्ने भएको छ। यसैगरी दैनिक एउटा उडान गर्दै आएको चाइना साउदर्नले दैनिक २ वटा उडानको स्वीकृति पाएको छ। विन्टरमा दुईवटा उडान गरेको कतार एयरवेजले अप्रिलबाट दैनिक ३ वटा उडान गर्ने भएको छ।
एयर इण्डिया एक्सप्रेस र स्पाइस जेटले पनि उडान गर्ने
अप्रिलबाट एयर इण्डिया एक्सप्रेस र स्पाइस जेटले पनि काठमाडौंमा व्यावसायिक उडान गर्ने भएका छन्। भूलका अनुसार स्पाइस जेटले साताको सातै दिन उडान गर्ने अनुमति पाएको छ। एयर इण्डिया एक्सप्रेसको भने स्लट निश्चित हुन बाँकी छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले गर्मीको समयमा बिहानै देखि मौसम सफा रहने भएका कारण उडान स्लट बढाएको बताए।
‘हामीले सबै अध्ययन गरेर उडान स्लट व्यवस्थापन गरेका छौं,’ उनले भने।