
पोखरा। ‘मौनतामा अल्झिरहेको एउटा जीवन,कहाँ जाने ? कसलाई सोध्ने ? कस्लाई खोज्ने ?…’ यो गीत गुुञ्जाउदै गायक ओमविक्रम विष्ट पोखरामा झुल्किएका छन्। २०३० को दशकदेखि नेपाली सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाएका उनका गीतले फेवाताल किनार गुञ्जियो। पोखरामा भेला भएका साहित्यपारखी मन्त्रमुग्ध भए।
ओमविक्रमलाई पोखरामा गुञ्जाउने चाँजोपाँजो मिलाएको हो, १२ औं संस्करणको एनसेल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलले। गत बिहीबारदेखि जारी फेस्टिभलको तेस्रो दिनको साँझ संगीतमय बन्यो। ओमविक्रमलाई सुन्न पोखरामा नयाँ र पुराना दुवै पुस्ताका दर्शक थिए।
सांगीतिक साँझको सुरुआतमा पत्रकार वसन्त थापा र ओमविक्रमबीच भलाकुसारी भयो। शनिबार साँझ फेवाताल किनारमा गुञ्जिएका उनी १७ वर्षदेखि अमेरिकामा छन्।
उनले बाल्यकालदेखि संगीत जगतमा लागेको बताए। ‘१० वर्षको उमेर हुँदा बुवाले ल्याइदिएको गितार औंलाबाट रगत आउन्जेल बजाएर सिकेँ। त्यो गितार त घरमा सजाउने रहेछ!,’ मुस्कुराउँदै उनी फ्ल्यासब्याकमा गए, ‘संगीतमा बच्चैदेखि रुचि। त्यसै पनि मेरो रगरगमा संगीत थियो।’
११ वर्षको उमेरमा पहिलो पटक स्टेज चढेर गीत सुनाएको ओमविक्रमले सम्झिए। ओमविक्रमसँगै अनिल शाहीको समूह र सोनागी ब्लुजको सांगीतिक प्रस्तुतिमा दर्शक रमाए। शाहीको समूहले प्रस्तुत गरेको सांगीतिक धुनले चिसो मौसमलाई ततायो।

संगीतको धुनले मन छोएपछि उपस्थित दर्शकले ताली र हुटिङले सम्मान गरे। त्यसपछि भूपी कक्षमा गुुञ्जिएको ‘आउ बसौं थकाइ मारौं’ ले झनै रौनक बढायो। पोखरेली गायक स्वर्गीय झलकमान गन्धर्वको गीतमा मिठास भरेर पस्कदा पोखरेली हुरुक्कै भए।
‘राजनीति र साहित्यको आयाम’ मा मोहनविक्रम सिंह र पत्रकार विजयकुमार बीचको वार्तालापबाट शनिबारका सेसनको सुरुआत भएको थियो। अन्त्यमा ‘कामसूत्र : रस, रति र रहस्य’ मा शिव संकल्प र भूषिता वशिष्ठको गन्थनमन्थ सकिएसँगै तेस्रो दिनका कार्यक्रमलाई सांगीतिक साँझले बिट मारिएको थियो।