
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर विदेशबाट अवैध रुपमा ल्याएको करिब ४ किलो सुन बरामद भएको छ।
बुधबार राति फ्लाई दुबईबाट आएका तीन जना महिलासँग सुन फेला परेको हो। उनीहरूले मलद्वारमा राखेर सुन ल्याएको खुलेको छ। प्रहरीले बरामद गरेको सुनको परिमाण ३ किलो ७४५ ग्राम छ।
भन्सार एरिया पास भइसकेपछि विमानस्थलमा खटिएको नेपाल प्रहरीको टोलीले शंका लागेर चेक गर्दा उनीहरूको साथबाट सुन भेटिएको हो।
सरकारले विमानस्थलमा कडाइ गरे पनि विभिन्न तरिका प्रयोग गरेर सुन तस्करी हुने गरेको छ। भन्सार कार्यालयका अनुसार दैनिक औसत डेढ किलो सुन मानिसले राजस्व तिरेर समेत ल्याउने गरेका छन्।