मोरङ अटो वर्क्स अवतार इभी ब्रान्डबाट बाहिरियो, अब सीजीले मात्रै बिक्री गर्ने

बिजमाण्डू
२०८१ पुष १६ गते ११:३३ | Dec 31, 2024
मोरङ अटो वर्क्स अवतार इभी ब्रान्डबाट बाहिरियो, अब सीजीले मात्रै बिक्री गर्ने


काठमाडौं। चिनियाँ लक्जरी विद्युतीय गाडी ब्रान्ड अवतारबाट मोरङ अटो वर्क्स (एमएडब्लू) बाहिरिएको छ। अपेक्षा गरेअनुसार बिक्री नहुनुका साथै चौधरी ग्रुपसँग कुरा नमिलेपछि एमएडब्लू अवतारबाट बाहिरिएको हो।

Tata
GBIME
NLIC

एमएडब्लूले चौधरी ग्रुपसँग मिलेर सीजी रिभोलुसन कम्पनी खडा गरी अवतार गाडी नेपाल भित्र्याउँदै आएको थियो। दुई ठूला घरानाले नयाँ चिनियाँ प्रिमियम विद्युतीय सवारी ल्याउन गरेको सम्झौतालाई सुरुमै अर्थपूर्णरुपमा हेरिएको थियो।

अवतारमा चांगन अटोमोबाइल, सीएटीएल ब्याट्री र हुवावे टेक्नोलोजीको संयुक्त लगानी छ।

गत भदौमा भएको नाडा अटो शोमा अवतार इभी सार्वजनिक गरिएको थियो। सीजी रिभोलुसन कम्पनीले अहिलेसम्म अवतार-११ गाडी जम्मा ४४ युनिट भित्र्याएको छ।

समान हिस्सेदारीमा गाडी बिक्री गर्ने योजना भएपनि चौधरी ग्रुपसँग कुरा नमिलेकाले तथा अवतार ब्रान्डले ग्राहकलाई आकर्षित नगरेकाले यो गाडीको व्यापारबाट बाहिरिएको एमएडब्लू स्रोतले बतायो।

प्रिमियम सेग्मेन्टको अवतार गाडीमा सीएटीएलको स्टेट-अफ-द-आर्ट ब्याट्री टेक्नोलोजी उपलब्ध छ। जसले रेन्ज र पर्फर्मेन्स राम्रो दिन्छ। साथै, चांगनको विशेष डिजाइनका साथै हुवावेको टेक्नोलोजी यसमा उपलब्ध छ।