
काठमाडौं। ठमेलको छायाँ सेन्टरलाई लिएर सर्वोच्च अदालतमा १० वर्षदेखि विचाराधीन मुद्दाको फैसला पूर्ण इजलासले गर्ने भएको छ।
सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुगानाको संयुक्त इजलासले बिहिबार मुद्दा पूर्ण इजलासमा पठाउन आदेश गरेको छ। सामान्यतया न्यायाधीशबीच राय बाझिंदा वा थप व्याख्या आवश्यक परेको खण्डमा मुद्दा पूर्ण इजलासमा पठाउने गरिन्छ।
यो मुद्दामा न्यायाधीश सुवेदी र ढुंगानाको संयुक्त इजलासमा कात्तिक ७ गतेदेखि १४ गतेसम्म सुनुवाई भएको थियो।
ठमेलको कमलपोखरी मिचेर छायाँ सेन्टर बनाएको भन्दै अधिवक्ता दीपकविक्रम मिश्रले २०७१ वैशाख ३० गते रिट दायर गराएका थिए। पोखरी नासेर छायाँ सेन्टर बनाइउको भन्दै अरु रिट पनि परेका थिए।
१५ वटा रिट निवेदनको सुनुवाई गर्दै न्यायाधीश सुवेदी र ढुंगानाको संयुक्त इजलासले मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।
रिट निवेदकले गुठीको नाममा रहेको जग्गामा बनाइएको भवन भत्काउनुपर्ने माग गर्दै आएका छन्। तर छायाँ सेन्टरले निर्माणको समयमा कुनै विवाद नआएको र निर्माणपछि मुद्दा हालेर निजी सम्पतिमाथि आँखा लगाइएको बताउँदै आएको छ।
सन् २०१३ देखि पाँच वर्ष लगाएर पाँच अर्ब रुपैयाँ लागतमा करिब १५ रोपनी जग्गामा निर्माण गरिएको छायाँ सेन्टर २०७५ पुसबाट सञ्चालनमा आएको थियो। नेकपा एमालेका युवा नेता योगेश भट्टराईले कम्प्लेक्स उद्घाटन गरेका थिए।
पाँच तारे होटल अलफ्ट पनि रहेको कम्प्लेक्समा तीन वटा मल्टिप्लेक्स थिएटर, ब्याङकेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लबका साथै बैंकका शाखा, एयरलाइन्स, ट्राभल एजेन्सी लगायतका कार्यालय छन्।