जिउ गुम्बाबाट आँखाभरि मानसरोवर, ट्राभल लगमा तीर्थपुरीमा भस्मासुर अन्त्यको सन्दर्भ

ऋषिकेश दाहाल
२०८१ असोज ५ गते ०६:०२ | Sep 21, 2024
जिउ गुम्बाबाट आँखाभरि मानसरोवर, ट्राभल लगमा तीर्थपुरीमा भस्मासुर अन्त्यको सन्दर्भ


चन्द्रमाको उज्यालोमा मध्यरातको इन्द्रेणीले जति मोहित तुल्यायो, त्यसभन्दा कम थिएन आकाश खुल्दाको मानसरोवर। हामी नेपालतिर फर्केर मानसरोवर हेरिरहँदा पारिका हिमालले हाम्रो निगरानी गरिरहे झैँ लाग्ने। मानसरोवरलाई एकै नजरमा अटाउन कठिन। त्यसमाथि सरोवरको किनारमा घाँसे मैदान देखिए पनि धाप हुने रहेछ, कहीँ पनि गाडिनसक्ने।

Tata
GBIME
NLIC

हामी जतिखेर सरोवरको किनारामा छौं, त्यतिखेर २ हजार ३०० मानिस नेपाली सीमा हुँदै यहाँ पुगेका रहेछन्। अधिकांश नेपाली र केही गैरआवासीय भारतीय नागरिक। मानसरोवर नजिकै ठूला संरचना केही छैन। रात काट्न सामान्य विश्रामघर छन् परम्परागत शैलीका। यहाँभन्दा केही पर चाहिँ पाँचतारे होटल बन्दै रहेछ – तातोपानीको मूल भएको ठाउँतिर।

हामीसँगै यहाँ पुगेकाहरु तीर्थ श्राद्धदेखि लाखबत्ती बाल्नेसम्मका गतिविधिमा सक्रिय थिए। हामी भने जिउ गुम्बातिर लाग्यौं। पद्म सम्भवले गुम्बाको यहाँको गुफामा ध्यान गरेको जनविश्वास रहेछ। हिन्दुहरुले मानसरोवर क्षेत्रलाई शिव पार्वतीसँग जोडेर व्याख्या गर्छन् भने बौद्धमार्गीले महागुरु पद्म सम्भवसँग। देव-दैत्यबीचको द्वन्द्वका सन्दर्भमा पनि कथा उस्तैउस्तै सुनिन्छ – फरक शिव र पद्म सम्भवबीच मात्र भेटिँदो रहेछ।

पद्म सम्भवको पाइलाको डोब रहेको जनविश्वास रहेछ जिउ गुम्बामा। वास्तवमा यही गुम्बाको छेउमा चीनले ‘भ्यू पोइन्ट’ नै बनाएको रहेछ – काठैकाठको प्रयोग गरेर। मानसरोवरलाई सबैभन्दा राम्रोसँग हेर्न भने केही उचाईमा रहेको यो ठाउँ पुग्नैपर्छ। यहाँबाट रङ फेरिरहने मानसरोवरको रुप छर्लङ्ग देखिने। सरोवर यति ठूलो कि कतै बादलको छाया त कतै नीलो आकाशको प्रतिविम्ब। एकै सरोवरका अनेक स्वरुप। बिहानी र साँझ देखिने स्वरुप पनि अलग्गै। तर यी दृश्य सबैभन्दा राम्रो चाहिँ जिउ गुम्बाबाटै देखिने रहेछ।

जिउ गुम्बा नजिकको भ्यू पोइन्टमा पनि मुभेवल क्याफे फेला पर्‍यो। लग्जरी गाडी लिएर फ्रेस कफी बनाउने व्यावसायी यहाँ ग्राहकको प्रतीक्षामा थिए। गाडीभित्र गुञ्जिरहेको थियो – तिब्बती संगीत। यही गुम्बाबाट अर्कोतर्फ हेर्दा सानो तर सुन्दर बस्ती पनि देखियो। अलिक पर अर्को सरोवर पनि।

सरोवर र त्यसकै वरिपरि मध्यदिनसम्म बिताएपछि हामी दार्चेनतिर लाग्दैछौं। दार्चेन जाने बाटोमा हामीलाई अर्को रमणीय ताल हेर्ने मौका मिल्यो। बौद्धमार्गी र हिन्दुहरु दुवैले यो ताललाई – राक्षस मान्दा रहेछन्। कसैले सुनाए – रावणले स्नान गर्ने सरोवर।

रावण थिएनन् भने रामायण फिक्का हुने थियो। राम र उनीसँग जोडिएका शक्तिदेखि भ्रातृत्व प्रेम र हनुमान लगायतको भूमिका नै कहाँ रहन्थ्यो र ! यिनै सन्दर्भले राक्षस तालतिर हामीलाई खिच्यो। यहाँको पानी कसैले चलाउँदैन रहेछन्। धेरैले त तालतिर हेर्न समेत नचाहने रहेछन्। विश्वासभन्दा ठूलो संसारमा केही छैन। हामी भने ताल वरपर केहीबेर रमायौं। राक्षस ताल नामकरण भए पनि यो कुरुप र राक्षसीय स्वरुपको थिएन। सुन्दर र भव्य र शान्त थियो।

केही बेर अलमलिएपछि हामी दार्चेनतिर लाग्यौं। कैलाशको फेदको सबैभन्दा ठूलो बस्ती। साना ठूला होटलहरु। पाँचतारे होटल पनि बन्दै रहेछ यहाँ। ग्रसरी र अरु किनमेलका लागि पनि राम्रो गन्तव्य। यहाँ चीनको ‘मेनल्यान्ड’मा उपलब्ध धेरै वस्तु पाइँदो रहेछ। यहाँबाट कैलाश पर्वतको परिक्रमा (कोरा) गर्नेहरु पैदल यात्रा गर्ने भएकाले ट्रेकिङका लागि चाहिने अत्यावश्यक एसोसेरिज पनि पाइने। स्थानीय स्तरमा उत्पादन हुने सागपातको पनि यो ठूलो बिक्री केन्द्र रहेछ। यहीबाट हामी कैलाश परिक्रमाका लागि प्रस्थान गर्नेछौं।

‘तीर्थपुरी जाने हो? भस्मासुर बध भएको ठाउँ हो। त्यही शिवजीले त्रिशूलले खोपेको ठाउँबाट उम्लिरहेको पानी पनि आउँछ।’

शिवले त्रिशूलले खोपेको ठाउँ

दार्चेनको होटलमा फ्रेस हुनासाथ हामीसामु आएको अफर। करिब १ सय ३० किलोमिटर दुरी तय गरेपछि तीर्थपुरी पुगिने रहेछ।

‘एक जनाको ५ सय युआन थप लाग्छ है, जाने हो भने।’

हाम्रो प्याकेज बाहेकको अफर थियो यो। यसरी लिने रकम भने मनपरी रहेछ। हामीभन्दा फरक कम्पनीबाट त्यहीँ पुग्नेलाई ३०० युआनमा नै लगेको रहेछ। बारम्बार आइरहने ठाउँ नभएकाले मिलेसम्म भ्याउनु पर्‍यो नै। हामी साँझ पर्नुअघि फर्किने लयका साथ तीर्थपुरीतिर लाग्यौं। यहीँ रुटमा हो हामीले सिन्धु नदी भेटेको। यही भूगोलबाट नेपालतिर कर्णाली, पाकिस्तानतिर सिन्धु र भारततिर ब्रह्मपुत्र बहन्छ जसले सिँचेको छ विभिन्न सभ्यता।

शिवको तपस्या गरेर जसको शिरमा हात राख्‍यो उसैलाई भस्म गर्ने बरदान पाउने असुर (भस्मासुर)को कथा रोचक छ।

भष्मासुर दहन स्थल

कथाअनुसार शिवको तपस्यापछि पाएको वरदानको परीक्षण शिवमाथि नै गर्ने भस्मासुरले निर्णय लिन्छन्। शिवको वरदानले शिव नै भस्म हुने देखेपछि विष्णुले सुन्दर नृत्याङ्गनाको रुप धारण गरेर भस्मासुरलाई बहकाउँछन्, मोहित पार्छन्। भस्मासुर ती युवतीलाई हासिल गर्न जे गर्न पनि तयार हुन्छन्। आफूले झैँ नृत्यका स्टेप चालेमा युवती भस्मासुरसँग बिहेका लागि तयार हुन्छिन्। र, नृत्यको एउटा चरणमा युवतीले आफ्नै टाउकोमाथि हात राख्छिन्। उनीप्रति मोहित भस्मासुरले पनि नक्कल गर्दै आफ्नै शिरमा हात राख्छन्। र, शिवको वरदानअनुसार आफैं भस्म हुन पुग्छन्। तीर्थपुरीमा आगो लागेपछि हुने खरानी र माटो डढेको रङ मिश्रित ठाउँ रहेछ। कथाको सन्दर्भलाई यही परिवेशमा हिन्दुहरुले जोडेका रहेछन्।    

बौद्धमार्गीले चाहिँ पद्म सम्भवले ध्यान गरेको ठाउँका रुपमा तीर्थपुरीलाई लिने रहेछन्। त्यहाँ एउटा सानो गुफा पनि छ। यही एक दैत्यले पद्मसम्भवलाई सताएको र त्यसलाई उनले भस्म गरेको कथा बौद्धमार्गीबीच प्रचलित रहेछ। यहाँ पुरानो गुम्बा पनि रहेछ जहाँ केही बिरुवाहरु देखियो जुन पठारमा हामीले खासै देख्न पाएका थिएनौं। पद्मसम्भवको जन्म चाहिँ हालको पाकिस्तानमा भएको मानिन्छ, सातौं शताब्दीमा। उनी केही समय काठमाडौंको फर्पिङमा पनि ध्यानमा बसेका थिए। बुद्ध धर्मलाई तिब्बतमा फैलाउने श्रेय उनैलाई दिइन्छ।

तीर्थपुरीबाट आधा किलोमिटर तल पानी भकभक उम्लिरहेको देखियो। अधिकांश समय हिउँले ढाकिने भूगोलमा उम्लिरहेको पानी देख्दा जोसुकै पनि अचम्मित हुन्छन् नै। उम्लिरहेको पानी बगेको ठाउँमा भने मानिसहरु गोडा धुने रहेछन्, माटो दल्दै। मैले पनि त्यही पछ्याएँ अरुले जस्तै। खपिनसक्नु तातो रहेछ। केहीबेर पानीमा अडिन सकेपछिको असर भने अद्भुत ! थकान र जीउ दुखाइमा थेरापी गरे झैँ भयो।

यस यात्रामा यस्ता धेरै अचम्म लाग्दा दृश्यहरु हाम्रा सामुन्नेमा आए कि तिनको अपेक्षा कम्तीमा मैले चाहिँ गरेको थिइन। अनौठा दृश्य। अनौठो परिवेश। तीर्थपुरीका सबै गतिविधि सकिँदा अँध्यारो हुनै लागेको थियो। त्यसैले फेरि एकपटक एउटा विशाल सभ्यताको मुहानमै रहेको सिन्धु नदी पार गरेर फेरि हामी दार्चेन नै फर्कियौं र आराम गर्‍यौं। भोलि बिहानबाट हामी कैलाश परिक्रमा जाने तयारी छ।

समुन्द्री सतहबाट ५ हजार ६५० मिटर उचाइको डोल्मा ला पास पार गरेर हुने कैलाश परिक्रमाको सन्दर्भ अर्को साता।