तीन अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा संचालन गर्ने प्रधानमन्त्रीको घोषणा, निजगढ बनाउनेलाई जिम्मा



बिजमाण्डू
२०८० पुष १० गते १८:५६ | Dec 26, 2023
तीन अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा संचालन गर्ने  प्रधानमन्त्रीको घोषणा, निजगढ बनाउनेलाई जिम्मा


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै त्रिभुवन, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालन सार्वजनिक निजी मोडल(पीपीपी)मा गर्ने घोषणा गरेका छन्।

Vigo
GBIME
Tata

प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रका नाममा संबोधन गर्दै यो घोषणा गरेका हुन्। नागरिक उड्डयन प्राधिकरणले केही समयअघि प्रधानमन्त्री प्रचण्डलाई निजगढ विमानस्थल निर्माण गर्ने कम्पनीलाई तीन अन्तर्राष्ट्रिय विमानस्थल संचालनको जिम्मा दिन उपयुक्त हुने प्रस्ताव गरेको थियो। त्यही प्रस्तावका आधारमा प्रधानमन्त्री प्रचण्डले आफ्नो संबोधनमा पीपीपी मोडलबाट संचालन गर्न सकिने घोषणा गरेका हुन्।

उनले ठूलो खर्च भएका पोखरा र भैरहवा विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन नसकिएको बताए। सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेको डेढ महिनापछि क्यानले सबै अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन हेर्न तयार हुने कम्पनीलाई निर्माणको जिम्मा दिने गरी प्राधिकरणले खाका तयार पारेको थियो। यसमा प्रधानमन्त्री दाहाल पनि सकारात्मक देखिएका थिए।

निजगढका साथै त्रिभुवन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा लिन तयार हुने कम्पनीलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न दिनुपर्ने खाकाबारे क्यानका महानिर्देशक प्रदीप अधिकारीले दाहालसामु एक साता अगाडि ब्रिफिङ गरेका थिए।

विमानस्थल व्यवस्थापनको विषय नै टेण्डरमा समावेश गरे त्यसले विदेशी लगानीकर्ता आकर्षित हुने क्यानको बुझाइ छ। व्यवस्थापन गर्दा हुने कमाइबाट विदेशी कम्पनी विमानस्थल बनाउन तयार हुने ब्रिफिङ क्यानका महानिर्देशक अधिकारीले प्रधानमन्त्री दाहाललाई गरेका थिए। उनले यो प्रस्ताव अनुसार काम भए निजगढ विमानस्थल बन्ने र अरु विमानस्थल सञचालनमा देखिएको समस्या पनि समाधान हुने बताएका थिए।

डेढ वर्षअघि सञ्चालनमा आएको गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलमा सातामा एउटाभन्दा उडान हुन सकेको छैन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा त सञ्चालनमा आएको एक वर्षमा एउटै नियमित उडान भएको छैन।