
काठमाडौं। तारा एयरको जहाजबाट उडानका क्रममा आकस्मिक द्वार खसेको छ। आइतबार बिहान काठमाडौं-लुक्ला उडानका क्रममा जहाजबाट आकस्मिक द्वार खसेको हो।
मापदण्डविपरीत सामान राखिएका कारण आकस्मिक द्वार खसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक अध्ययनबाट खुलेको छ।
सामान लोड गर्दाको त्रुटीका कारण जहाज उडिरहेको बेलामा आकस्मिक द्वार खसेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
‘सामान लोड गर्दा नै लापर्बाही भएको देखिएको छ। आकस्मिक द्वार वरपर ढाक्न मिल्दैन। तर यहाँ त्यो द्वारमा प्लाइले ढाकेको स्पष्ट देखिन्छ,’ सूचना अधिकारी भुलले भने, ‘सेन्टर अफ ग्राभिटी र भित्रको कार्गो कम्पार्टमेन्टमा वजन सन्तुलन नमिलेको देखिएको छ।’
उनले घटनाको विस्तृत अनुसन्धान पछि कार्बाही अगाडी बढाउने बताए। आफू अहिले नेपाल वायुसेवा निगमको अडिटमा रहेको भन्दै प्राधिकरणले तारा एयरलाई आन्तरिक छानबिन गर्न निर्देशन दिएको छ।
‘यो उडानमा संलग्न पाइलट, इन्जिनियर र ड्यूटी इन्जिनियरमाथि अनुसन्धान हुनेछ,’ उनले भने, ‘यो हेल्चेक्राइँको पराकाष्ठ हो। यो उडानमा यात्रु धेरै भएको भए ठूलो समस्या आउने थियो।’

नाइन एन-एएलओ कलसाइनको ट्विनअटर जहाजले दुई यात्रु र कार्गो बोकेर बिहान ९:३० बजे लुक्ला उडान गरेको थियो। बिहान १० बजे लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा अवतरण गरेपछि मात्र जहाजको आकस्मिक द्वार हराएको चालक दलका सदस्यले थाहा पाएका थिए।