नाडाको नयाँ नेतृत्वका लागि आएको नयाँ ट्विस्ट, सिप्रदीका राजनबाबुको प्रस्तावले आकाशलाई चुनौती

शुक्र गिरी
२०८० मंसिर ८ गते १८:२७ | Nov 24, 2023
नाडाको नयाँ नेतृत्वका लागि आएको नयाँ ट्विस्ट, सिप्रदीका राजनबाबुको प्रस्तावले आकाशलाई चुनौती


काठमाडौं। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको नेतृत्व लिन भइरहेको रस्साकस्सीमा नयाँ ट्विस्ट आएको छ।

Tata
GBIME
NLIC

एसोसिएसनको अध्यक्ष पदका दाबेदार सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले रणनीतिक चातुर्यता देखाउँदै सीजी होल्डिङ्सका करण चौधरीलाई अघि सारेपछि नयाँ ट्विस्ट आएको हो। केही समयअघि श्रेष्ठले आफू ब्याक भएर करणलाई अध्यक्षको प्रस्ताव गरेका थिए।

करणलाई सिप्रदीले ब्याकअप गरेपछि अध्यक्षका अर्का आकांक्षी जिओ अटोमोबाइल्सका प्रवन्ध निर्देशक आकाश गोल्छा द्विविधामा परेका छन्। केही समय अघिसम्म आफूलाई मत माग्दै सँगै हिंडेका करण नै अध्यक्षको उम्मेदवार बन्ने भएकाले आकाश द्विविधामा परेका हुन्। आकाश पनि करण अर्को खेमामा जाँदा समस्या हुने स्वीकार्छन्।

 ‘करणजी उता किन जानु भयो, त्यो उहाँलाई नै थाहा होला,’ उनले बिजमाण्डूसँग भने, ‘यसले केही हदसम्म गाह्रो बनाएको छ। आफूलाई समर्थन गर्ने व्यक्ति अर्को पक्षमा जाँदा केही गाह्रो महसुस हुन्छ। तर उनीहरुले सोचेजस्तो कठिन भने छैन।’

करणले पनि आफूलाई अध्यक्षका लागि सिप्रदीबाट प्रस्ताव आएको स्वीकार गर्दै सर्वसम्मतका लागि पहल भइरहेको जानकारी दिए। ‘मलाई राजन सरले विनासर्त सर्वसम्मत अध्यक्ष हुन प्रस्ताव गर्नुभएको हो। त्यही भएर म राजन सर पट्टि आएको हो,’ उनले भने, ‘म अध्यक्ष हुँदा आकाशजीले पनि नाईं भन्नुपर्ने ठाउँ छैन।’

उनका अनुसार आफूलाई सर्वसम्मत मान्न अर्को कार्यकालमा हुण्डाईका कार्यकारी निर्देशक निराकार श्रेष्ठलाई अध्यक्ष बनाउने प्रस्ताव आएको छ। ‘आकाशजीले मलाई सर्वसम्मत अध्यक्ष बनाउन सहयोग गर्छु भन्नुभएको छ। त्यसमा अर्को कार्यकालमा निराकारजीलाई अध्यक्ष बनाउने प्रस्ताव राख्नुभएको छ,’ करणले भने।

अध्यक्षमा को कता ?

यसपालिको नाडा चुनावमा अध्यक्षमा करण र आकाशबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ।

फोर्ड गाडी बिक्री गर्ने जीओ अटोमोबाइल्सका मुख्य सेयरधनी आकाश हुन। कम्पनीमा शेखर गोल्छा र लोकमन्य गोल्छाकोसमेत सेयर स्वामित्व छ। करणको सीजी होल्डिङ्सले सुजुकी गाडी बिक्री गर्छ। यसअघिको चुनावमा करण ध्रुव थापासँग अध्यक्षमा पराजित भएका थिए।

थापा आकाशको पक्षमा छन्। आकाशसँग आफ्नो कारोबार रहेको र यसअघिको चुनावमा सहयोग गरेकाले थापाले आकाशको टिमलाई सहयोग गर्ने भएका हुन्।

अघिल्लो वर्षको चुनावमा पनि उनीहरु एउटै यही टिममा थिए। थापा समूहबाट दीपक अग्रवाल, निराकार श्रेष्ठ, आकाश, कपिल शिवाकोटी, शुभाशिष थपलिया, अमरज्योति रञ्जित, बीएन पाठक, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायण पौडेल, प्रदीप प्रधान, प्रकाश सिग्देल, रिद्धी कार्की, सगुन बीएस कंशाकार, सञ्जय खेतान र यमुना श्रेष्ठले सदस्यमा उम्मेदवारी दिएका थिए।

यो वर्ष पनि अघिल्लो वर्षजस्तै चुनाव हुने देखिन्छ। आकाश आफ्नो पक्षमा हुन्डाई, बीवाइडी, निसान, एमजी लगायत गाडी बेच्ने घराना रहेको दाबी गर्छन्। ‘यस्तै स्पेयर पार्ट्सका बिक्रेता रिडि कार्की, कपुरी ग्रुप अफ कम्पनीका अध्यक्ष प्रकाश कपुरी र सगुन ताम्राकार पनि हामीसँग छन्। सन्जय खेतान, प्रदीपमान शाक्यलगायत जोइन हुँदैछन्,’ उनले भने।

नाडाका उपाध्यक्ष श्रेष्ठका साथै महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंघानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल करणको समूहमा छन्। नाडाका एक कार्यसमित सदस्यका अनुसार सिप्रदीका श्रेष्ठले ब्याक भएर सपोर्ट गरेपछि करण बलियो भएको बताए। ‘अध्यक्ष पदमा भोट माग्न थालिसकेका श्रेष्ठको साथले करण बलियो देखिएका छन्,’ ती सदस्यले भने। श्रेष्ठसँग धेरै भोटर छन्।

त्यसो त अघिल्लो चुनावमा पनि श्रेष्ठ करणकै टिममा थिए। करण र आकाश दुवै प्यानल बनाउने तयारीमा छन्। उनीहरु अहिले कुन पदमा कसलाई उठाउने भन्ने गृहकार्यमा छन्। उनीहरुले टिम तयार पार्न भेटघाट बढाएका छन्। दैनिक तीन वटासम्म मिटिङ भइरहेको छ।

मंसिर ११ गते बस्ने कार्यसमितिको बैठकबाट चुनावको मिति तय गर्ने तयारी छ।

होन्डा, महिन्द्रा र टोयोटा गाडीका बिक्रेता भने अहिलेसम्म कसैको पक्षमा पनि खुलेका छैनन्। कतिपय व्यवसायी चुनाव नगराइ सहमतिबाट नेतृत्व छान्नुपर्ने पक्षमा छन्। करणले पनि सहमतिका लागि जोड गरिरहेका छन्। ‘मैले सहमतिका लागि कुरा गरिरहेको छु,’ उनले भने। तर आकाश सहमतिको सम्भावना देख्दैनन्।

कसको पक्षमा कति छ त ?

नाडामा करिब ३ हजार ३०० मतदाता छन्। तीमध्ये १ हजार मतदाता फ्लोटिङ खालका हुन्। नाडाका पदाधिकारीहरुका अनुसार करणसँग ११ सय भोट देखिएको छ। तीमध्ये ६०० भोट उनले श्रेष्ठका कारण पाउनेछन्। स्पेयर पार्ट्सतर्फका करिब २०० र एमएडब्लुको १५० भोट करणले पाउने सम्भावना बलियो छ।

आकाशको पक्षमा रहेका नाडा अध्यक्ष थापासँग करिब ५०० भोट छ। यो भोट आकाशले पाउनेछन्। तर उनको पकडको भोट भने १०० मात्रै छ। बीवाइडीको ५०/६० र हुन्डाईको लगभग २०० हाराहारी भोट आकाशले पाउनेछन्। उनको पक्षमा खुलेका बजाज र टीभीएस बिक्रेतासँग पनि राम्रो भोट छ।