
काठमाडौं। ब्रोकर लाइसेन्स वितरण गर्ने र रोक्नेमा आफूहरुको कुनै हात नहुने पुरानो ब्रोकर एसोसिएसनले जनाएको छ। संसदीय समितिसमेत विपक्षमा उभिएपछि आत्तिएको नयाँ ब्रोकर एशोसिएसनले घटनाक्रममा पुरानो एसोसिएसनको हात लगाएको आरोप लगाएको थियो।
उक्त आरोपप्रति पुरानो ब्रोकर एशोसिएसनले शुक्रबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ। संसदको अर्थ समितिले गत सोमबार नयाँ ब्रोकर लाइसेन्स सम्बन्धी सम्पूर्ण कामहरु तत्काललाई रोक्न निर्देशन दिएको थियो। त्यसपछि नयाँ ब्रोकर एशोसिएसनले पुराना ब्रोकरहरुका कारण यस्तो गरिएको आरोप लगाएको थियो।
नयाँ एशोसिएसनले हाल भएका ब्रोकर कम्पनीहरुले नियामक निकायहरुबाट प्राप्त निर्देशन लत्याउँदै आएको, सिण्डिकेट र एकाधिकार बजार चाहना, तोकिएको समयभित्र राफसाफ गर्न नसक्ने तथा कार्य दक्षता र दक्ष कर्मचारी नभएको र पुराना ब्रोकर कम्पनीहरुको गुमराहमा पनि अर्थ समितिले निर्देशन जारी गरेको भन्दै विभिन्न आरोपहरु लगाएको थियो।
यसमा ध्यानाकर्षण गर्दै पुरानो एशोसिएसनले नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियामा पुराना ब्रोकर कम्पनीहरुको कुनै हात नभएको तर्क गरेको छ।
‘धितोपत्र दलाल व्यवसायीको लाईसेन्स वितरण प्रक्रियामा दलाल व्यवसायीको कहि कतै कुनै पनि प्रकारको भूमिका हुँदैन र रहने पनि छैन। लाइसेन्स वितरण गर्ने प्रकियामा सम्बन्धित कुनै पनि निकायलाई गुमनाममा पारिएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको पुँजी बजारको वृहत्तर वृतिविकास र लगानीकर्तालाई उच्चस्तरको सेवामा समर्पित रहेकाले नयाँ साथीहरुलाई आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्न एशोसिएसन सधैं तत्पर छ।’