९ महिनामा पौने २ खर्ब लगानी प्रतिवद्धता, २ सय १६ उद्योग दर्ता, कस्ता छन् उद्योग ?

बिजमाण्डू
२०८० बैशाख २५ गते १४:४६ | May 8, 2023
९ महिनामा पौने २ खर्ब लगानी प्रतिवद्धता, २ सय १६ उद्योग दर्ता, कस्ता छन् उद्योग ?


काठमाडौं। चालु आर्थिक वर्षको नौ महिनामा २ सय १६ नयाँ उद्योगहरू दर्ता भएका छन्। नयाँ दर्ता भएका यी स्वदेशी तथा विदेशी उद्योगहरूले १ खर्ब ८० अर्ब कुल प्रस्तावित लगानी गर्ने भएका छन्। जसबाट १६ हजार  बढी व्यक्तिहरूले रोजगारी पाउने छन्। 

Tata
GBIME
NLIC

उद्योग विभागको तथ्यांकका अनुसार हालसम्म २८ खर्ब ७ अर्ब लगानी सहितको ८ हजार ९ सय असी स्वदेशी तथा विदेशी उद्योगहरू दर्ता भएका छन्। यसबाट छ लाख ७३ हजार ८ आठ सय रोजगारी सृजना भएको छ।

चालु आवको नौ महिनामा करिब १०४ वटा साना, ६० मझौला उद्योग र ५२ ठूला प्रकृतिका नयाँ उद्योगहरू दर्ता गरिएको छ। गत महिना चैत्रमा मात्रै २१ साना उद्योगहरूमा, ७ मझौला उद्योग  र पाँच ठूलो परिमाणको उद्योगहरू दर्ता भएको उद्योग विभागको तथ्यांकले देखाएको छ। 

अघिल्लो वर्षको सोही अवधिमा २ सय ३२ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए। गत आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका छन् । 

औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई साना उद्योग मानिन्छ। १५ करोडदेखि ५० करोड  रुपैयाँसम्मको  स्थिर पुँजी भएका उद्योगलाई मझौला उद्योगमा गनिन्छ। त्यस्तै, पचास करोड रुपैयाँ भन्दा बढी स्थिर  पुँजी भएका उद्योगलाई ठूला उद्योग मानिन्छ।

त्यस्तै, चालु आर्थिक वर्षको नौ महिनामा दर्ता भएको नयाँ उद्योग विशेषगरी उत्पादनमूलक उद्योगमा केन्द्रित देखिन्छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चैतसम्ममा दर्ता भएका नयाँ स्वदेशी तथा विदेशी उद्योग मध्ये ३५ प्रतिशत उद्योग उत्पादनमूलक क्षेत्रमा रहेको छ। यस क्षेत्रको मात्रै ८१  नयाँ उद्योग दर्ता भएका छन्।

यसबाहेक पर्यटन क्षेत्रमा १८ प्रतिशत  अर्थात ४१ नयाँ उद्योगहरू स्थापना भएका छन्। त्यस्तै, उर्जा क्षेत्रमा १८ प्रतिशत, सेवामूलक क्षेत्रमा १७ प्रतिशत, पूर्वाधारमा एक प्रतिशत र सूचना प्रविधिमा ४ प्रतिशत तथा मिनिरल उद्योगमा दुई प्रतिशत  नयाँ उद्योग दर्ता भएका छन्।

गत महिनामा मात्रै दर्ता भएका नयाँ उद्योगहरूमा करिब ४० प्रतिशत उद्योग उत्पादनमूलक क्षेत्रमा नै केन्द्रित भएको छ। त्यस्तै, २१ प्रतिशत उद्योग सेवामूलक उद्योग छन्। कृषि उद्योगमा ९ प्रतिशत नयाँ उद्योगहरु दर्ता भएका छन्।