
काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा सात तले भवन निर्माण गर्ने भएको छ। कम्पनीले करिब ३५ करोड रुपैयाँ लगानीमा ७ तल्ले अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवन निर्माण गर्न लागेको हो।
कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले भवन निर्माण थाल्नुअघि जग पुजा गरेकी छिन्।
जग पुजा तथा शिलान्यास कार्यक्रममा कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, कम्पनीका विभिन्न शाखा कार्यालयहरुका कर्मचारीहरु लगायत करिब १०० जनाको उपस्थिति रहेको थियो।
नेपालगंजस्थित सुर्खेत रोडमा रहेको करिव साढे चार कट्ठा जमिनमा निर्माण गर्न लागेको अत्याधुनिक भवन, सुविधा सम्पन्न अण्डरग्राउण्ड पार्किङ सहितको हुनेछ।
भवनको निर्माण सम्पन्न भएपछि यसमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गर्न सकिनेछ। आधुनिक प्रविधि सहित नेपालगंजकै नमूना भवनको रुपमा सम्पन्न हुन लागेको हुँदा यो भवन निर्माण पछि नेपालगंज लुम्विनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको छ।
५२ अर्व रुपैयाँ भन्दा बढी जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनीमध्येको एक नेशनल लाइफ इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणसँग पूर्व स्वीकृति लिइ भवन निर्माण आरम्भ गरेको हो।