जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी चल्न पाउने, शुक्रबार जोर सवारी चल्न पाउने

बिजमाण्डू
२०७७ जेठ २९ गते २०:५५ | Jun 11, 2020
जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी चल्न पाउने, शुक्रबार जोर सवारी चल्न पाउने

काठमाडौं। सरकारले लकडाउन खुकुलो बनाउँदै निजी सवारी साधन जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याएको छ। शुक्रबार जोर नम्बर भएका निजी सवारी साधन चल्न पाउनेछन्।

Tata
GBIME

महानगरीय ट्राफिक प्रहरी महाशाखाले केहीबेर अघि जोर गतेका दिनमा जोर नम्बर र बिजोर नम्बर भएका सवारी साधन बिजोर गते चलाउन पाउने निर्णय गरेको हो। महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार काठमाडौं उपत्यकामा यही निर्णय कार्यान्वयनमा आउनेछ।

'जोर गतेको दिन जोर नम्बर भएका सवारी र बिजोर गतेको दिन बिजोर नम्बर प्लेट भएका सवारी चल्ने छन्,' एसएसपी ढकालले भने। सरकारी कार्यालयको हकमा गुड्ने कर्मचारी बोक्ने बसमा भने असार १ गतेबाट यो नियम लागू हुनेछ।

सरकारले मोटरसाइकलमा चालक मात्र र चार पाङ्ग्रे सवारीमा चालक बाहेका दुई जना राख्न पाउने व्यवस्था गरेको छ। त्यस्तै कर्मचारी बोक्ने सवारीले पनि एक सिटमा एक जना राखेर दूरी कायम गर्नुपर्ने ढकालले जानकारी दिए। काठमाडौं उपत्यकाभित्र १२ लाख सवारी दर्ता भएका छन्। जसमा दैनिक १० लाख सडकमा गुड्ने गरेका छन्।