देशभर घरजग्गा कारोबार बढ्यो, राजधानीमा डेढ गुणा र प्रदेश राजधानीमा दुई गुणा सम्मले राजस्व बढ्यो

बिजमाण्डू
२०७५ पुष २६ गते ०९:३३ | Jan 10, 2019
देशभर घरजग्गा कारोबार बढ्यो, राजधानीमा डेढ गुणा र प्रदेश राजधानीमा दुई गुणा सम्मले राजस्व बढ्यो


काठमाडौं। सुस्ताएको घरजग्गा कारोबारमा मंसिर महिनामा एकाएक रौनक देखिएको छ। देशैभर घरजग्गाको कारोबार बढेको सरकारी तथ्यांकले देखाएको छ।

Tata
GBIME
Nepal Life

भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा घरजग्गाको कारोबारमा सुधार भएकाले राजस्व समेत बढेको छ। गत साउनदेखि रोकेको कित्ताकाट कर्मचारीको मिलेमतोमा खुकुलो हुन थालेपछि जग्गाको कारोबार बढेको हो। सरकारले कृषियोग्य जमीन खण्डीकरण गर्न रोकेपनि अशवण्डा मुद्दा, नयाँ बाटो लगायतका रणनीति बनाएर जग्गाको कित्ताकाट भइरहेको छ। यही कारण जग्गाको कारोबार बढेको हो। जग्गाको कारोबार बढेपछि देशैभरिका मालपोत कार्यालयमा समेत चहलपहल बढेको छ।

उपत्यकामा मंसिरमा ८१ करोड करोड रुपैयाँ घरजग्गाको राजस्व संकलन भएको छ। गत वर्षको मंसिरमा भने ६९ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको थियो।प्रदेश राजधानीहरुमा पनि मंसिरमा २५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्ष मंसिरमा भने १८ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको थियो।

यो वर्ष देशभरका १ सय ११ वटा मालपोत कार्यालयबाट एक अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत मंसिरमा भने १ सय २१ वटा मालपोत कार्यालयबाट एक अर्ब ४१ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको थियो। देशभर १३१ वटा मालपोत कार्यालय छन्।

 डिल्लीबजारको डेढ गुणा बढी राजस्व
मंसिरमा मालपोत कार्यालय डिल्लीबजारले सबै भन्दा बढी २१ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष मंसिरमा भने डिल्लीबजारबाट १३ करोड ८५ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको थियो।

मालपोत कार्यालय ललितपुरले पनि मंसिरमा १८ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष मंसिरमा भने ललितपुरले १६ करोड ७१ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो। मालपोत कार्यालय कलंकी र साँखुको राजस्व भने गत वर्षको तुलनामा घटेको छ। मंसिरमा १० करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरेको कलंकीले गत वर्षको मंसिरमा भने ११ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। यो मंसिरमा दुई करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको साँखुले गत मंसिरमा भने दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

मालपोत कार्यालयहरु चाबहिल, भक्तपुर, मनमैजु र टोखाले भने गत वर्षको तुलनामा धेरै राजस्व संकलन गरेका छन्। यो मंसिरमा चाबहिलले १० करोड १८ लाख रुपैयाँ, भक्तपुरले आठ करोड ९३ लाख रुपैयाँ, मनमैजुले तीन करोड ६६ लाख रुपैयाँ र टोखाले तीन करोड एक लाख रुपैयाँ राजस्व संकलन गरेका छन्।

गत वर्षको मंसिरमा भने मालपोत कार्यालयहरु चाबहिलले १० करोड छ लाख रुपैयाँ, भक्तपुरले आठ करोड १३ लाख रुपैयाँ, मनमैजुले दुई करोड ९४ लाख रुपैयाँ र टोखाले दुई करोड १३ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेका थिए।

प्रदेशमा धनगढीको दुई गुणा बढी राजस्व
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा यो मंसिरमा चार करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको मंसिरमा भने धनगढीले एक करोड ९१ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो।

धनगढीपछि प्रदेश नम्बर-४ को राजधानी पोखराले गतवर्षको तुलनामा धेरै राजस्व संकलन गरेको छ। पोखराले यो मंसिरमा पाँच करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्षको मंसिरमा भने तीन करोड १० लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो।

प्रदेश राजधानीतर्फ यो वर्ष प्रदेश नम्बर- १ को राजधानी विराटनगरले मात्र गत वर्षको भन्दा थोरै राजस्व संकलन गरेको छ।विराटनगरले यो मंसिरमा तीन करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्षको मंसिरमा भने तीन करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

अन्य प्रदेश राजधानीहरु जनकपुर, हेटौडा, बुटवल र सुर्खेतमा भने गत वर्षको तुलनामा यो वर्ष उल्लेख्य रुपमा राजस्व संकलन बढेको छ।यो मंसिरमा प्रदेश नम्बर-२ को राजधानी जनकपुरमा दुई करोड ६१ लाख रुपैयाँ, प्रदेश नम्बर-३ को राजधानी हेटौडामा तीन करोड ४३ लाख रुपैयाँ, प्रदेश नम्बर- ५ को राजधानी बुटवलमा तीन करोड ८७ लाख रुपैयाँ र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

गत वर्षको मंसिरमा भने जनकपुरमा एक करोड ५० लाख रुपैयाँ, हेटौडामा तीन करोड १९ लाख रुपैयाँ, बुटवलमा दुई करोड ९१ लाख रुपैयाँ र सुर्खेतमा एक करोड ४६ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको विभागको तथ्याङ्क छ।