घर पुनर्निर्माण गरी तेस्रो किस्ता लिनेको संख्या न्यून, ८२ हजार प्रभावितमध्ये १६ हजारले लिए

रासस
२०७५ असोज ६ गते ११:३३ | Sep 22, 2018

बनेपा। भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत निजी आवास पुनःनिर्माणको लागि तेस्रो किस्ता लिनेको संख्या न्यून रहेको पाइएको छ। 

GBIME
Tata

जिल्लामा निजी आवास पुनःनिर्माण गर्न भदौ महिनासम्ममा तेस्रो किस्ता लिनेको संख्या १६ हजार १३४ रहेको आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख लोकनाथ रेग्मीले बताए। 

काभ्रेमा ९० हजार ४९७ घर परिवारको सर्वेक्षण भएकामा पहिचान भएका ८२ हजार ८३३ लाभग्राही थिए। तीमध्ये गुनासो फछ्र्योट भएर आएकासहित गरेर पूर्ण लाभग्राही (पूर्ण क्षति)को संख्या ७७ हजार ४१४ र प्रवलीकरण लाभग्राहीको संख्या पाँच हजार ४१९ थियो।              

'अब पहिलो किस्ता र दोस्रो किस्ताका लागि माग गर्न आउनेको संख्या निकै कम देखिएको छ,'रेग्मीले भने। जिल्लाका लाभग्राहीमध्ये ६७ हजार २५९ घरपरिवारले पहिलो किस्ता प्राप्त गरिसकेका छन् भने दोस्रो किस्ता प्राप्त गर्नेको संख्या ४४ हजार ९० छ।

गैरसरकारी संस्थामार्फत पहिलो किस्ता दुई हजार ६१०, दोस्रो किस्ता दुई हजार १३४ र तेस्रो किस्ता एक हजार ४८५ लाभग्राहीलाई प्रदान गरिएको थियो।