नेप्से परिसूचक १० अंकले घट्यो,लक्ष्मी बैंकको बोनस र हकप्रद सेयर दिने निर्णयले कारोबारमा वृद्धि

बिजमाण्डू
२०७० फागुन २५ गते ००:०० | Mar 9, 2014
नेप्से परिसूचक १० अंकले घट्यो,लक्ष्मी बैंकको बोनस र हकप्रद सेयर दिने निर्णयले कारोबारमा वृद्धि
काठमाडौं। नेप्से परिसूचक ९.१५ अंकले घटेको छ । वित्त बाहेक सबै समूहको परिसूचक घटेपछि बजार ओरालो लागेको हो । फागनु १२ गते करिब साढे पाँच बर्ष यताको उच्च बिन्दु ८२९ भेटेको नेप्से परिसूचक पुनः आठ सय बिन्दु मुनि आइपुगेको छ । परिसूचक ७९६.५ बिन्दुमा छ । बैंकिङ समूह ११.९९ अंकले, जलविद्युत् १६.९२ अंकले र बीमा ४० अंकले घटेको छ । यो दिन २९ करोड ५० लाखभन्दा बढि रुपैयाँको सेयर कारोबार भयो । 

Tata
GBIME
 

बजारको विश्लेषण औजार आरएसआई सुचकले बजार न्युट्रल जोनमा रहेको देखाउँछ । नेप्सेको यस्तो सूचक आइतवार ४९.०१ रहेको छ । यस्तो सूचक ३० देखि ७० मा रहे बजार न्युट्रल जोनमा रहेको र बजारमा माग र आपूर्ती बराबर जस्तै रहेको देखाउँछ । यस्तो सूचक ७० माथी भए ओभरवट जोनमा र ३० मुनी भने ओभरसोल्ड जोनमा रहेको विश्लेषण गरिन्छ । गत विहीवार यस्तो सुचक ५५ रहेको थियो । एक सय २४ कम्पनीको सेयर कारोबार भएकोमा ८१ कम्पनीको मूल्य घटेको छ । 

संविधान सभाको निर्वाचन पछि बढेको बजारमा करेक्सन र त्यसपछि बजार पुन स्थिर देखिएकोले अहिले बजारमा लगानीकर्ताहरु परिपक्व भइरहेको स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालका पुर्व अध्यक्ष अन्जनराज पौड्यालले बताए । पौड्यालले भने, ‘मन्त्रीमण्डलको गठनसंगै बजार बढिहाल्छ भन्ने अपेक्षामा केही लगानीकर्ता देखिन्थे पनि तर त्यसो भएन केही लगानीकर्ता मुनाफा सुरक्षित गर्न लागेका छन् ।’ मौद्रिक नीतिको समिक्षा पछि राष्ट्र बैंकले मार्जिन ल्याण्डिङमा पुनरावलोकन गर्न सक्ने संकेत आएकोले पनि बजारमा गत साता असर परेको ब्रोकरहरु बताउँछन । त्यस्तै, यसअघिको नेप्सेको चक्रमा जस्तो उत्साहित भएर लगानीकर्ता जोखिम हुन सक्ने देखेका लगानीकर्ताहरु संयमित बनिरहेका पनि उनीहरु बताउछन । 
सेञ्चुरी कमर्सियल बैंकको  प्राथमिक सेयरमा लगानी गरेकाहरुले रकम फिर्ता पाइरहेको र चाँडै नै रिडीमा लगानी गरेकाहरुले पनि रकम फिर्ता पाउन सक्ने सम्भावना रहेकोले यसले बजारमा तरलता बढाउने उनीहरुको तर्क छ । आगामी चैत महिनामा आउने कम्पनीहरुको वित्तीय विवरण र यसबीच सरकारबाट बजार सहयोगी नीति नियम आएमा बजारको दिशा निर्धारण हुने विश्लेषकहरु बताउछन । 

स्वावलम्बन बिकास बैंकको ७८ रुपैयाँ, नेशनल लाइफको ५८ रुपैयाँ, लाइफ इन्स्योरेन्सको ५० रुपैयाँ र हिमालयन बैंकको ५६ रुपैयाँले घटेको छ । वित्त समूहमा रहेको नागरिक लगानी कोष, जानकी, नारायणी नेशनल फाइनान्स लगायतकाको मूल्य घट्यो । लक्ष्मी बैंकको यो दिन सबैभन्दा धेरै पाँच करोड ५७ लाख रुपैयाँको कारोबार भयो । बैंकले बोनस सेयर र हकप्रद सेयर दिने निर्णय गरेपछि कम्पनीको सेयरमा आर्कषण बढेको हो । बैंकको तीन सय २८ पटक सेयर किनबेच भयो । 
आइतवार दुई हजार तीन सय ४६ पटक भएको कारोबारमा सात लाख १७ हजार कित्ता सेयर किनबेच भयो ।