नाकाबन्दीको असर परेको वीरगंजमा राजस्व असुली सुध्रिँदै,९ महिनामा ४० करोड बढी संकलन

बिजमाण्डू
२०७५ बैशाख २६ गते १२:२० | May 9, 2018

वीरगंज। गत आर्थिकवर्ष  डगमगाएको आन्तरिक राजस्व कार्यालय पर्साको राजस्व असुली यसवर्ष चालु आर्थिक वर्ष २०७४/०७५ मा सुधार हुँदै वृद्धि हुदै गएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म ९ महिनाको असुली लक्ष्यभन्दा १० प्रतिशतले वृद्धि भएको हो ।

Tata
GBIME
Nepal Life

१० प्रतिशत अर्थात ४० करोड बढी राजस्व उठेको हो । आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाका अनुसार यस आर्थिक वर्षको चैतसम्म पाएको जम्मा लक्ष्य ३ अर्ब ८३ करोड २० लाख रुपैयाँ मध्ये  ४ अर्ब २३ करोड ७६ लाख ४७ हजार रुपैयाँ संकलन भएको हो ।

यो लक्ष्यको १० दशमलव ५९ प्रतिशत हो ।कार्यालयले गत आवको चैतसम्म  ४ अर्ब १६ करोड ९९ लाख ४१ हजार लक्ष्य पाएकोमा ३ अर्ब १९ करोड ३५ लाख ९३ हजार रुपैयाँ राजस्व असुली गरेको थियो, जुन लक्ष्य भन्दा ७६ दशमलव ५९ प्रतिशत मात्र थियो ।

मधेस आन्दोलन र नाकाबन्दीको प्रभावका कारण थुप्रै प्रकारको कर गतवर्ष व्यवसायीहरुले बुझाएका थिएनन् । गतवर्ष चैत मसान्तसम्म राजस्व असुलीमा नराम्ररी प्रभाव परेको कार्यालयका सूचना अधिकारी सुशिल भट्टराईले बताए ।

चालु आर्थिक वर्षको चैतसम्म कार्यालयले राजस्व विभागबाट आयकरतर्फ रु ६० करोड, ८ लाख १२ हजार, घरबहाल घर तर्फ ३ करोड८३ लाख ६६ हजार, व्याज कर तर्फ रु २ करोड ९० लाख ६९ हजार, मुल्य अभिवृद्धिकर(आन्तरिक) तर्फ रु ५९ करोड ७९ लाख ११ हजार, अन्तशुल्क(आन्तरिक) तर्फ सबैभन्दा बढी  २ अब ५३ करोड, ४८ लाख ५० हजार रुपैयाँ उठाएको छ।

यसैगरी  स्वास्थ्य करतर्फ  २ करोड १४ लाख ३७ हजार, शिक्षा कर तर्फ  ९५ लाख ६१ हजार गरी कुल ३ अर्ब ८३ करोड २० लाख रुपैयाँको लक्ष्य पाएकोमा आयकर तर्फ  ७० करोड १७ लाख ८१ हजार, घरबहालकर तर्फ  ४ करोड ३९ लाख ९ हजार, व्याज कर तर्फ  २ करोड ४० लाख ८१ हजार, मूल्य अभिवृद्धि कर(आन्तरिक) तर्फ  ७७ करोड २६ लाख ६८ हजार, अन्तशुल्क(आन्तरिक) तर्फ   २ अर्ब६७ करोड ५० लाख १७ हजार, स्वास्थयकर तर्फ  १ करोड ३९ लाख ४४ हजार, शिक्षा कर तर्फ  ६२ लाख ४७ हजार गरी जम्मा ४ अर्ब २३ करोड ७६ लाख ४७ हजार रुपैयाँ संलकन गरेको जनाएको छ ।

सबैभन्दा बढी मुल्य अभिवृद्धि करमा वृद्धि भएको छ ।चालु आवको चैतसम्म १२९ प्रतिशत मल्य अभिवृद्धि कर संलकन भएको आन्तरिक राजस्व कार्यालय पर्साको तथ्याकले देखाउँछ ।