कोरला नाका सञ्चालनको तयारी, पूर्वाधार विकासमा नेपाल र चीन दुवै सरकारले दिए प्राथमिकता

रासस
२०७४ माघ २५ गते १५:०१ | Feb 8, 2018

मुस्ताङ। कोरला नाका सञ्चालनका लागि चीन र नेपाल सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिनुका साथै कूटनीतिक पहल थालेका छन्। कोरला नाका सञ्चालनका लागि पहुँच मार्ग निर्माणसँगै सुरक्षा निकायको क्याम्प खडा गर्ने तयारी गरिएको छ ।

Tata
GBIME

कोरला नाका नजिकै पर्ने नेचुङ भन्सार कार्यालय यसअघिनै सञ्चालनमा आइसकेको छ भने चिनियाँ सरकारले नाका आसपासमा करिब पाँचतले भवन निर्माण गरिसकेको छ। सन् २०१७ अक्टोबरमा चिनियाँ राजदूत यु हाङले औपचारिक रुपमा कोरला नाकाको भ्रमण गरेका थिए।

मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत कोरला नाका जोड्ने पहुँचमार्गको स्तरवृद्धिको काम तीव्ररुपमा अघि बढेको जानकारी दिए। उनले उक्त नाका शीघ्र खुलाउन पहल भइरहेको जानकारी दिए।

जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहजरुपमा यातायातको पहुँच पुर्‍याउन आयोजनामार्फत पाँचवटा प्याकेजमा दुई लेनको ग्राभेल सडक बनाउने काम भइरहेको छ। करिब ४० प्रतिशत काम सकिएको छ। बेनी–जोमसोम सडकखण्ड निर्माण गर्न टेण्डर आह्वान भइसकेको छ भने केही क्षेत्रमा निर्माण तीव्ररुपमा भइरहेको छ। 

कालीगण्डकी कोरिडोर भारत र चीन जोड्ने नेपालकै सबैभन्दा छोटो सडक मार्ग हो। कोरला नाकालाई लक्ष्य गरेर सरकारले सीमा प्रहरी चौकी र प्रशासन कार्यालय स्थापना गरिसकेको छ। लोमान्थाङ गाउँपालिकाको छोसेरमा नेचुङ भन्सार कार्यालय गत असारमा २१ वर्षपछि पुनःस्थापना भएको हो।

नेपाली सेना, सशस्त्र प्रहरीको क्याम्प तथा अध्यागमन कार्यालय स्थापनाका लागि जग्गा प्राप्त भइसकेको छ । लोमान्थाङदेखि कोरला नाकातर्फ जाने बाटोमा करिब पाँच किलोमिटर उत्तरतर्फ सेनाको क्याम्प राख्न २०० रोपनी जग्गा उपलब्ध भएको र सो ठाउँमा सेनाले भवन निर्माण शुरु गरिसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए। कोरलादेखि तिब्बतको मुख्य राजमार्गको बजार क्षेत्र ढुङ्वासेन ४५ किलोमिटर टाढा रहेको छ।