मीरगञ्जको पुल: भारतीय अधिकारीको आश्वासन झुटो सावित, रि-रुटमा दुःखैदुःख, राजस्व निराशाजनक

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ पुष १३ गते १९:३९ | Dec 28, 2017
मीरगञ्जको पुल: भारतीय अधिकारीको आश्वासन झुटो सावित, रि-रुटमा दुःखैदुःख, राजस्व निराशाजनक
विराटनगर । सीमावर्ती बजार जोगबनी छेउको मीरगञ्ज खोलाको क्षतिग्रस्त पुललाई एक महिनाभित्र ४० मेट्रिक टन क्षमतामा विस्तार गरिने भारतीय दाबी झुटो साबित भएको छ ।

Tata
GBIME


भारतको राष्ट्रिय राजमार्ग विभागका निर्देशक एके झाले गत मंसिर १३ गते विराटनगरका व्यवसायीलाई पुलको क्षमता एक महिनाभित्रमा ४० टनको बनाएर सञ्चालन गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।निर्देशक झाले पुलको मर्मत तत्काल सुरु गरेर एक महिनाभित्र ४० टन क्षमताको बनाउने वचनबद्धता प्रकट गरेको एक महिना पुगेको छ । तर अहिलेसम्म पुलको मर्मत समेत सुरु भएको छैन ।
 
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी सदस्य श्रवणकुमार अग्रवाल र विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरसहितको टोलीलाई निर्देशक झाले पुलको तत्काल मर्मत सुरु गरेर एक महिनाभित्र ४० टन क्षमताको बनाउने दाबी गरेका थिए ।यो पुलको कार्य भारतको राष्ट्रिय राजमार्गको क्षेत्राधिकारभित्र पर्छ ।
 
सीमावर्ती भारतीय बजार बथनाहामा सदस्य अग्रवाल र अध्यक्ष परासरले निर्देशक झासित भेट गरी पुलबाट उत्पत्र समस्याका बारेमा अवगत गराएका थिए ।श्रवणका अनुसार निर्देशक झासितको बैठकमा भारतीय राजदूतावासको विराटनगरस्थित क्याम्प अफिसका इन्चार्ज नीरज जायसवाल र राष्ट्रिय राजमार्गमा निर्माणको ठेक्का पाएको जेकेएम कम्पनीका उपप्रमुख दीपक झा पनि सहभागी थिए ।
 
प्रतिवेदन आए पनि भएन मर्मत
राष्ट्रिय राजमार्ग विभागले पुललाई मर्मतका लागि अध्ययनसहितको प्रतिवेदन दिन कात्तिक १३ गते प्राविधिक टोली खटाएको थियो ।टोलीले गत मंसिर २१ गतेभित्र प्रतिवेदन बुझाउनुपर्ने अवधि तोकिएको थियो । टोलीले निर्धारित अवधिभन्दा १० दिन पहिले नै प्रतिवेदन बुझाएको थियो ।
 
पुलमुनि १६ वटा फलामे खाँबा राख्ने र पुलमाथिको भागमा पनि बलिया फलामे पाता र सामग्री जडान गरेर ४० टन क्षमताको बनाउन सकिने प्रतिवेदनमा उल्लेख गरिएको निर्देशक झाले बैठकमा बताएका थिए ।मर्मत पनि ठेकेदार कम्पनी जेकेएमले नै गर्ने झाले जानकारी दिएका थिए ।अहिले जोगबनी बजारसम्म चार लेनको राष्ट्रिय राजमार्गको विस्तार भइरहेको र यस क्रममा नयाँ छुट्टै पुलको निर्माण गरिने हुँदा मीरगञ्जको पुललाई अधिकतम क्षमतामा चल्ने गरी मर्मत मात्र गर्न सकिने निर्देशक झाको भनाइ थियो ।
 
७० प्रतिशत समाधान सोम शर्माको कथा 
पुलको मर्मत गरेर ४० टन क्षमताको बनाएपछि ७० प्रतिशत समस्या समाधान हुने भारतीय पक्षको दाबी पनि सोम शर्माको कथा भएको छ । किनकि पुलको मर्मत हालसम्म सुरु गरिएकै छैन ।
 
साउन २८ र २९ गतेको बाढीले भत्काएको पुल क्षतिग्रस्त भएको भदौ ५ गते पत्ता लागेको थियो । पुलको सामान्य मर्मत गरिएपछि असोजको अन्तिम साताबाट २० टन क्षमताका सवारीसाधनको आवतजावत सञ्चालन गरिएको थियो ।
 
अर्को दाबीको समय अझै एक महिना
अर्का एक भारतीय उच्च अधिकारीले गरेको दाबी पूरा हुन अझै एक महिना बाँकी छ ।
 
गत कात्तिक १९ गते भारतीय राजदूतावासका डेपुटी चिफ मिसन डा. अजयकुमारले आफू मीरगञ्जको पुलकै बारेमा बुझ्न विराटनगर आएको जानकारी दिँदै बढीमा ३ महिनामा यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रतिबद्धता प्रकट गरेका थिए ।डा. अजयले पनि उक्त पुल भारतको राष्ट्रिय राजमार्ग विभागको कार्यक्षेत्रमा पर्ने बताएका थिए । 
 
मोरङ व्यापार संघले गरेको स्वागत कार्यक्रममा अजयले विभागका प्राविधिकले मर्मतको खाका बनाइसकेको जानकारी दिएका थिए ।उनले पुलका प्रत्येक दुई खम्बाका बिचमा अर्को बलियो खाँबो हालेर यसलाई अझ मजबुत बनाइने र ३ महिनाभित्रमा पहिलेकै अवस्थामा ल्याइने आश्वासन दिएका थिए ।
 
रि-रुटमा दुखैदुःख
विराटनगर नाकाबाट आयात गरिने सामान पुलको समस्याका कारण रि-रुट गरेर भीमनगर–कोशी ब्यारेज नाका हुँदै ल्याइँदै छ ।

यसका कारण कोलकाताका ढुवानी व्यवसायीले भाडा दर दोब्बर बढाएको र एक कन्टेनरमा २ लाखभन्दा बढीको खर्च बढेको गुनासो व्यवसायीको छ ।रिरुट गरेर आएका ट्रक र कन्टेनरको सुरक्षाका लागि भन्सारका कर्मचारी र सुरक्षाकर्मी पनि खटिरहेका छन् । प्रहरीले इस्कर्टिङ गरेर मात्रभन्टाबारीदेखि विराटनगर नाकासम्म मालवाहक साधन ल्याइन्छ । सामान जाँचपासका प्रक्रिया पु¥याउन विराटनगर भन्सारका आधा दर्जन कर्मचारी हरेक दिन भन्टाबारी धाइरहेका छन् ।
 

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाका अनुसार रिरुटका कारण बढेको ढुवानी भाडा र अन्य समस्याबाट पूर्वका व्यवसायीले पाँच अर्बभन्दा बढीको घाटा ब्यहोरिसकेका छन् । सरकारले कुटनीतिक पहल गरेर पुल मर्मतको पहल नगरेको उनले गुनासो गरे।आयात खर्च अचाक्ली बढेपछि व्यवसायीले विराटनगर नाका छाडेर काँकडभिट्टा र भैरहवा नाका समाउन थालेका छन् । यसका कारण विराटनगर भन्सारमा गरिने राजस्व सङ्कलन प्रभावित भएको कार्यालयले जनाएको छ ।
 
राजस्व निराशाजनक
विराटनगर भन्सार कार्यालयका अनुसार साउन र भदौ महिनामा राजस्व संकलनको लक्ष्य पुग्न सकेन तर असोज, कात्तिक र मंसिरमा भने लक्ष्य हासिल भएको छ । 
 
साउन र भदौमा क्रमशः ७८ र ७५ तथा असोज, कात्तिक र मङसिरमा क्रमशः ११५, १०८ र १०० प्रतिशत लक्ष्य हासिल भएको छ । मङसिर महिनाभित्रमा कार्यालयले ११ अर्ब ८७ करोड सङ्कलन गर्ने लक्ष्य राखेकोमा ११ अर्ब ३२ करोड असुली भएको तथ्याङ्क छ ।
 
‘असोज, कात्तिक र मङसिरमा उत्साहजनक असुली भए पनि पुस महिनाको लक्षण राम्रो छैन’, विराटनगर भन्सारका प्रमुख मिमांस अधिकारीले भने, ‘पुस १ देखि १२ गतेसम्म १ अर्ब रुपैयाँ सङ्कलन हुनुपर्नेमा ८४ करोड ३६ लाखमात्र असुली भएको छ ।’