प्रदेश नम्बर ७ मा २५ अर्बको बजेट सार्वजनिक, आन्तरिक राजस्व लक्ष्य ४९ करोड मात्रै

रासस
२०७५ असार १ गते १८:२२ | Jun 15, 2018

Tata
GBIME

धनगढी। प्रदेश नं. ७ को सरकारले आव २०७५/०७६ का लागि २५ अर्ब छ करोड ५६ लाख १४ हजार रुपैयाँको बजेट प्रदेशसभाको बैठकमा प्रस्तुत गरेको छ।
 
प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गर्दै कुल विनियोजित बजेटमध्ये चालुतर्फ १३ अर्ब ३५ करोड आठ लाख एक हजार रुपैयाँ अर्थात ५३ दशमलब २६ प्रतिशत र पूँजीगततर्फ ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार रुपैयाँ अर्थात ४६ दशमलब ७४ प्रतिशत बजेट विनियोजन गरेको जानकारी दिए। 
     
अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ४९ करोड ३० लाख रुपैयाँ, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान र चालु आवको  विनियोजनबाट बचत हुने अनुमानित रकम समेतबाट प्राप्त हुने आठ अर्ब ४७ करोड ४६ लाख ५३ हजार रुपैयाँ, स्थानीय तहबाट राजश्व बाँडफाँड भई प्राप्त हुने सात अर्ब ५७ करोड एक लाख ६१ हजार रुपैयाँ,सशर्त अनुदानबाट प्राप्त हुने अनुमान गरिएको छ अर्ब ३२ करोड ७८ लाख रुपैयाँ, संघीय सरकारबाट समपुरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको दुई अर्ब रुपैयाँ र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको २० करोड रुपैयाँ रहने जनाइएको छ।