काठमाडौं । प्रधानमन्त्री बाबुराम भट्टराईले गरीब घरपरिवारलाई सामाजिक सुरक्षा र राहत दिन गरीब परिचयपत्र दिन लागेको बताएका छन् । सरकारले आजदेखि राष्ट्रव्यापी अभियानको रुपमा थालेको गरीब घरपरिवारलाई परिचय पत्र वितरण कार्यक्रमलाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने, ‘परिचयपत्र दिइसकेपछि राज्यले उपलब्ध गराएको र भबिष्यमा उपलब्ध गराउनसक्ने थप सुविधाको एकिन हुनेछ ।
गरीबी निवारण कार्यक्रममा प्रत्यक्ष संलग्न हुने सबै संस्था तथा निकायहरुले आफु मातहतबाट सञ्चालन गरिने विकास कार्यक्रममा यी वर्गहरुलाई मुलप्रवाहमा ल्याउन सजिलो हुनेछ ।’ सरकारले आजदेखि २५ जिल्लामा परिचयपत्र वितरणको संयन्त्र तयार गर्दैछ । गरीबी निवारण कोषका उपाध्यक्ष जनकराज जोशीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय बोर्डले परिचयपत्र वितरणको प्रक्रिया थाल्दैछ ।
बोर्डका अनुसार आज २५ जिल्लामा जिल्ला समन्वय समिति गठन हुनेछ । यो समितिले गणक नियुक्ती गर्नेछ भने गणकले ती जिल्लामा गएर गरीबको तथ्यांक ल्याउनेछन् । गणकले ल्याएको तथ्यांकलाई समितिले अन्तिम छनौट गरेपछि मात्रै परिचयपत्र वितरण हुनेछ ।
बोर्डका अनुसार २५ जिल्लामा यो सबै प्रक्रिया वितरण गरेर परिचयपत्र वितरण गर्न चार महिना समय लाग्नेछ । गरीब परिचयपत्र वितरणको निर्देशिका गत भदौ १८ को मन्त्रिपरिषद् बैठकले पारित गरिसकेको छ ।
