एनसेलबाट ७० कर्मचारीको विदाई, पियन, गार्ड र ड्राइभरलाई २८ करोड खर्च

बिजमाण्डू
२०६९ असार २१ गते ००:०० | Jul 5, 2012
एनसेलबाट ७० कर्मचारीको विदाई, पियन, गार्ड र ड्राइभरलाई २८ करोड खर्च

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी एनसेलले आफ्ना ७० जना कर्मचारीलाई स्वेच्छिक अवकाश दिएर विदा गरेको छ । कम्पनीले गार्ड, ड्राइभर र कार्यालय सहयोगीलाई विदा गरेको हो । एनसेलमा झण्डै ५५० कर्मचारमा ७० जना कटौती भएपछि अब ४८० जनाको हाराहारीमा आइपुगेको छ । यी कर्मचारी कटौतीका लागि एनसेलले झण्डै २८ करोड रुपैयाँ खर्च गरेको थियो । सात वर्षअघि एनसेल स्थापनाताका भर्ना भएका एक जना कर्मचारीले स्वच्छिक अवकासमा गएवापत ४० लाख रुपैयाँसम्म पाएको स्रोतले जानकारी दियो ।

छुटिनुअघिको रमाइलो: एनसेलका कर्मचारीको बनभोज, यीमध्ये केही कर्मचारीले लाखौं रुपैयाँ लिएर अफिसको साथ छाडेका छन् ।

Tata
GBIME
Nepal Life

सम्भवत स्वेच्छिक अवकासमा जाने न्युनस्तरका कर्मचारीले यति धेरै रकम यस अघि कुनै पनि कम्पनीबाट प्राप्त गरेका थिएनन् । कम्पनीले राम्रो रकम अफर गरेपछि विनाविवाद स्वेच्छिक अवकाश कार्यक्रम सफल भएको थियो । यसअघि नेपाल बैंक, राष्ट्रिय बाणिज्य र कृषि विकास बैंकले ठूलो रकम दिएर ठूलै संख्यामा कर्मचारी कटौती गरेका थिए ।
कम्पनीले अबदेखि गार्ड र सरसफाइ कर्मचारी निजी कम्पनीबाट हायर गर्नेछ, भने कम्पनीका सबै एक्जुक्टिभहरुले गाडी आफै ड्राइभ गर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसबाहेक एनसेलले इन्जिनियरिङ र मेन्टिनेन्स विभागको जिम्मा चिनीयाँ कम्पनी जेडटिइलाई दिएको छ ।
एनसेललाई सामान सप्लाई गर्ने जेडटिईले नै इन्जिनियरिङ मेन्टिनेन्स एग्रिमेन्ट अन्र्तगत यो जिम्मा पाएपछि एनसेलमा कर्मचारीको भार कम परेको हो । यस्तै सेवा दिने नेपाल टेलिकममा भने झण्डै पाँच हजार कर्मचारी कार्यरत छन् ।
अर्कोतर्फ एनसेलले नै आफ्नो ५० प्रतिशत सेयर भएको नेपाल स्याटेलाईट कम्पनीको सम्पूर्ण जिम्मा लिएको छ । नेपाल स्याटेलाईटमा अहिले कार्यकारी प्रमुखका रुपमा एक जनामात्रै कर्मचारी कार्यरत छन् । अरु सबै कर्मचारीलाई दुई महिना अघि घर पठाइएको थियो ।
नेपाल स्याटेलाईटको सबै काम एनसेलकै हेडक्वाटर रहेको कृष्णटावरबाट हुने गरेको छ । त्यहाँ एक जना इन्जिनियरलाई सबै काम हेर्ने गरी जिम्मा दिइएको स्रोतले जानकारी दियो । यसैगरी अहिले दुवै कम्पनीको कानूनी सल्लाहाकारको जिम्मा पनि एकै व्याक्तिलाई दिइएको छ । सर्वोच्च अदालतका न्यायाधिश भरतराज उप्रेतीका छोरा अनुपले यो जिम्मेवारी सम्हालेका छन् ।
उपेन्द्र महत्तोको लगानीमा स्थापित साइप्रसी कम्पनी एअरवेलको सेयर गतवर्ष एनसेलको मुख्य लगानीकर्ता टेलियासोनेरा एबीले किनेको थियो । नेपाल स्याटेलाइटमा अहिले सुमार्गीको थप ५० प्रतिशत सेयर छ ।