एनबीको ‘एक्जिट प्लान’मा राष्ट्र ब्याङ्कले कानुनसँग माग्यो राय, सञ्चालकलाई कारवाही

बिजमाण्डू
२०६९ भदौ २४ गते ००:०० | Sep 9, 2012
एनबीको ‘एक्जिट प्लान’मा राष्ट्र ब्याङ्कले कानुनसँग माग्यो राय, सञ्चालकलाई कारवाही


काठमाडौं । एनबी ब्याङ्कमा रहेको एनबी समुहको सेयर बिक्री गर्ने कानुनी प्रकृया बारे नेपाल राष्ट्र ब्याङ्कले कानुन मन्त्रालयको राय मागेको छ । वित्तिय अवस्था धरासायी तथा एक पछि अर्को आर्थिक बेइमानी सार्वजनिक हुन थालेपछि एनबी बैंकबाट एनबी समुहको सेयर विक्री प्रक्रिया सुरु गरिएको थियो ।
बैंकमा समुहको ६० लाख कित्ता (२६ प्रतिशत) सेयर छ । सो सेयर ब्याङ्कको बङ्गलादेशी साझेदार आईएफआईसी ब्याङ्कले खरिद गर्न खोजेको हो । तर, त्यसरि पहिले नै खरिद र बिक्रीकर्ता तय भएर सेयर कारोबार गर्न बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐनले नदिने भएकाले राष्ट्र ब्याङ्कले कानुन मन्त्रालयको राय मागेको हो ।
यस पहिले राष्ट्र बैंकले आफ्नो कानुन महाशाखाको सल्लाह लिएको थियो । महाशाखाले बिक्री गर्न मिल्ने सुझाव दिए पनि केन्द्रिय बैंक बोर्डले पछि विवादमा नपर्न नेपाल वार एसोसिएसनका पुर्व अध्यक्ष विश्वकान्त मैनालीलाई ‘कन्सलट्यान्ट’ नियुक्त ग¥यो । मैनालीले एनबी समुहको सेयर बिक्री गर्न मिल्ने तर त्यसरि पहिलेनै खरिदकर्ता तयार गरेर नेप्सेमा म्याचिङ मात्र गराउँदा ‘इन्साइडर ट्रेडिङ’ हुने सुझाव दिए पछि राष्ट्र ब्याङ्क सल्लाह माग्न कानून मन्त्रालय पुगेको हो ।
एनबी समुहलाई बैंकबाट अलग्याउन राष्ट्र बैंक सेयर बिक्री गर्न दिने उपायको खोजिमा छ । समुह सम्बद्ध व्यक्तिहरु रहुन्जेल बैंकमा सुधार ल्याउन नसकिने निश्कर्षमा केन्द्रिय बैंक पुगेको हो सेयर विक्री गरेको रकम एनबी समूहले व्यक्तिगत प्रयोगमा लगाउन पाउने छैन । विक्री पछि प्राप्त हुने रकम एनबी बैंकलाई नै भुक्तानी गर्नु पर्ने सर्त राखिएको छ । बैंकबाट लिएको ऋणमध्ये ५० करोड रुपैयाँ भुत्तानी गर्न वाँकी छ । आइएफआइसी बैंकलाई नेपालमा सेयर खरिद गर्न बंगलादेशको केन्द्रिय बैंकले अनुमती दिइ सकेको छ ।
श्रेष्ठ र अधिकारीलाई ४७ लाख जरिवाना
एनबी बैंकले लिलामी गरेको पद्यमा सिनेमा गतल तरिकाले एनबी समुह सदस्यले लिएको पाएपछि नेपाल राष्ट्र बैंकले बैंकका पुर्व सञ्चालकहरु लक्ष्मी बहादुर श्रेष्ठ र विष्णु अधिकारीबाट दामासाहीले ४७ लाख रुपैयाँ विगो भराउने निर्णय गरेको छ । सो प्रकृयाका लागि केन्द्रिय बैंकले यस अघिनै श्रेष्ठ र अधिकारीलाई ५÷५ लाख रुपैयाँ जरिमाना गरेको थियो । साथै राष्ट्र बैंकले एनबी बैंकका पुर्व अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र सञ्चालक इन्द्र थापालाई नसिहत दिएको छ ।
पद्यमा सिनेमाको ललितपुर सानेपास्थित एक रोपनी आठ आना जग्गा र त्यसमा बनेको सिनेमा हल फेरि लिलामीमा लैजान समेत बैंकले सूचना जारी गरेको छ । पद्यमा सिनेमा हलको धितो लिलाम गर्दा मिलेमतो गरेको भेटेपछि राष्ट्र बैंकले सञ्चालकलाई पाँच लाख रुपैयाँ जरिवाना गरेको थियो । प्रक्रिया नै नपुर्याइ बैंकले पद्यमा सिनेमा हलको धितो लिलाम गरेको थियो । लिलाम गरेको केही महिना मै यो सम्पत्ती बैंकका सञ्चालकहरुले किनेको प्रमाण राष्ट्र बैंकले फेला पारेको थियो ।
यस बारे राष्ट्र बैंकले स्पष्टिकरण साधेपछि बैंक अध्यक्ष राजकर्णिकार, सञ्चालकहरु श्रेष्ठ, अधिकारी र थापाले राजिनामा दिएका थिए । बैंकले लगानी गरेको दुई करोड रुपैयाँ कर्जा चुक्ता नभएपछि पद्यमा सिनेमा हल र जग्गा लिलामी गरेको थियो । लिलाम गर्दा कागजी रुपमा सुरेन्द्रबहादुर सिंहले खरिद गरेको सिनेमा हल केही महिना मै एनबी समुह सम्बद्ध व्यक्तिको नाममा नामसारि भएको थियो । पद्यमा सिनेमाका मालिक रविन्द्रमान सिंहले बैंकले अन्याय गरेर सम्पत्ती लिलामीमा चढाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्र बैंकमा उजुरी गरेका थिए ।

Tata
GBIME