काठमाडौ । आयल निगमले सोमबारदेखि लागु हुने गरी सबै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको पेट्रोलियम क्षेत्रका संगठनले समेत विरोध जनाएका छन् । दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिबाट आक्रान्त बनेका आम उपभोक्तलाई चर्को भार थप्ने काम भएको उनीहरुले आरोप लगाएका छन् । ग्यास बिक्रेता महासंघ नेपाल र ग्यास वितरक संघले मूल्यवृद्धिले निम्न वर्गलाई थप आहत बनाएको भन्दै फिर्ता लिन माग गरेका छन् ।
जनताको क्रयशक्ति नबढेको बेलामा मूल्यवृद्धिको चर्को भार बोकाउने काम भएको छ, महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले भने, ‘जनविरोधी कार्य तत्काल फिर्ता हुनुपर्छ । उनले मूल्यवृद्धि नगरी समस्याको हल गर्न सकिने विकल्प हुँदाहुँदै मूल्य बढाउनु न्यायसंगत नहुने बताए ।
यस्तै संघले दैनिक उपभोग्य वस्तुको अस्वभाविक मूल्य वृद्धिबाट जनता पिल्सिरहेको बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप बज्रपात गरेको जनाएको छ । अन्तराष्ट्रिय बजारमा मूल्य वढेकोले मासिक १ अर्व १७ करोड घाटा हुने प्रक्षेपणको आधारमा घाटा कम गर्ने नाममा क्रय शक्ति निकै कमजोर भै सकेका निमुखा जनतालाई मर्माहत हुने गरी मूल्य वृद्धि गर्नु वेइमानी हो । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
