नाफा सुनिश्चित नहुँदासम्म रियलस्टेटमा लगानी बढ्दैन, ए के अहलुवालियाको अन्तर्वार्ता

बिजमाण्डू
२०७१ साउन १८ गते ००:०० | Aug 3, 2014
नाफा सुनिश्चित नहुँदासम्म रियलस्टेटमा लगानी बढ्दैन, ए के अहलुवालियाको अन्तर्वार्ता
सेयर बजार भनेको सधै प्राकृतिक रुपमा मात्र नभई कहिलेकाही स्पेकुलेटिभ पनि हुने गर्छ । सेयर बजार माथि गइरहेको छ यो राम्रो कुरा हो, तर धेरै संस्थाको वार्षिक रिजल्ट आउन बाँकी नै छ त्यसैले अहिले केही भन्न सकिदैन
अहिले बजारमा अधिक तरलता छ, त्यसैले यसलाई व्यवस्थापन गर्न खोजिएको छ । राष्ट्र बैंकले कही पनि कर्जा विस्तारलाई संकुचित गर्न भनेको छैन । खास कुरा के हो भने अहिले ऋण लिने मान्छे नै थोरै छन् त्यही भएर तरलता व्यवस्थापनको कुरा उठेको हो  तर ऋण बढ्न थाले पछि यो कुरा आफै हराएर जान्छ

संयुक्त लगानीका बैंकहरुले नेपालको वित्तीय क्षेत्रमा केहीहदसम्म ‘ट्रेण्ड सेट’ गर्दै आएका छन् । पञ्जाव नेशनल बैंकको साझेदारीमा स्थापना भएको एभरेष्ट बैंक पनि नेपालको ट्रेण्ड सेटर मध्येमा पर्छ । आन्तरिक तथा वाह्य सञ्जाल, निक्षेप, कर्जालगायतले नयाँ योजना लागु गर्न यो बैंकलाई सजिलो पनि छ । बिजमाण्डू सम्पादक सरोज काफ्ले र सुदर्शन सापकोटाले बैंकका प्रमुख कार्यकारी अधिकृत ए के अहलुवालियालाई सोधे पिएनबीले एभरेष्टमा हिस्सा बढाउन चाहेको हो ?
 
चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक भयो, तुलनात्मक रुपमा यस पटक निकै कसिलो छ । अब बैंकिङ अझै चुनौतीपूर्ण भयो होला नि, हैन ?
बित्तीय स्थायित्वको लागि मौद्रिक नीति तर्जुमा गर्नु राष्ट्र बैंकको मुख्य काम नै हो । देशले अवलम्बन गरेको आर्थिक लक्ष्यसँगसँगै बैंकिङ प्रणालीलाई अगाडी बढाउन तत्कालिन अवस्थालाई दृष्टिगत गरेर मौद्रिक नीति तर्जुमा गरिन्छ । अहिलेको अवस्थालाई हेर्दा योे नीति उपयुक्त नै होेला जस्तो लाग्छ । अहिले बजारमा अधिक तरलताको अवस्था छ । यदि समयमै बढी भएको तरलतालाई व्यवस्थापन गर्न सकिएन भने यसले मुद्रा स्फिती तथा महंगी बढाउन सक्छ । तर यहाँ ग्राहकको हित संरक्षणको कुरा पनि महत्वपुर्ण हुन आउछ र ग्राहकको हित त्यो बेला संरक्षण हुन्छ, जुन बेला बैंकहरुले आफ्नो पैसा सही ठाउँमा प्रयोग गर्छन् । साथै बैंकले पनि आफ्नो लगानीको यथोचित प्रतिफल लिन पाउनु पर्छ, अनि मात्र उनीहरुले ग्राहकसँग ब्याज तिरेर लिएको पैसाको सही समयमा भुक्तानी गर्न सक्छन् । 
सामान्यतया जहाँ लगानी आवश्यक छ, राज्यले जुन क्षेत्रलाई प्राथमिकतामा राखेको हुन्छ त्यो क्षेत्रमा लगानी वढाउनेतर्फ मौद्रिक नीति केन्द्रित हुने गर्दछ । जस्तै अहिले उत्पादनमूलक, ऊर्जा, कृषि, पर्यटन जस्ता क्षेत्रहरु राज्यको प्राथमिकता छ । यो क्षेत्रमा लगानी वढाउनु नियामक निकायको काम नै हो । त्यसैले अहिलेको समसामयिक अबस्थालाई हेर्दा यो मौद्रिक नीतिलाई सकारात्मक रुपमा लिनुपर्छ ।
 
तरलता व्यवस्थापनका लागि यति धेरै मौद्रिक औजारहरु आए, यो बढी नै भयोजस्तो लाग्दैन ?
अहिलसम्म तरलता व्यवस्थापनका लागि खासै धेरै मौद्रिक औजारहरु प्रयोगमा आएका  थिएनन्, मुख्यतः रिभर्स रिपो र ऋणपत्रको प्रयोग भएको थियो । अब राष्ट्र बैंकले निक्षेप खरीद गर्ने नीति ल्याएको छ, यस अन्तरगत आकस्मिक खुला बजार कारोबारको लागि रिपो÷रिभर्स रिपो तथा बोलकबोलको माध्यमबाट ब्याज दिने गरी निक्षेप संकलन गर्ने भनिएको छ, जसको म्याचुरिटी तीन महिना भनिएको छ । यस अन्तर्गत वोलकवोलमा जसको कम ब्याज हुन्छ त्यही बैंकको निक्षेप राष्ट्र बैंकले किनिदिने हो । यसले पनि भएन भने सायद ऋणपत्र जारी हुने अबस्था आउने हो । 
तरलता व्यवस्थापन भनेको एउटा निरन्तर चलिरहने प्रकृया हो । यस मौद्रिक नीतिमा जुन कुराहरु आएका छन्, त्यो अहिलेको अबस्था हेरेर ल्याइएको हो । मानौं, ६ महिनापछि अवस्था परिवर्तन भयो भने अहिले ल्याइएका मौद्रिक औजारहरुको आवश्यकता नपर्न पनि सक्छ । मौद्रिक औजार आज चाहिएको छ किनभने अहिले समस्या छ । 
तपाईले बजेट पनि हेर्नु भयो । बजेट लगानी विस्तार गर्न चाहन्छ, मौद्रिक नीति भने कसिलो आएको छ । यी दुई बीचमा बलियो समन्वय देखिन्छ ?
बजेट सरकारको नीति हो, यो एक बर्षका लागि आए पनि यसमा दीर्घकालिन सोच  हुने भएकोले निरन्तरताको आवश्यक्ता हुन्छ । आज बजेटमा एउटा कुरा भन्ने र केही समयमै अर्को काम गर्ने भन्ने हुँदैन । बजेटले जहिले पनि समग्र अर्थतन्त्रलाई समेटेको हुन्छ तर नियामक निकायले भने आजको आवश्यकता वा अवस्थालाई हेर्छ । अहिले बजारमा अधिक तरलता छ, त्यसैले यसलाई व्यवस्थापन गर्न खोजिएको छ । राष्ट्र बैंकले कही पनि कर्जा विस्तारलाई संकुचित गर्न भनेको छैन । खास कुरा के हो भने अहिले ऋण लिने मान्छे नै थोरै छन् त्यही भएर तरलता व्यवस्थापनको कुरा उठेको हो  तर ऋण बढ्न थाले पछि यो कुरा आफै हराएर जान्छ ।
बैंकहरुसँग अधिक तरलताको अवस्था छ भनेर नै त सरकार उत्पादनमूलक क्षेत्रमा त्यो पैसा लगानी होस् भन्ने चाहन्छ । कृषि, ऊर्जा, पुर्वाधारलगायतका क्षेत्रमा कर्जा जाओस् भन्ने सरकारले चाहनु ठिक हो तर ऋण लिने मान्छे पनि त चाहियो । जब सरकारको नीतिको उचित कार्यान्वयन हुन्छ तब ऋण लिने मान्छेहरु आउँछन्, र लगानीहरु प्राकृतिक रुपमैै बढ्न जान्छ । 
मौद्रिक नीतिले बढि भएको तरलता व्यवस्थापन गरेर बैंकहरुलाई सहयोग गर्न चाहन्छ । अहिलेको अधिक तरलता लगानीमा परिवर्तन नहुँदासम्म व्यवस्थापन त गर्नु प¥यो  नै, राष्ट्र बैंकले त्यही गर्न खोजेको हो जस्तो लाग्छ मलाई । तर हामीले सचेत हुनु पर्ने कुरा के हो भने अहिलेको तरलता लगानीमा रुपान्तरण नभई उपभोगमा जाने हो भने यसले माग र आपुर्तिबीच असन्तुलन भएर मुद्रा स्फिती बढाउन सक्छ ।  
 
सिआरआर बढेको छ, भारतलगायत अन्य अन्तर्राष्ट्रिय बजारमा सीमित मात्रामा लगानी खुला भएको छ, बजेटले लगानी विस्तार गर्न चाहेको छ । हामी अझै पनि अन्यौलमै छौं कि मौद्रिक नीतिले गर्न के खोजिरहेको छ ?
बजेटले लिएको लक्ष्यलाई सहयोग गर्न नै मौद्रिक नीति आउने हो । बजेटले अहिलेसम्म रकम छुट्याएको मात्र छ र नीति पनि कार्यान्वयनमा गइसकेको छैन । खर्च गर्ने स्किमहरु तयार भइरहेका छन् । बजेट छुट्याउँदैमा समस्या समाधान हुँदैन । बजेटमा छुट्याएको रकम जबसम्म खर्च हुँदैनन् त्यति बेलासम्म त मौद्रिक नीतिले आफ्नो काम गर्नुपर्छ । सरकारले लगानी गर्न थालेपछि त्यसमा सर्वसाधारणको पनि सहभागिता हुन्छ, त्यसपछि बैंकहरुले लगानी गर्न थाल्छन् । जबसम्म बैंकको ऋण लगानी हुँदैन त्यतिखेरसम्म त राष्ट्र बैंकले तरलता व्यवस्थापनको काम गर्नैपर्छ । बैंकको कर्जा प्रवाह जब बढ्न थाल्छ, त्यतिखेर ऋणपत्र वा अन्य मौद्रिक औजारमा लगानी गर्नु पर्ने त्यति आवश्यकता रहँदैन । हामीले के बुझ्न जरुरी छ भने मौद्रिक नीति भनेको अल्पकालका लागि हुन्छ । अहिले तरलता बढी छ भने त्यसलाई त व्यवस्थापन गर्नैपर्ने हुन्छ । मलाई लाग्दैन कि बजेट र मौद्रिक नीतिमा समन्वयको अभाव छ । मौद्रिक नीति अहिलेको अवस्थालाई हेरेर आएको छ । मानौ छ महिनापछि बजारमा तरलता अभाव भयो भने राष्ट्र बैंकले आफ्नो नीति परिवर्तन गर्नु पर्ने हुन सक्छ, त्यो विगतमा पनि भएकै हो । 
 
अहिले बैंकिङ प्रणालीमा बाहिर हल्ला गरिएजस्तो अधिक तरलताको अवस्था हो, व्यवस्थापन गर्न कठिन भएकै हो ?
व्यवस्थापन गर्नै नसकिने अवस्था छ त म भन्दिन, किनभने अधिक तरलता हुँदा हुँदै पनि बैंकहरुले राम्रै गरेका छन् । अहिले अधिकांस बैंकको कर्जा–निक्षेप अनुपात ७५ प्रतिशतको हाराहारीमा छ । बाँकी २५ प्रतिशत रकममध्येबाट सिआरआर र एसएलआरलाई छुट्याएर बाँकी हुने रकम पनि त लगानी गर्नुपर्ने हुन्छ ।  सो बाँकी रकम लगानी गर्नकालागि बैकहरुसँग पर्याप्त अवसर  छैन । पहिले राष्ट्र बैंकबाट जारी हुने ऋणपत्रहरुको ब्याजदर केही माथि थियो, अहिले तरलता बढी भएको कारणले गर्दा ऋणपत्रको ब्याज कम भएको छ । साथै, रिभर्स रिपोको दर पनि सस्तो छ । यो बाँकी रहेको रकम लगभग उपभोग नभएरै बसेको अवस्था छ । साना बैंकहरुका लागि यो रकम त्यति ठूलो नहोला, तर ठूला बैंकहरुका लागि त यो रकम ठुलै हो नि । 
 
लामो समयदेखि ऋणपत्रहरुको ब्याज एक प्रतिशतभन्दा तल छ, त्यसो भए ऋणपत्रको ब्याज केही माथि गएपछि भने समस्या समाधान हुने रहेछ ? 
आजको परिस्थिीतिमा ऋणपत्रको ब्याज कमै छ । मौद्रिक नीतिबाट जुन औजारहरु आएका छन् त्यसबाट केही समाधान त पकै निस्केला । निक्षेप किन्ने स्किमबाट केही तरलता प्रशोचन गर्ने र जुन बाँकी रहन्छ त्यसलाई ऋणपत्र जारी गरेर तान्ने भनिएको छ । तरलता व्यवस्थापन गर्नतिर लागेपछि त्यो बेला पक्का पनि राष्ट्र बैंकको ऋणपत्रको ब्याज दर केही माथि हुन सक्ला । 
मौद्रिक नीति तरलता व्यवस्थापनमा बढी लक्षित भएको देखिन्छ, तपाईलाई लाग्छ अब ब्याज दरमा केही परिवर्तन हुन्छ ?
मलाई लाग्दैन यसको असर तत्कालै पर्छ । एक प्रतिशत बिन्दुले अनिवार्य नगद मौज्दात (सिआरआर) बढेपछि हुन सक्छ साना बैंकहरुलाई केही असर पर्ला तर ठूला बैंकहरुलाई भने यसको असर तत्कालै पर्दैन भन्ने मलाई लाग्छ । छ महिनापछि लगानीको वातावरण बन्यो भने सायद पर्न सक्ला, तर अहिलेसम्म त तरलता अधिक भएकै अवस्था छ, त्यही भएर खासै फरक पर्दैन जस्तो लाग्छ । 
 
मौद्रिक नीतिमा एउटा नौलो र महत्वपूर्ण विषय समेटिएको छ । प्रमुख कार्यकारी अधिकृत र सञ्चालकले दुई कार्यकालपछि पद छाड्नुु पर्छ भनिएको छ । सिइओका लागि त खासै इस्यु नहोला, तर सञ्चालक जो आफैले लगानी गरेको बैंकबाट आफ्नो मेजुरिटी सेयर हुँदा हुँदै पनि बैंक छाडेर अर्को कसैलाई पठाउनु पर्ने हुन्छ । यो व्यवहारिक छ ?
अहिलेसम्म यस बारेमा छुट्टै निर्देशन आएको छैन साथै कसरी कार्यान्वयन गर्ने भन्ने स्पष्ट भइसकेको छैन । त्यसैले यस सम्बन्धमा केही बोल्नु अलि चाँडै हुन्छ ।
 
तपाईको आफ्नो व्यक्तिगत विचार पनि त होला ?
यस सम्बन्धमा बिस्तृत निर्देशन आएपछि मात्र केही बोल्न सक्छु ।
 
मौद्रिक नीतिले ठूला परियोजनाहरुमा जानका लागि बाटो देखाएन ?
ठूलो आयोजनामा जाने भन्ने कुरा मौद्रिक नीतिमा हुँदैन । यसमा महत्वपूर्ण प्रश्न के के छ भने, हामीसँग ठूला आयोजना कहाँ छन् ? ठूला आयोजनामा हामी कति लगानी गर्न सक्छौं ? ठूला आयोजना आयो भने एउटा बैंकले त गर्नै सक्दैन, धेरै वटा बैंकहरुले मिलेर गर्न पनि गाह्रो हुन्छ । धेरै वटा बैंक एउटै आयोजनामा लगानी गर्नतिर लागे भने त्यो प्रकृया नै यति लामो हुन्छ कि समय मात्र खान्छ । जबसम्म प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) तथा सरकारी लगानी पर्याप्त मात्रामा आउँदैन तबसम्म बैंकहरुको बलमा मात्र ठूला आयोजना सञ्चालन गर्न कठिन हुन्छ । तर मलाई के विश्वास छ भने नेपालमा ठूला आयोजना निर्माण वा विकासको काम चाँडै सुरु हुन्छ । किनभने, देशलाई यसको अत्याधिक आवश्यकता छ । बैंकहरु पनि ठूला परियोजनामा क्षमताले भ्याएसम्म जान चाहन्छन् साथै राष्ट्र बैंकले पनि त ठूला परियोजनामा जान सहयोग र उत्प्रेरित गरिनै रहेको छ । 
 
सेयर बजार निकै उचाइमा पुगेको छ, पहिले के भएको थियो भने सेयर बजार उचाइमा पुगेपछि लगानी रियलस्टेटमा गएको थियो । फेरि पनि त्यो अवस्था आउँदैछ ? हामी यो प्रश्न किन गरिरहेका छौं भने एभरेष्ट बैंक रियलस्टेट बजार खस्किँदा पनि व्यक्तिगत प्रयोजनको घरजग्गा तथा आवास कर्जामा धेरै नै फोकस गरिरहेको छ ?
सेयर बजार भनेको सधै प्राकृतिक रुपमा मात्र नभई कहिलेकाही स्पेकुलेटिभ पनि हुने गर्छ । सेयर बजार माथि गइरहेको छ, यो राम्रो कुरा हो, तर धेरै संस्थाको वार्षिक रिजल्ट आउन बाँकी नै छ त्यसैले अहिले केही भन्न सकिदैन । जहासम्म रियलस्टेटको कुरा छ, यसमा बिस्तारै सुधार भइरहेको छ ।
 
सेयर बजारबाट पैसा बनाएकाहरु रियलस्टेटमा जान सक्लान् नि ?
चाहे त्यो सेयरबजार होस वा रियलस्टेट, जहाँ प्रतिफल देखिन्छ, लगानीकर्ता त्यहीँ जान्छन् । मेरो बिचारमा लगानीकर्ताहरु अहिले पर्ख र हेरको  स्थितिमा छन् । तर जहाँसम्म आवासीय घर कर्जाको कुरा छ, यसको अवस्था ठिकै छ । हाम्रो बैंकको फोकस पनि त्यतातिर नै हो । घर कर्जामा हामीले धेरै राम्रो गरिरहेका छौं, ब्याज सस्तो छ, सेवा सुविधा राम्रो दिएका छौं । घरजग्गा कर्जामा त्यत्रो ठूलो जोखिम पनि देखिँदैन । जोसँग नियमित आय श्रोत हुन्छ उसलाई ऋण दिन्छौं । तर जसले मात्र लगानी वा खरिद बिक्रिका लागि सोचेको छ, उसका लागि भने बजारमा त्यति धेरै सुधार आएको छैन । 
हामी घरजग्गा कर्जाका लागि राजधानी वाहेक अन्य शहरमा पनि गएका छौं । साना साना शहरमा पनि ऋण लगानी गरेका छौं । दसैंका लागि अहिलेदेखि नै हामीले घरजग्गा स्किम सुरु गरिसक्यौं । यसको ब्याज पनि कम हुन्छ र मार्केटिङ पनि   व्यापक रुपमा गर्दैछौं । आवासीय घर र ब्यक्तिगत कारका लागि नै यो स्किम ल्याएका छौ । 
 
अब एभरेष्ट बैंकको गत आर्थिक बर्षको परफरमेन्सको कुरा गरौं । कस्तो आउँदैछ व्यालेन्ससिट ?
बजारको परिस्थिति अनुसार गत बर्षको व्यालेन्सिट राम्रै भएको छ । यद्यपी अझैसम्म हामीले अन्तिम ब्यालेन्ससिट तयार पारिसकेका छैनौं । केही दिनमा फाइनल हुन्छ । 
एभरेष्ट बैंकले अझैसम्म पनि दुई अर्ब पुँजी पुर्याउन सकेको छैन ? क्षमता हुँदा हुँदै पनि उसले पुँजी बढाउन त्यति ध्यान दिएको छैन । पुँजी नपुर्याएका बैंकहरुले गएको असार मसान्तदेखि विभिन्न कारोबारहरुमा राष्ट्र बैंकको कारवाहीमा पर्न थालेका छन् ?
यस सन्र्दभमा भन्नुपर्दा, नियामक निकायको निर्देशनको पूर्णरुपमा पालना गरिनेछ । 
 
एभरेष्ट बैंक भन्ने वित्तिकै मर्जर पनि सँगसँगै जोडिएर आउँछ । एभरेष्ट बैंकले मर्जरको कुरा गर्छ तर कहिले पनि प्रकृया सुरु गर्दैन । भन्नका लागि मात्र मर्जर हो, यसमा एभरेष्ट गम्भिर छैन भनेर बुझ्दा हुन्छ ?
यसमा राष्ट्र बैंकको पनि कुनै विशेष निर्देशन छैन र हाम्रो पनि अहिले योजना छैन । 
 
एभरेष्ट बैंकसँग पञ्जाव नेशनल बैंक (पिएनबी) को निकै लामो समयदेखि सहकार्य चलिरहेको छ । हामीले सुनेको, पिएनबी नेपालमा आफ्नो सेयर हिस्सा बढाउन चाहन्छ, एभरेष्ट भने त्यो दिन तयार छैन, खास कुरा के हो ?
मैले त पहिलो पटक सुन्दैछु । मेरो जानकारीमा त यो कुरा आएको छैन ।  

करिव दुई बर्षअघि राष्ट्र बैंकसम्म पनि यो कुरा पुगेको थियो ?
म त्यसबेला यँहा नभएकोले मैले केही भन्न सक्ने कुरा रहेन । म यति मात्र भन्न सक्छु कि पिएनबी र एभरेष्ट बैंकको साझेदारी एकदमै बलियो छ । दुबै संस्थालाई यसबाट समान रुपमा फाइदा भइरहेको छ ।

Tata
GBIME
Nepal Life