
काठमाडौं। यस साता सेयर बजार ९.८१ अंकले बढेको छ । बजारको मापक नेप्से परिसूचक पहिलो दिन घटेपनि त्यसपछिका सबै दिन बढ्ने क्रममा रह्यो । गत साताको विहीवार नौं सय २६ मा रहेको नेप्से यस साता नौं सय ३६ मा आइपुगेको छ । बैंकिङ समूहमा सुधार देखिपछि बढ्ने क्रममा रहेको नेप्सेलाई पछिल्ला दिनमा बीमामा भएको उच्च वृद्धिको थप साथ मिल्यो ।
यस साता बढ्ने क्रममा रहेको नेप्से गत साता मंगलवार भने ९३८ सम्म पुगेर घटेको थियो । यदी नेप्से यो बिन्दुमा पुगेर फेरी घटेमा भने नेप्से केही समय थप तल नै रहने छ । यो तहबाट घटेमा नेप्सेको रेखा चित्रले डबल टप वा अंग्रेजी अक्षरको एम आकार बनाउछ । यो आकार बनेमा सुचक थप केही घट्ने विश्लेषण गरिन्छ ।
यस समूहको नेपाल बैंकमा भने लगानीकर्ताको आकर्षण उच्च देखियो ।
बैंकमा सरकारले दुई अर्ब बढि रकम इन्जेक्ट गर्ने र बैंकले केही जग्गा समेत बिक्री गरेर पूँजी इन्जेक्ट गर्ने तयारीका खबरले सेयरमा चाप परेको हो । गत साताको तुलनामा बैंकको सेयर मूल्य पनि १२ प्रतिशतसम्म बढेको थियो । यस विहीवारसम्ममा भने यस्तो वृद्धि सात प्रतिशतमा सिमित भएको छ ।
बैंकको सबैभन्दा धेरै १५ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । यो बजारमा भएको कुल कारोबार रकम दुई अर्ब १९ करोड ६४ लाखको ६.९७ प्रतिशत हो ।
यस साता बीमा समूहको परिसूचकमा पनि उच्च अंकले वृद्धि भयो । गत विहीवार ३७०५ मा रहेको बीमा समूहको परिसूचक यस साता एक सय ३५ अंकले बढ्यो । यो समूहको नेको इन्स्योरेन्सको सेयर मूल्य उच्च वृद्धि भएको छ । १:०.८ अनुपातमा हकप्रद सेयर दिन लागेको कम्पनीको जेठ १८ गते दुई सय ३१ रुपैयाँमा सेयर कारोबार भएको थियो । मर्जर प्रक्रिया रोकिएपछि कारोबारमा आएको कम्पनीको हाल सेयर मूल्य सात सय ५० रुपैयाँ छ । यो मूल्यमा दुई सय २४ प्रतिशतले वृद्धि भएको हो ।