
सुदर्शन सापकोटा/बिजमाण्डू
काठमाडौं। सरकारले नेपाल बैंक लिमिटेडमा थप साढे दुई अर्ब रुपैयाँ पुँजी लगानी गर्ने भएको छ। सरकारले विगतमा लगानी गरेको ऋणलाई सेयरमा परिवर्तन गर्ने तयारी गरेको छ। वित्तीय क्षेत्र सुधार कार्यक्रमका लागि सरकारले बैंकमा साढे दुई अर्ब रुपैयाँ (आजको अमेरिकी डलरको भाउ अनुसार) ऋण लगानी गरेको थियो, यही रकम सेयरमा रुपान्तरण गर्न लागिएको हो।

राष्ट्र बैंकबाट ऋणलाई सेयरमा परिवर्तन गर्नका लागि प्रस्ताव आएको छ। यस बारेमा छलफल पनि भइरहेको छ। बैंकको पुँजी पर्याप्तता अनुपात बृद्धिका लागि यो सेयरले निकै ठूलो सहयोग पुर्याउने छ।
…..
कृष्णप्रसाद देवकोटा
सहसचिव, अर्थमन्त्रालय
…..
…..
नेपाल बैंकका व्यवस्थापन हेरिरहेको नेपाल राष्ट्र बैंकले अर्थमन्त्रालयसँग ऋणलाई सेयरमा रुपान्तरण गर्न औपचारिक रुपमा पत्राचार नै गरिसकेको छ।
मन्त्रालयका अधिकारीहरुले राष्ट्र बैंकको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै सेयरमा परिवर्तन गर्न अनौपचारिक स्वीकृति दिइसकेका छन्। औपचारिक निर्णय भने केही दिनभित्रै हुँदैछ।
अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव कृष्णप्रसाद देवकोटाले राष्ट्र बैंकबाट ऋणलाई सेयरमा परिवर्तन गर्नका लागि प्रस्ताव आएको जानकारी दिए। 'हामीसँग प्रस्ताव आएको छ, ऋणलाई सेयरमा परिवर्तन गर्ने बारेमा छलफल भइरहेको छ,' उनले भने, 'बैंकको पुँजी पर्याप्तता अनुपात बृद्धिका लागि यो सेयरले निकै ठूलो सहयोग पुर्याउने छ।'
बैंकको अहिले चुक्ता पुँजी तीन अर्ब ९६ करोड रुपैयाँ छ। सरकारले ऋणलाई पुँजीमा परिवर्तन गरेपछि पुँजी साढे छ अर्बको हाराहारीमा पुग्ने छ। बैंकको करिव तीन अर्ब ४५ करोड रुपैयाँले जगेडा कोष ऋणात्मक छ। यसमा पनि पुँजीकरणले सहयोग पुर्याउने छ। बैंकको पुँजी कोष अनुपात ०.८८ प्रतिशतबाट बढेर करिव आठ प्रतिशतको हाराहारीमा पुग्ने छ।

बैंकमा सरकारले गरेको सेयर लगानी भविस्यमा रणनीतिक साझेदार भित्राउनका लागि उपयोगी हुने राष्ट्र बैंक स्रोतले जानकारी दियो। नेपाल बैंकमा राष्ट्र बैंक लामो समयसम्म नबस्ने मनस्थितिमा छ। गभर्नर डा. युवराज खतिवडाले आफ्नो कार्यकालभित्रै नेपाल बैंकको सञ्चालक समिति वास्तविक सेयरधनीलाई बुझाउनु पर्ने योजनामा छन्, यसै कारण पनि पुँजी कोष अनुपात बृद्धिका लागि विशेष पहल भएको हो।
बैंकमा सुधार कार्यक्रम लागू हुनु पूर्व यसको खराव कर्जा ५० प्रतिशतभन्दा वढी थियो। अहिले यो घटेर पाँच प्रतिशतको हाराहारीमा आइसकेको छ। यस बीचमा सरकार र सर्वसाधारणले पनि बैंकमा सेयर लगानी गरेका छन्। ३८ करोड चुक्ता पुँजी भएको बैंकमा सरकार र सर्वसाधारणले लगानी गरेर पुँजी तीन अर्ब ९६ करोड रुपैयाँ पुर्याइसकेका छन्।
Year (Rs. million) | Deposits | loans and advances (gross) | Investments (gross) | Interest Income | Interest Expenses | Operating Profit | Net Profit | NPA % |
2057/58 | 35,619 | 20,419 | 6,776 | 2,368 | 1,745 | -2,298 | -2,178 | 50.8 |
2058/59 | 34,265 | 19,253 | 7,151 | 1,527 | 1,713 | -3,196 | -3,071 | 56.27 |
2059/60 | 35,014 | 18,132 | 12,464 | 2,200 | 1,586 | -837 | -252 | 60.47 |
2060/61 | 35,735 | 17,938 | 11,021 | 1,825 | 1,026 | -129 | 710 | 53.74 |
2061/62 | 35,934 | 16,866 | 14,220 | 1,987 | 749 | 111 | 1,730 | 49.64 |
2062/63 | 35,830 | 12,442 | 14,501 | 2,049 | 774 | -389 | 1,207 | 18.18 |
2063/64 | 39,014 | 13,757 | 16,083 | 1,849 | 773 | -37 | 227 | 13.49 |
2064/65 | 41,829 | 15,765 | 16,652 | 2,095 | 773 | -36 | 239 | 12.38 |
2065/66 | 45,194 | 19,560 | 13,479 | 2,690 | 792 | 146 | 894 | 4.94 |
2066/67 | 42,882 | 25,052 | 5,866 | 3,068 | 910 | -622 | 249 | 5.37 |
2067/68 | 46,808 | 26,706 | 7,667 | 3,741 | 1,482 | -56 | 128 | 5.75 |
2068/69 | 56,052 | 29,699 | 8,473 | 4,051 | 2,197 | -210 | 176 | 5.58 |
2069/70 | 62,984 | 37,582 | 11,058 | 4,740 | 2,214 | 104 | 755 | 5.24 |
नेपाल बैंक लिमिटेडले तीन अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर निस्कासन गरेको थियो। बैंकले प्रति एक कित्ता बराबर ९.५ को अनुपातमा हकप्रद निस्कासन गरेको थियो। बैंकको सेयरका लागि सरकारले आफ्नो भागको एक अर्ब ३७ करोड रुपैयाँ हालेको थियो।
बैंकमा सरकारको ४०.४९ प्रतिशत सेयर स्वामित्व छ। वाँकी सेयर अन्य बंैक तथा वित्तीय संस्था र सर्वसाधारणको छ। उनीहरुको कुल पुँजीमा ४९.९४ प्रतिशत सेयर छ। नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सुधार प्रकियामा जाने भएपछि सरकार र राष्ट्र बैंकको अनुरोधमा २०६० फागुन १९ गते सेयर सुचीकरण खारेज भएको थियो। बैंकले गत असोज २५ गते नेप्सेमा ओभर द काउन्टर (ओटिसी) किनबेचका लागि सेयर दर्ता गराएको थियो। नेप्सेमा पनि पहिलो पटक नेपाल बैंककै सेयरमार्फत ओटिसी कारोबार भएको थियो।
७७ वर्ष पुरानो बैंकको वित्तीय अवस्था खराव भएपछि विश्व बैंकको ऋण लिएर सुधार प्रकृया थालिएको थियो। सरकार र सर्वासाधारणले पुँजी लगानी गरेपछि बैंकको अवस्थामा व्यापक सुधार आइसकेको छ। सुधार कार्यक्रम लागु हुनुपूर्व बैंकको पुँजी कोष १२ अर्ब ५८ करोड रुपैयाँ ऋणात्मक थियो।