किस्ट बैंकका पूर्वप्रबन्ध निर्देशक कमल ज्ञवालीसहित १५ लाई अदालतको पत्र, हाजिर हुन आदेश

बिजमाण्डू
२०७१ जेठ १८ गते ००:०० | Jun 1, 2014
काठमाडौं। किष्ट बैंकमा घोटाला गरि फरार भएका तात्कालिन प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवालीलाई पाटन पुनरावेदन अदालतले हाजिर हुन आदेश दिएको छ। कमसल धितोमा बढि कर्जा प्रवाह गरेको मुद्दा नेपाल राष्ट्र बैंक हुँदै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले छानविन थाले पछि ज्ञवाली फरार भएका हुन्।
ज्ञवाली सहित १५ फरार अभियुक्तलाई अदालतले ३० दिन भित्र हाजिर हुन आइतबार सार्वजनिक पत्र काटेको हो।
हाजिर हुन बोलाइएका अरु आरोपीमा कालिप्रसाद शर्मा, शोभा गिरी, कमल सिटौला, तुलसीप्रसाद खनाल, संजयमुर्ती कोइराला, सीता खरेल, बालकुमार पाण्डे, श्यामसुन्दर ढकाल, मधुसुदन शर्मा, रेणुप्रसाद पाण्डे, वामदेव नेपाल, सुनयन शाक्य, नविन राई र मेरु जोशी छन्। नेपाल राष्ट्र बैंक बादी रहेको ०७०–सीबी–००६७ र ०७०–सीबी–००७० नम्बर मुद्दामा उनी प्रतिवादी छन्। 
बैंकिङ कसुर मुद्दामा यस अघि पक्राउ गरेर प्रहरीले हाजिर जमानीमा छाडेका अभियुक्त समेत यो फरार सूचीमा छन्। अभियुक्त बिना नै मुद्दा दर्ता गरे पछि अदालतले मुद्दामा रहेको प्रतिवादीहरुको ठेगानामा म्याद बुझ्न पत्र काटेको थियो।
तर, त्यो ठेगाना समेत नमिलेको भन्दै पत्र फिर्ता भए पछि अदालतले सार्वजनिक सुचना निकालेको हो। यसरी प्रहरीले दर्ता गर्नु अघि राम्रोसँग अनुसन्धान नगर्नाले मुद्दा धेरै लम्बिएको अदालत स्रोतको भनाइ छ। 'मुद्दा दर्ता गर्नु नै सफलता मान्ने प्रबृत्ति प्रहरीमा देखिएको छ' स्रोतले भन्यो। 
ज्ञवालीले जम्को प्रकाशन प्रालिलाई १४ करोड ऋण कमसल धितोमा दिलाएका थिए। त्यसबारे राष्ट्र बैंकले अनुसन्धान गर्न थाले पछि ज्ञवाली फरार भएका हुन्। ज्ञवालीको निर्देशन बमोजिम कर्जा फाइलमा हस्ताक्षर गरेका आधारमा बैंकका
नायव महाप्रबन्धक बिएन घर्ती लगायत भने अहिले थुनामा छन्। ज्ञवाली भागे पनि प्रहरी र राष्ट्र बैंकले मागे बमोजिम सबै विवरण र फाइल उपलब्ध गराइ रहेका घर्तीलाई पक्राउ गरेर प्रहरीले अदालतमा बुझाएको थियो। 
जम्कोलाई दिएको ऋण बारे विवरण उपलब्ध गराउन आफैँ सिआईबी गएका बेला प्रहरीले घर्तीलाई पक्राउ गरेको गरेको थियो। आफ्नै कार्यालय आएर विवरण दिने अधिकारीलाई पक्राउ गरेको प्रहरिले फरार भएका ज्ञवाली लगायत अभियुक्तको भने कुनै पत्तो पाउन सकेको छैन।
 

Tata
GBIME
Nepal Life