सार्क महासचिव थापासँग सार्क वाणिज्य संघका अध्यक्षले भेटे, साझा विकासमा लाग्नुपर्ने

बिजमाण्डू
२०७१ जेठ २ गते ००:०० | May 16, 2014
काठमाडौं। सार्क महासचिव अर्जुनबहादुर थापासँग सार्क उद्योग वाणिज्य संघका अध्यक्ष इस्माइल असिफको नेतृत्वमा आएको सार्क क्षेत्रका उद्यमी व्यापारिक प्रतिनिधिमण्डलले शुक्रबार सार्क सचिवालय काठमाडौंमा भेट गरेको छ। भेटमा सार्क क्षेत्रको आर्थिक विकास तथा व्यापार एवं लगानी प्रवर्द्धनका विषयमा छलफल भएको छ।
भेटमा महासचिव थापाले दक्षिण एशियाली क्षेत्रलाई आकर्षक आर्थिक केन्द्रको रुपमा स्थापित गराउनु आफ्नो उद्देश्य रहेको बताउँदै त्यसका लागि यस क्षेत्रका निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने स्पष्ट पारेका छन्। उनले सार्क उवासंघले दक्षिण एशियाली निजी क्षेत्र बीचको भेटघाट एवं आर्थिक तथा व्यापारिक प्रवर्द्धनमा निर्वाह गर्दै आएको भूमिकाको सराहना गर्दै यस क्षेत्रको आर्थिक विकास तथा अन्तर क्षेत्रीय व्यापार अभिवृद्धिका लागि अझ सशक्त रुपमा लाग्न आग्रहसमेत गरे। 
थापाले प्राकृतिक श्रोतको धनी यस क्षेत्रको विकासका लागि उर्जा तथा पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमा विशेष ध्यान पुर्‍याउनु पर्ने बताए। सार्क उवासंघका अध्यक्ष इस्माइल असिफले संघका गतिविधि तथा भावी रणनीतिका विषयमा जानकारी गराउदै सार्क उवासंघलाई यस क्षेत्रको व्यापारिक तथा लगानी प्रवर्द्धन गर्ने एक सशक्त संस्थाको रुपमा विकास गर्दै जाने बताए। उनले सार्क क्षेत्रका उद्यमी व्यापारीहरु बीचको भेटघाटलाई तिव्र पार्दै दक्षिण एशियाली क्षेत्रको आर्थिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै जाने विश्वास दिलाए। 
यसैगरी सार्क उवासंघका पूर्व अध्यक्ष पद्म ज्योति तथा नवनियुक्त वरिष्ठ उपाध्यक्ष सुरज वैद्यले सार्क उवासंघ तथा सार्क सचिवालयबीच रहीआएको सहकार्यलाई संस्थागत गर्नु पर्ने सुझाव दिए। उनीहरुले सार्क क्षेत्रको आर्थिक, लगानी तथा व्यापारिक अभिवृद्धिका लागि सूचनाहरुको आदानप्रदान हुनु पर्नेमा जोड दिएका छन्। 

Tata
GBIME
Nepal Life