संस्थागत निक्षेप ६०% मा झार्नु पर्ने ब्यवस्थाले सानाको ब्याज बढ्यो, बैंकमा ७५% सम्म ठूलाको पैसा

बिजमाण्डू
२०७१ बैशाख १७ गते ००:०० | Apr 30, 2014
काठमाडौं। ठूला निक्षेपकर्ताको रकम सीमा तोकिएपछि बैंकहरुले सर्बसाधारणलाई बढी ब्याज दिन थालेका छन्। नेपाल राष्ट्र बैंकले संस्थागत तथा ठूला निक्षेपकर्ताको रकम कुल निक्षेपको ६० प्रतिशतभन्दा वढी राख्न नपाउने व्यवस्था गरेपछि बाणिज्य बैंकहरुले निक्षेप सीमाभित्र ल्याउन ठूला बचतकर्ताको ब्याज धमाधम घटाइरहेका छन्।            
सर्वसाधारणको निक्षेप आकर्षित गर्न  ब्याज दरमा  बृद्धि गर्न थालिएको हो। ठूला निक्षेपकर्ताको रकम ६० % भन्दा तल झार्नु पर्ने भएपछि ठूलालाई दिने ब्याज घटाइएको हो ।
………
रत्नराज बज्राचार्य
प्रमुख कार्यकारी अधिकृत 
ग्लोबल आइएमइ बैंक 

राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुले कुल निक्षेपको  ६० प्रतिशतसम्म मात्र संस्थागत तथा ठूला निक्षेपकर्ताको पैसा राख्न पाउने व्यवस्था गरेको छ। 
'ठूला निक्षेपकर्ताको रकम ६० प्रतिशतभन्दा तल झार्नु पर्ने भएपछि उनीहरुलाई दिने ब्याज घटाइएको हो,' ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बिजमाण्डूसँग भने, 'सर्वसाधारणको निक्षेप आकर्षित गर्न उनीहरुको ब्याज दरमा भने बृद्धि गर्न थालिएको हो।'

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले सानो–सानो निक्षेप संकलन गर्दा बैंकलाई वित्तीय जोखिम नहुने भन्दै ठूला निक्षेपकर्ताले एकैचोटी रकम झिकिदिँदा बैंकलाई असहज हुन सक्ने बताए। 'सर्वसाधारणको निक्षेप बढी भएको बैंकमा तरलताबाट हुने जोखिम कम हुन्छ,' उनले भने, 'सर्वसाधारणलाई बढी ब्याज दिँदा उनीहरु बैंकिङ प्रणालीमा आकर्षित पनि हुन्छन्।'
ठूला निक्षेपकर्ताको ब्याज घटेको फाइदा साना निक्षेपकर्तालाई भएको छ। बैंकहरुले ठूला निक्षेपकर्ताको तुलनामा सानालाई भने ०.२५ देखि एक प्रतिशत विन्दुसम्म बढी ब्याज दिन थालेका छन्। विगतमा तरलता (लगानी योग्य पुँजी) अभाव हुँदा बैंकहरुले सानालाई भन्दा ठूलालाई बढी ब्याज दिएर निक्षेप आफ्नो बैंकमा राख्थे।

Tata
GBIME
Nepal Life
सानो–सानो निक्षेप संकलन गर्दा बैंकलाई वित्तीय जोखिम हुँदैन। ठूला निक्षेपकर्ताले एकैचोटी रकम झिकिदिँदा बैंकलाई असहज हुन सक्छ। 
……
किशोर महर्जन
प्रमुख कार्यकारी अधिकृत
सिभिल बैंक 
त्यसबेला बैंकको ब्याज साढे १२ प्रतिशतसम्म पुगेको थियो। पछि बैंकहरुले अघोषित रुपमा १२ प्रतिशतभन्दा वढी नदिने समझदारी गरेका थिए।

बैंक % संस्थागत  साना 
नबिल  4 5
ग्लोबल आइएमइ  5.5 6.5
एभरेष्ट  4 5
एनआइसी एसिया  5 6
एसबिआइ  5.5 6
हिमालयन  4 4.5

तरलता बढेपछि ब्याज घटाउन थालेका बैंकले पछिल्लो समय संस्थागत र सर्वसाधारणलाई गरी दुई थरी ब्याज प्रकाशित गर्न थालेका छन्। 
दुईथरी ब्याज पुराना तथा ठूला र नयाँ आएका बैंकहरुले एकैचोटी सार्वजनिक गर्न थालेका छन्। 'अहिले बाणिज्य बैंकहरुमा ठूला निक्षेपकर्ताको बचत अनुपात ४५ देखि ७५ प्रतिशतको हाराहारीमा छ,' महर्जनले भने, 'यसलाई घटाउन बैंकहरुलाई दवाव परेको छ। त्यही भएर ब्याज दरबाट सुधार गर्न खोजिएको हो।'

 संस्थागत निक्षेपकर्ताहरुको ठूलो निक्षेप एउटै संस्थामा रहँदा जोखिम उच्च हुने भन्दै राष्ट्र बैंकले नीतिगत रुपमै पैसा राख्न पाउने सीमा तोकेको हो।

पछिल्लो समयमा समस्यामा गएका अधिकांस वित्तीय संस्थाहरुमा संस्थागत निक्षेपकर्ताको निक्षेपको हिस्सा अधिक थियो। 
संस्थागत निक्षेपकर्ताले आफ्नो पैसा झिक्ने वित्तिकै तरलता अभाव भएर बैंक तथा वित्तीय संस्थाले भुक्तानी गर्न नसक्ने अवस्था पनि आउन सक्छ।
समस्याग्रस्त भएका संस्थाहरुमध्ये अधिकांसको रोग यही थियो।