भाषण गर्न नपाएपछि रिसाएर हिडे उद्योगमन्त्री, सार्वजनिक रुपमै महासंघको आलोचना

बिजमाण्डू
२०७० चैत्र २८ गते ००:०० | Apr 11, 2014
भाषण गर्न नपाएपछि रिसाएर हिडे उद्योगमन्त्री, सार्वजनिक रुपमै महासंघको आलोचना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ४८ औं साधारणसभाको उद्घाटन कार्यक्रममा भाषण गर्न नपाएपछि उद्योगमन्त्री कर्ण बहादुर थापा रिसाएर कार्यक्रम स्थलबाट बाहिरिए । साधारण सभाको उद्घाटन सत्रमा अतिथिका रुपमा मन्त्री थापालाई निम्त्याइएको थियो ।
उद्घाटन सत्रमा तीन जनाले मात्रै मन्तव्य राख्ने कार्यक्रम थियो । महासंघ अध्यक्ष सुरज वैद्यले उद्घाटन मन्तव्य राखे पछि प्रमुख अतिथि संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले बोले । मन्त्री थापाले त्यस पछि आफुले वोल्ने सोचेका रहेछन् । तर, कार्यक्रम सञ्चालकले धन्यबाद मन्तव्यका लागि बरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारलाई बोलाए पछि मन्त्री थापा एकाएक झोक्किँदै उठेर हिँडे ।
कार्यक्रमस्थलबाट बाहिरिँदा महासंघका महानिर्देशक डा. हेमन्त दवाडीसँग रिस पोख्दै भने– ‘यस्तो पनि कार्यक्रम हुन्छ ।’ आयोजकहरुसँग विदा पनि नमागि उनी गाडी चढेर बाहिरिए । अतिथिका रुपमा मञ्चमा बाणिज्य तथा आपुर्तिमन्त्री सुनिल थापालाई बोलाइएको थियो । उनलाई पनि भाषण गर्न दिइएन । उनी धैर्य गर्दै अन्तिम समय सम्म बसे ।
महासंघले नेतृत्व चयन गर्ने हरेक साधारणसभालाई लामो नबनाउन आफ्नो तर्फबाट एकजनाले स्वागत, अर्कोले धन्यबाद र प्रमुख अतिथिलाई शुभकामना मन्तव्य दिन लगाउँदै आएको छ । त्यस बाहेक अरु जतिसुकै विशिष्ट व्यक्ति आए पनि भाषण गर्न दिने गरेको थिएन । पहिलो पटक उद्योग मन्त्री बनेका थापाले महासंघको कार्यक्रम गर्ने शैली थाहा नहेनछ जस्तो छ, त्यसैले ‘मन्त्रीले समेत बोल्न नपाउने’ भन्दै फन्किएर हिँडे, महासंघका एक अधिकारीले भने ।

Tata
GBIME
Nepal Life