सेयर कारोवार घटे पनि बजार उकालो लाग्यो, पहिलो दिनको तुलनामा नेप्से परिसूचक ६.८४ अंक बढ्यो

बिजमाण्डू
२०७० चैत्र ७ गते ००:०० | Mar 21, 2014
काठमाडौं । सेयर बजारमा यो साता कारोवार घटेको छ । साताभरमा ९० करोड ८९ लाख रुपैयाँ बराबरका १८ लाख ५८ हजार एक सय ८४ कित्ता सेयर खरिद बिक्री भएको हो । गत साताको तुलनामा कारोवार रकम २९ दशमवल ४४ प्रतिशतले कम भएको  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
कुल कारोवार मध्ये ६१ प्रतिशत क वर्गका कम्पनीको सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ । गत साता एक सय ५४ कम्पनीको सेयर कारोवार भएकोमा यो साता एक सय ४४ वटा कम्पनीको मात्र भयो । त्यसमा पनि सुरुमा बजार धेरै अंकले घट्दा कारोवार रकम कम भएको जनाइएको छ । 
अघिल्ला दुई दिन बजार उच्च अंकले घटे पनि पछिल्ला दुई दिनमा सेयर मुल्य बढ्दा पहिलो दिनको तुलनामा साताको अन्त्यमा नेप्से परिसुचक ६ दशमलव ८४ अंकले बढेर ७७५ दशमवल ९८ अंकमा पुगेको छ । आईतबार होलीका कारण विदा परेको थियो । सोमबारको तुलनामा विकास बैंक र अन्य समुहको उप सचुक भने साताको अन्त्यमा क्रमशः ५ दशमलव ८७ र ५ दशमलव २० अंकले घटेको छ । अरु सबै उपसुचक बढेका छन् । सबै भन्दा धेरै होटल समुह ५२ दशमवल ५५ अंक, जलविद्युत ३२ दशमवल १५ अंक र बिमा समुहको उप सुचक २६ दशमवल ७३ अंकले बढेको छ । 
गत साता निलगिरी विकास बैंकको हकप्रद तथा भृकुटी विकास, छिमेक लघुवित्त विकास, गरिमा विकास , शाइन रेसुङ्गा विकास बैंक र ग्लोवल आईएमई बैंकको वोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
क वर्गका कम्पनीहरुको कारोवार मापन सेन्सेटिभ परिसूचक समेत आईतबार बजार बन्द हुँदाको तुलनामा विहिबार २ दशमलव ०८ अंकले बढेर एक सय ८४ दशमलव ९१ अंकमा पुगेको छ । यो साता सबै भन्दा धेरै ११ करोड १३ लाख ४७ हजार रुपैयाँ बराबरको नेपाल लाइफ इन्स्योरेन्सको सेयर खरिद बिक्री भएको छ । कारोबार भएको सेयर संख्या र कारोवार संख्याको आधारमा भने क्रमशः ग्रान्ड बैंक र सानीमा हाइड्रोपावर अग्रस्थानमा रहे । 
 

Tata
GBIME
Nepal Life