
काठमाडौँ । थाई एयरवेजका काठमाडौँ शाखामा कार्यरत मजदुरले तलब र सुविधा बढाउन माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । मजदुर कर्मचारी युनियनले आइतवार पत्रकार सम्मेलन गरी मासिक तलबमा १३ हजार रूपैयाँ वृद्धि गर्न, कर्मचारीको आयकर कम्पनीले तिर्न माग गरेका हुन् । उनीहरूले सातदेखि १५ वर्षसम्म सेवा गरेका कर्मचारीलाई प्रत्येक वर्षको दुई महिना बराबरको तलब सुविधा थप्न पनि माग राखेका छन्।
युनियन अध्यक्ष अम्बरबहादुर पौडेलले व्यवस्थापनलाई गत पुसमै सात सूत्रीय माग बुझाए पनि पूरा नभएको बताए । व्यवस्थापनले माग पुरा गर्न चासो नदिएका कारण आन्दोलनको घोषणा गरिएको जानकारी दिए ।
उनले मुख्य कार्यालयका कर्मचारीको कर कम्पनीले तिरे पनि शाखा कार्यालयका कर्मचारीको कर नतिरेर भेदभाव गरेको बताए ।
काठमाडौँ शाखामा ६६ जना कर्मचारी कार्यरत रहेको र २०६० सालमा आधिकारिकरुपमा ट्रेड युनियनमा दर्ता गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।