विनियोजनमै समस्याका कारण पुजीगत खर्च कम, राष्ट्रिय गौरवका आयोजनाको नाम फेर्न सुझाव

बिजमाण्डू
२०७० फागुन २३ गते ००:०० | Mar 7, 2014

काठमाडौं । बजेट विनियोजनमै समस्या भएको कारण पुजीगत शीर्षकमा पर्याप्त रकम खर्च हुने नसकेको सरोकारवाला मन्त्रालयका अधिकारीहरुले दावी गरेका छन् । विनियोजित मध्ये पुजीगत खर्च कम मात्रै गर्नसक्ने मन्त्रालयका अधिकारीहरुले बजेट विनियोजन मै त्रुटि रहेको बताए । अर्थमन्त्रालयमा आयोजित ठूला आयोजनाको प्रगति समीक्षा बैठकमा भौतिक पुर्वाधार तथा यातायात र उर्जा मन्त्रालयका अधिकारीहरुले यस्तो बताएका हुन् ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौलाले बजेट निर्माण कै समयमा सडकको सबै पैसा खर्च नहुने थाहा भएपनि सन्तुलन मिलाउन बजेट विनियोजन गरिएको बताए । यो मन्त्रालय अन्तर्गत सञ्चालित हुलाकी सडक, मुग्लिन—नारायणघाट सडक र राजधानी भित्रैका केही सडक आयोजनामा पैसा खर्च हुन सकेको छैन । गत फागुन २२ गतेसम्म यो मन्त्रालयले कुल बार्षिक पुजीगत बजेटको २० प्रतिसत मात्रै खर्च गर्नसकेको छ । दातृ निकायबाट सोझै भुक्तानी भएको रकम समावेश नभएको कारण खर्च थोरै देखिएको मन्त्रालयका सचिव सिटौलाले बताएका छन् । हुलाकी सडकका लागि दुई अर्ब २१ विनियोजन गरिएकोमा २५ करोड ८८ लाख मात्रै खर्च भएको छ । त्यस्तै मुग्लिन—नारायणघाट सडक एक अर्ब २१ करोड रुपैयाँ विनियोजन भएकोमा पैसा खर्च भएकै छैन । यी बाहेक पनि धेरै सडक आयोजनामा पैसा खर्च नहुने अवस्था छ ।
सर्वाधिक चर्चामा रहने जलविद्यूत र ट्रान्समिसन आयोजनामा पनि निकै कम खर्च छ । १३२ केभी तथा अन्य ट्रान्समिसन आयोजनाका लागि विनियोजित ११ अर्ब रुपैयाँ मध्ये ३६ करोड रुपैयाँ मात्रै खर्च भएको छ । ‘१३२ केभी प्रसारण लाइनका लागि बजेट आवश्यक थिएन, नेपाल विद्यूत प्राधिकरण कार्यकारी निर्देशक अर्जुन कुमार कार्कीले भने, जहाँ बजेट मागिएको थियो त्यहाँ पैसा पाइएन ।’ कार्यकारी निर्देशक कार्कीले प्रशारण लाइन निर्माणमा निकै ठूलो समस्या भएकोले पैसा गर्न नसकिने बताए । हवाई यातायात क्षमता अभिबृद्धि, काठमाडौं उपत्यका खानेपानी सुधार, नेपाल भारत विद्यूत प्रसारणमा एक रुपैयाँ पनि बजेट खर्च भएको छैन ।
फागुन मसान्तसम्म जम्मा २० प्रतिसत मात्रै पुजीगत बजेट खर्च भएको छ ।  असारमा पानी पर्ने भएको कारण सडक र अन्य पुर्वाधार आयोजनामा काम गर्न असजिलो हुन्छ । चार महिनामा बाकी ८० प्रतिसत पुजीगत खर्च गर्नुपर्ने अवस्था छ ।
अर्थमन्त्री डा. रामशरण महतले विकासे मन्त्रालयका सचिवहरुलाई बजेट समयमै खर्च गर्न निर्देशन दिए । ‘सतप्रतिसत बजेट खर्च गर्ने योजना बनाउनुस, उनले भने, विगतमा ९८ प्रतिसतसम्म बजेट खर्च भएको उदाहरण छ । जथाभावी खर्च गरेर पैसा सक्ने मात्रै काम पनि नगर्नुस ।’ अर्थमन्त्रीले पैसा खर्च गर्नै नसक्ने आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा नराख्न सुझाव दिए । उनले सचिवहरुलाई थप पैसा मागेर अर्थमन्त्रालयमा पत्र नपठाउन पनि निर्देशन दिए । अर्थसचिव शान्तराज सुवेदीले वैशाख भित्रै रकमान्तर गरेर पैसा खर्च गर्न आग्रह गरे ।

Tata
GBIME
Nepal Life