लुम्बिनी बैंकको नाफा नौ प्रतिशतले बढ्यो, खुद नाफा छ करोड रुपैयाँ, समकक्षी बैंकहरुकोभन्दा कम

बिजमाण्डू
२०७० माघ २४ गते ००:०० | Feb 7, 2014
काठमाडौं। दोस्रो त्रैमाशमा लुम्बिनी बैंकको नाफा ९.२१ प्रतिशतले बढेर छ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा छ करोड २९ लाख रुपैयाँ थियो । बैंकको व्याज आम्दानीको वृद्धिदर सुस्त देखिएको छ । बैंकको खुद व्याज आम्दानी तीन प्रतिशतले बढेर २२ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।
बैंकको अन्य आम्दानी उल्लेख्य (१८ प्रतिशत) बढेपनि यो रकम जम्मा दुई करोड १३ लाख रुपैयाँ रहेको छ । बैंकको फि कमिसनबाट भएको आम्दानी ३५ प्रतिशतले बढेर एक करोड ४३ लाख पुगेको छ । बैंकले अघिल्लो पटक सम्भावित जोखिम व्यवस्थाबापत राखेको ८१ लाख रुपैयाँ फिर्ता गरेको छ । नाफा वृद्धि भएको हो । बैंकले बिदेशी मुद्राको बिनमयबाट ७८ लाख रुपैयाँ कमाएको छ । बैंकको सञ्चालन नाफा ८.३० प्रतिशतले बढेर आठ करोड ६८ लाख रुपैयाँ भएको छ । 
बैंकले यसपटक सम्भावित जोखिम वापतको व्यवस्थामा १० प्रतिशतले बढाएर सात करोड ९२ लाख रुपैयाँ छुट्याएको छ । बैंकको कर्जा निक्षेप अनुपात भने ७५.३३ बाट बढेर ७५.६३ मा भएको छ । बैंकको कर्जा ३१ प्रतिशतले बढेर ११ अर्ब चार करोड, निक्षेप ३६ प्रतिशतले बढेर १२ अर्ब ५४ करोड भएको छ । बिसं २०५५ सालबाट सञ्चालनमा आएको भएपनि लुम्बिनी बैंकको प्रगति दर सुस्त रहेको देखिन्छ । नयाँ बैंक सेन्चुरी बैंक (सञ्चालन मिती २०६७) को तुलनामा पनि बैंकको निक्षेप, कर्जा निकै कम रहेको छ । बैंकको नाफा पनि राम्रा बिकास बैंकहरुको तुलनामा कम रहेको छ ।   
बैंकको रियल स्टेट कर्जा ११ प्रतिशतले बढेको छ भने यो कुल कर्जाको १२ प्रतिशत छ । यो शिर्षकमा एक अर्ब ३३ करोड रहेको छ । बैंकले ओभरड्राफ्ट कर्जामा कुल कर्जाको ४६ प्रतिशत लगानी गरेको छ । बैंकको चुक्तापूँजी आठ प्रतिशतले बढेर एक अर्ब ७२ करोड पुगेको छ । बैंकले आठ प्रतिशत बोनस सेयर दिएको थियो ।  बैंक र मञ्जुश्री फाइनान्सबीच पनि मर्जरको प्रक्रिया अगाडी बढेको छ । बैंकको प्रतिसेयर आम्दानी ७.९४, मूल्य आम्दानी अनुपात ३५, प्रतिसेयर नेटवर्थ एक सय २९ रहेको छ । 
 
 

Tata
GBIME
Nepal Life