घर र गाडी कर्जा बढाउन प्रतिश्पर्धा, व्याज नौ प्रतिशतसम्म, तत्काल ब्याजदर नबढ्ने बैंकरको विश्वास

बिजमाण्डू
२०७० माघ ९ गते ००:०० | Jan 23, 2014
घर र गाडी कर्जा बढाउन प्रतिश्पर्धा, व्याज नौ प्रतिशतसम्म, तत्काल ब्याजदर नबढ्ने बैंकरको विश्वास
काठमाडौं । निक्षेपमा भएको वृद्धि अनुपातमा कर्जाको माग नबढ्दा बैंकहरुले बचतकर्तालाई ब्याज दिनुपर्ने दायित्व थपिंदै गएको छ । यही कारण व्यवसायीक क्षेत्रबाट कर्जाको माग नभएपछि घर, गाडी जस्ता उपभोक्ता कर्जा बढाउन बैंकवीच प्रतिश्पर्धा चलेको छ ।
अहिले अधिकांश बैंकले उपभोक्ता कर्जालाई प्राथमिकताका साथ प्रचार गरि रहेका छन् । घर तथा गाडी किन्ने ऋण १० प्रतिशत हाराहारी पाइने सार्वजनिक जानकारी दिए पनि बैंकले सहमतिमा नौ प्रतिशतसम्म यस्तो कर्जा प्रवाह गरेका छन् । घर र सवारी साधन कर्जाको ब्याजदर न्युन बिन्दुमा झार्नेमा हिमालयन बैंक अघि छ । उसले विषेश अफरका रुपमा  घर कर्जा नौ प्रतिशत र सवारी साधन कर्जा साढे नौ प्रतिशतमा दिँदै आएको छ ।
हिमालयनले सार्वजनिक रुपमै ब्याजदर घटाए पछि अन्य बैंकलाई पनि व्याज घटाउन दबाव परेको छ । केहि समय अघिसम्म उत्सव अफर योजना भनेर घर र गाडी कर्जाको स्किम नै चलाएको एभरेष्ट बैंकले त्यो योजना सकिएपछि ब्याजदर अझ घटाएको छ । योजना अवधिमा नौ दशमलव ४५ प्रतिशतको दरमा हाउजिङ र नौ दशमलव ९५ प्रतिशतले सवारी कर्जा दिएको बैंकले अहिले दुबै कर्जाको दर नौ प्रतिशत तोकेको छ । 
योजना अवधिमा दुई अर्ब ३० करोड रुपैयाँ उपभोक्ता कर्जा माग भएकोमा एक अर्ब ८५ करोड बराबर प्रदान गरेको बैंक स्रोतले जानकारी दियो । सवारी कर्जा भने जुनसुकै गाडीलाई नदिइ स्थापित ब्रान्डलाई मात्र दिने बैंकको योजना छ । 
कम्तिमा चालु आर्थिक बर्ष भर ब्याजदर बढ्ने संकेत नदेखेका अरु बैंक पनि यो दर घटाउने तयारीमा छन् । अहिले घर तथा गाडी दुबै किन्न १० प्रतिशतमा ऋण दिँदै आएको नविल बैंकले आउँदो साताबाट घटाउने तयारी गरेको स्रोतले जानकारी दियो । 
अहिले मुलुकको औषत मुल्यबृद्धि समेत १० प्रतिशतको नजिक छ । त्यतिमै घर तथा गाडी किन्न ऋण पाउँदा अझ मुद्रास्फिती बढ्ने डर हुन्छ । नेपाल बैंकर्स संघका उपाध्यक्ष एबं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल अहिले ब्याजदर अर्थतन्त्रलाई सुहाउने अवस्थामा नआए पनि तत्काल बढ्ने आधार नभएको बताउँछन् । 
‘देशको समग्र अर्थतन्त्र ३÷४ प्रतिशतले मात्र बढेको बेला बैंकको ब्याजदर माथि जाने आधार देखिँदैन’ उनको भनाइ छ । यस्तोमा निक्षेपको ब्याज मात्र तिरेर त्यसै राख्नुको साटो उपभोक्ता कर्जातर्फ बैंकहरु आकर्षित भएको उनी बताउँछन् । एनएमबीले पनि घर तथा गाडी किन्न १० प्रतिशतकै आसपासमा कर्जा दिँदै आएको छ ।
ब्याजदर माथि चढ्ने संकेत नदेखिए पछि नयाँ कर्जा मात्र होइन पहिले दिएको ऋणको समेत ब्याज घटाउने तरखरमा रहेको बैंकर बताउँछन् । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह आफुले भने ठूला व्यवसायीक ऋणको माग नभएकौ मौका पारेर साना तथा मझौला व्यवसाय कर्जामा जोड दिएको बताउँछन् । ‘देशको अर्थतन्त्र सुस्त भए पनि सटर लिएर पसल खोल्न, मोटर साईकलको वर्कशप खोल्न वा मम पसल जस्ता मध्यम लगानीका व्यवसाय रोकिएका छैनन्’ उनी भन्छन् ‘यस्तो कर्जा उपभोक्ता कर्जा भन्दा स्तर र आकार दुबैमा माथि हुने भएकाले हामीले त्यसतर्फ जोड दिएका छौं ।’ मेगाले साना तथा मझौला कर्जाको ब्याजदर साढे ९ प्रतिशत तोकेको छ भने घर र सवारी साधान कर्जा १० प्रतिशतभन्दा माथि मात्र उपलब्ध गराउने शाहको दाबी छ । 
२०६२÷०६३ को जनआन्दोलन पछि अहिले जस्तै निक्षेप बढ्ने र कर्जाको माग नहुने अवस्था आएको थियो । त्यसपछि उपभोक्ता कर्जा धमाधम बढाएका बैंकले २०६६ पुसदेखि भने घर जग्गामा देखिएको मन्दीले निरन्तर तरलता अभाव खेप्नु परेको थियो । 
हरेक बर्ष केहि महिना सहज तरलता र केहि महिना लगानी योग्य रकमको अभाव खेप्न बानी परेका बैंकहरु चालु आर्थिक बर्षको सुरु देखि नै अधिक तरलतामा छन् । त्यसैले उनीहरु नियमित मासिक आमदानी हुने सरकारी तथा निजी क्षेत्रका कर्मचारीलाई उपभोक्ता कर्जामा आकर्षित गर्न ब्याजदर घटाउने प्रतिश्पर्धामा लागेका हुन् ।
तत्काललाई सस्तो ब्याजमा मात्र लोभिएर उपभोक्ता कर्जाले लिनेले अनावश्यक तनाव झेल्नु परेको विगतको अनुभव छ । सहज तरलता भएका बेला नौ प्रतिशतमा घरकर्जा लिनेहरुको ब्याजदर १५ प्रतिशतसम्म पुगेको थियो । 
मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत शाह बार्षिक मुद्दती निक्षेपको ब्याजदर देशको मुद्रास्फिती दरभन्दा केहि माथि रहेमा वित्तिय प्रणाली प्राकृतिक ढंगले चल्ने भए पनि यो आर्थिक वर्षमा त्यस्तो संकेत नदेखिएको बताउँछन् । ‘हामीकहाँ उद्योगीले ब्याज महङ्गो भएर लगानी नगरेको होइन, वातावरण नभएर हो त्यसैले लगानीको वातावरणमा सुधार नहुन्जेल प्राकृतिक ढंगले ब्याजदर तय हुन सक्दैन’ उनको भनाइ छ ।
दुई साता अघिको तथ्याङ्कअनुसार बाणिज्य बैंकहरुसँग १० खर्ब ९३ अर्ब निक्षेप र आठ खर्ब दुई अर्ब कर्जा रहेको छ । यो आँकडा अनुसार २० प्रतिशत तरलता व्यवस्थापन पछि बैंकहरुले थप ७५ अर्बभन्दा बढि कर्जा प्रवाह गर्न सक्छन् । बजारको अधिक तरलता खिच्न नेपाल राष्ट्र बैंकले समेत चालु आर्थिक बर्षमा ११ पटक रिभर्स रिपो जारी गरि सकेको छ ।

Tata
GBIME
Nepal Life