
काठमाडौं । बेलायती ‘ग्यापएअर’(यसको परिभाषा तल हेर्नुहोस्) पर्यटकका लागि विश्वमा नेपाल पनि एउटा उत्तम छनोट हो । यो तर्क हाम्रो होइन, यो तर्क हो, यात्रामा पैसाको व्यवस्थापन सम्वन्धी विशेषज्ञ कम्पनी मनी कर्प र यात्रा सुझाव दिने कम्पनी ग्यापएअर डटकमको । यसबाहेक उनीहरुका लागि ब्राजिल, भारत र दक्षिण अफ्रिका पनि उत्तम छनोट हुनसक्छ ।
नेपालमा ट्रेक गर्नेहरु र दक्षिणपूर्वी एशियामा बनाना प्यानकेक ट्रायलमा यात्रा गर्नेहरु ग्यापएअर पर्यटक हुन्
फेरी यी चार स्थान छनोटको मुल कारण हो, पाउण्डको मूल्य । नेपाल, भारत, दक्षिण अफ्रिका र ब्राजिलमा पाउण्डको मूल्य अधिमूल्यन भएको छ भने स्थानीय मुद्रा अवमूल्यन भएको छ ।
जस्तो गतवर्ष ब्राजिलमा पाँच सय पाउण्ड साट्दा जति ब्राजिलीयन मुद्रा रिल प्राप्त हुन्थ्यो, अहिले त्यति प्राप्त गर्न जम्मा ३७० पाउण्ड साटे पुग्छ । नेपालको अवस्था पनि त्यस्तै छ, जस्तो गतवर्ष पाँच सय पाउण्ड साट्दा ५७ हजार पाँचसय रुपैयाँ प्राप्त हुन्थ्यो, अहिले त्यही पाउण्ड साट्दा मनीचेञ्जरले ७० हजार नेपाली रुपैयाँ दिन्छ । ठीक एक वर्ष अघिको तुलनामा ब्राजिलमा पाउण्ड २६ प्रतिशतले अधिमूल्यन भएको छ, भारतमा २२, नेपालमा २१ र दक्षिण अफ्रिकामा १८ प्रतिशतले अधिमूल्यन भएको छ ।
पाउण्ड कहाँ कति भयो महँगो
पाउण्ड बोकेर हिंड्ने ग्यापएअर पर्यटकका लागि अमेरिका र अष्ट्रेलिया महँगो सावित भएका छन् । अमेरिकी डलरको तुलनामा पाउण्ड चार दशमलव चार प्रतिशतले र न्युजिल्याण्ड डलर तीन दशमलव आठ प्रतिशतले अवमूल्यन भएको छ । ग्यापएअर पर्यटकको सबैभन्दा पुरानो किल्ला दक्षिण अमेरिकाको माचुपिचु भने महँगो भएको छ । माचुपिचुको पेरुभिया सोल पाउण्डको तुलनामा सात प्रतिसतले महँगो भएको छ । ग्यापएअरका लागि सबैभन्दा लोकप्रिय रहेको अष्ट्रेलियामा भने गतवर्ष र यो वर्ष ठीकठाक परिवर्तन भएको छ । अर्थात पाउण्डको तुलनामा अष्टे«लियन डलर शुन्य दशमलव शुन्य तीन प्रतिशतले महँगो भएको छ ।
ब्राजिलमा साम्बा हेर्नु सबैभन्दा फाइदा
ग्यापएअर डटकमको यो तथ्यांकले पर्यटकलाई कुन देश जाँदा फाइदा हुन्छ र कुन देश जाँदा घाटा हुन्छ भन्ने तथ्यलाई राम्रोसँग राखेको छ । ग्यापएअर पर्यटन बेलायतीहरुका लागि सबैभन्दा लोकप्रिय छ । ग्यापएअर डटकमका अनुसार आगामी केही महिनामा साढे दुईलाख यस्ता पर्यटक घुम्न निस्कन्छन् । र उनीहरुको औषत घुमाई अवधि छदेखि नौ महिनाको हुनेछ । यो अवधिमा उनीहरुको ठूलो हिस्सा मुख्य दश देशमा जानेछ ।
रमाइलो त के छ भने ग्यापएअर अब विद्यार्थीका लागि मात्र लोकप्रिय रहेन्, यसपहिले जो विद्यार्थी विद्यालय जीवन समाप्त भएको छ र कलेज जीवन सुरु भएको छैन त्यस्ता विद्यार्थीवीच लोकप्रिय थियो । तर पछिल्ला केही वर्षमा जागिर, व्यापार सुरु गरेका मान्छे पनि छुट्टी लिएर, कामको थकाई मेटाउने गरी वश्व घुम्न हिंडन थालेका छन् ।
को हुन् ग्यापएअर
ग्यापएअर पर्यटक थोरै बजेटमा लामो यात्रामा निस्कने पर्यटक हुन् । ग्यापएअर अन्र्तगत व्याकप्याकिङ पर्यटक आउँछन्, एउटा जागिर खाएर अर्को जागिरको तयारी गर्नेहरु यात्रामा निस्किए उनीहरु पनि ग्यापएअर पर्यटक हुन्छन् ।
ग्यापएअर पर्यटकहरु विदेशमा यात्रा गर्छन, समाजसेवा गर्छन, इन्र्टनसिप गर्छन र विदेशमा कामको अनुभव पनि लिन्छन् । बेलिजमा बालगृहमा काम गर्न चाहनेहरु, इजरायलमा विदेशी भाषा पढाउनेहरु, नेपालमा ट्रेक गर्नेहरु र दक्षिणपूर्वी एशियामा बनाना प्यानकेक ट्रायलमा यात्रा गर्नेहरु ग्यापएअर पर्यटक हुन् । बेलायतीहरु माझ ग्यापएअर पर्यटन निक्कै लोकप्रिय छ, उनीहरु त्यसका लागि अष्ट्रेलिया जान्छन्, न्युजिल्याण्ड पुग्छन् र थाइल्याण्ड पनि घुम्छन् तर पछिल्लो दिनहरुमा अमेरिकीहरुलाई पनि यो यात्राको लत लाग्दै गएको छ । डेलीमेलको सहयोगमा