काठमाडौं । माथिल्लो तामाकोसीका लागि १० अर्ब ५९ करोड रुपैयाँको आइपिओ यही वर्ष ल्याउने तयारी भैरहँदा अर्को जलविद्युत कम्पनी कावेली पावर लिमिटेडले १ अर्ब ११ करोड सेयर निस्कासन गर्ने भएको छ । २५ मेगावाटको कावेली–बि–१ जलविद्युत् आयोजना निर्माणका लागि पैसा जुटाउन कम्पनीले सेयर जारी गर्न लागेको हो ।
आयोजनामा संस्थापकहरुले न्युनतम एक लाख रुपैयाँदेखि अधिकतम एक करोड रुपैयाँसम्मको सेयर खरीद गर्न पाउने छन् । स्थानीय वासिन्दाले १० प्रतिशत अर्थात ११ करोड १० लाख रुपैयाँको सेयर पाउने छन् । आयोजनाको निर्माण लागत ३ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लागतमध्ये बैंक तथा वित्तीय संस्थाले ७० प्रतिशत ऋण लगानी गर्ने छन् । वाँकी लगानी संस्थापक प्रवद्र्धक र सर्वसाधारणबाट जुटाइने छ ।
कम्पनीमा प्रवद्र्धकका तर्फबाट अरुणभ्याली हाइड्रो पावर कम्पनी, अरुण कावेलीका रणनीतिक साझेदारले लगानी गर्ने छन् । यसवाहेक सर्वसाधारणको लगानी हुने छ । आयोजनाबाट नेपाल विद्युत प्राधिकरणले वर्षको ८ महिना प्रति युनिट ४ रुपैयाँ ८० पैसामा विजुली खरीद गर्ने सम्झौता गरेको छ । वाँकी चार महिनाको विजुली भने ८ रुपैयाँ ४० पैसाका दरले किन्ने छ । २०७३ भित्र विजुली उत्पादन गर्ने गरी आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाले विद्युत उत्पादन गरेको वर्षदेखि नै नाफाबाट २७ प्रतिशतका दरले लाभांस वाँड्न सक्ने दावी कम्पनीको छ ।
