अमेरिकाको बृद्धिदर साढे एक प्रतिशत, उपभोक्ताले खर्च घटाए, शेयर बजारमा उत्साह

बिजमाण्डू
२०६९ साउन १४ गते ००:०० | Jul 29, 2012

न्यूयोर्क । उपभोक्ता खर्च घटेका कारण अमेरिकी अर्थतन्त्र २०१२ को दोस्रो त्रैमासमा केहि सुस्ताएको छ । अघिल्लो त्रैमासमा वार्षिक दुई प्रतिशतका दरले वृद्धि देखिएको विश्वकै ठुलो अर्थतन्त्र दोस्रो त्रैमासमा साढे एक प्रतिशतले विस्तार भएको छ ।
अपेक्षाभन्दा वृद्धि बढी भएको तथ्यांक सार्वजनिक भएका कारण अमेरिकी सेयर बजारमा राम्रै बृद्धि देखिएको हो । तथ्यांक सार्वजनिक भएपछिको पहिलो दिन डाउ जोन्स इन्डस्ट्रियल इण्डेक्स साढे एक प्रतिशतले माथि चढेदै १३,०७६ अंकमा आएको छ । डाउ जोन्सको यो स्तर मे महिना यता कै उच्च हो ।
जर्मन चान्सलर एंजेला मर्केल र फ्रान्सका राष्ट्रपनि फ्रान्कोईस होल्याण्डको युरो जोगाउने प्रतिवद्धता सहितको सामूहिक विज्ञप्तिले पनि शेयर बजारमा सकारात्मक प्रभाव पारेको हो ।
आर्थिक बृद्धिमा देखिएको मुख्य कारकको रुपमा रहेको उपभोक्ता खर्च दोस्रो त्रैमासमा साढे एक प्रतिशतले मात्रै बढेको छ । पहिलो त्रैमासमा उपभोक्ता खर्च २.४ प्रतिशतले बढेको थियो । यसैगरी आयातमा भएको बृद्धि पनि आर्थिक सुस्तताको कारक भएको अमेरिकी बाणिज्य विभागको भनाई छ ।
दोस्रो त्रैमासमा अमेरिकाको निर्यात भने अघिल्लो त्रैमासको ४.४ प्रतिशतभन्दाबढी ५.३ प्रतिशतले बढेको छ । अमेरिकी अर्थतन्त्रमा देखिएको सुस्तताले वर्तमान राष्ट्रपति ओबामाको भविष्यमा चिन्ता थपिएको विश्लेषकहरुको तर्क छ ।
बृद्धिदर सुस्त हुँदा वेरोजगारी दर घटदैन भने यही बढदो बेरोजगारी दरले ओबामालाई नोमेम्बरमा हुने चुनाबमा हराउन पनि सक्ने उनीहरुको तर्क छ । गत महिना मात्रै अ‍ेमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले सन् २०१२ को प्रक्षेपित बृद्धिदर अघिल्लो अनुमान २.९ प्रतिसतबाट घटाएर २.४ प्रतिशतमा झारेको थियो ।

Tata
GBIME
Nepal Life