
काठमाडौं । रिलायवल फाइनान्सको झण्डै पाँच प्रतिशत संस्थापक सेयर आइतवार विक्री भएको छ । २४ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सको आइतवार नेपाल स्टकमा एक लाख ३० हजार ८३५ कित्ता सेयर विक्री भएको हो । यो सेयर प्रतिकित्ता १०१ रुपैयाँमा विक्री भएको छ । यो सेयर एक करोड ३२ लाख १४ हजार रुपैयाँमा वृक्रि भएको हो ।
फाइनान्सले यसै साता पुँजी वृद्धिका लागि हकप्रद सेयर दिने निर्णय पनि गरेको छ । फाइनान्सले दुई बराबर एक हकप्रद सेयर जारी गर्नका लागि असार २० गते विशेष साधारणसभा बोलाउने निर्णय गरेको छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी १२ करोड रुपैयाँले वृद्धि हुनेछ ।
नेपाल स्टकको पछिल्लो कारोवारमा फाइनान्सको प्रतिकित्ता ११६ रुपैयाँमा सेयर खरिद विक्री भएको छ । दुई अर्ब निक्षेप संकलन गरेको फाइनान्सले चैत मसान्तको त्रैमासमा दुई करोड रुपैयाँ मुनाफा गरेको छ । फाइनान्सले एक अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गरेको छ । फाइनान्समा घरजग्गा कारोवारी, रेमिट्यान्स व्यापारमा संलग्न लगानीकर्ताहरुको लगानी छ । गत आर्थिक वर्षको नाफाबाट फाइनान्सले सेयरधनीलाई ८.८६ प्रतिशत नगद लाभांस र ८.४१ प्रतिशत बोनस सेयर दिएको थिया ।
स्टक भने घट्यो
साताको पहिलो दिन नेपाल स्टक थप तल झर्यो, नेप्से तीन सातादेखि ओरालो झरिरहेको छ । आइतवार ०.९२ अंकले तल झरेपछि नेप्से ४८७.५३ अंकमा बन्द भयो । ट्रेडिङ्ग र फाइनान्स समूहको सूचकमा सामान्य वृद्धि भयो, बैंक, विकास बैंक, जलविद्युत, इन्सुरेन्स र अन्य समूहको सूचक भने तल झरे ।
बिशाल बजारको सेयर ३४ रुपैयाँ बढेर प्रतिकित्ता १८३३ मा कारोवार भयो भने बैंक अफ काठमाण्डूको सेयर पनि १२ रुपैयाँ बढेर ५४७ मा आइपुग्यो । नागरिक लगानी कोषको सेयर १५ रुपैयाँ बढेर १५५० मा, एभरेष्ट बैंकको १४ रुपैयाँ बढेर १५२९ मा कारोवार भयो ।
लाइफ इन्सुरेन्स कम्पनीको १० रुपैयाँ घटेर ११७० मा, नेपाल लाइफ इन्सुरेन्सको १३ रुपैयाँ घटेर १३०५ मा, शिखर इन्सुरेन्सको २८ रुपैयाँ बढेर ३८४ मा कारोवार भयो । स्वरोजगार विकास बैंकको पनि १६ रुपैयाँ बढेर १८४ मा पुग्यो ।
छ करोडको कारोवार
आइतवार स्टकमा पाँच करोड ८४ लाख रुपैयाँको कारोवार भयो, सबैभन्दा बढी रिलायबल फाइनान्सको मात्रै एक करोड ३४ लाख रुपैयाँको कारोवार भयो । आइतवार पाँच लाख ६६ हजार ७६६ कित्ता सेयरको कारोवार भएको छ ।