भ्रम छर्दै सरकार, मट्टितेलमा भ्याट होइन, भ्याट छुटको सूचीबाट मट्टितेललाई हटाइयो

बिजमाण्डू
२०६९ साउन १२ गते ००:०० | Jul 27, 2012
भ्रम छर्दै सरकार, मट्टितेलमा भ्याट होइन, भ्याट छुटको सूचीबाट मट्टितेललाई हटाइयो


काठमाडौं । भ्याट लाग्दै नलाग्ने मट्टितेलबाट भ्याट हटाएको घोषणा सरकारले गरेको छ तर यथार्थमा सरकारले आगामी आर्थिक वर्षदेखि मट्टितेलमा भ्याट लाग्ने गरी शुक्रवारको मन्त्रिपरिषद्बाट भूमिका बनाएको छ । शुक्रवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मूल्य अभिवृद्धि कर ऐन २०५३ को अनुसूची १ को द्रष्टव्य नम्वर ३ बमोजिम २०६९/७० का लागि निर्णय मितिदेखि मट्टितेलमा लगाउँदै आएको भ्याट हटेको जानकारी दिएको हो ।
मूल्य अभिवृद्धि कर ऐन २०५३ को अनुसूची १ मा भ्याट छुट हुने वस्तू तथा सेवाहरुको सूची छ । यही सूचीमा मट्टितेललाई भ्याट नलाग्ने सूचीमा राखिएको छ र यही बमोजिम भ्याट व्यवस्था सुरु भएयता मट्टितेलमा भ्याट लगाइएको पनि छैन् । अनुसुची १ मूल्य अभिवृद्धि कर ऐन २०५३ को दफा ५ को उपदफा ३ सँग सम्वन्धित छ ।
दफा ५ को उपदफा ३ मा ‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची –१ मा उल्लेखित वस्तु तथा सेवाहरुको कारोवारमा कर लाग्ने छैन’ भनेर प्रष्टसँग लेखिएको छ । यही व्यवस्थाका लागि तयार गरिएको अनुसूची १ को द्रष्टव्य ३ मा आधारभूत आवश्यकताका वस्तुहरु अन्र्तगत राखेर अप्रशोधित तोरीको तेल, धारा तथा ट्याक्रबाट खुला रुपमा आपूर्ती हुने पिउने पानी, दाउरा, गोल मट्टितेल (हवाई इन्धनबाहेक) र नूनलाई राखिएको छ ।
मट्टितेलबाट भ्याट हटेको भ्रम दिएर सरकारले सर्वसाधरणका लागि राहात दिए जस्तो सन्देश दिइए पनि यथार्थमा अर्को आर्थिक वर्षदेखि न्युनस्तरका ग्रामिण नेपालीले उपभोग गर्ने मट्टितेलमा पनि भ्याट थोपर्ने प्रयास गरिएको छ ।
नेपाल आयल निगमले भने मट्टितेललाई पहिले नै भ्याटको सूचीबाट हटाइएको जानकारी दिंदै शुक्रवारको निर्णयबाट कुनै पनि असर नपर्ने जानकारी दिएको छ । सरकारले अहिले प्रतिलिटर मट्टितेलमा दुई रुपैयाँ चार पैसा कर लिंदै आएको छ, यो भ्याट नभएर प्रदुषण र भन्सार शुल्क हो । अहिले मट्टितेलको मूल्य ९३ रुपैयाँ तोकिएको छ, मट्टितेलमा भ्याट लगाए सर्वसाधरणले अहिलेको मूल्यमा १२ रुपैयाँ थप तिर्नुपर्दछ ।
भ्याट नलगाएकै कारण प्रतिलिटर मट्टितेलबाट निगमलाई १२ रुपैयाँ ८० पैसा नाफा छ । मट्टितेलभन्दा एक रुपैयाँ ८० पैसा खरिद मूल्य बढी पर्ने डिजेलमा भने भ्याटसहित अन्य कर गरेर १५ रुपैयाँ २४ पैसा कर लगाइएको छ । यही करका कारण निगमलाई प्रतिलिटर डिजेलमा एक रुपैयाँ ८६ पैसा घाटा छ । करकै कारण डिजेलमा निगमलाई मासिक १२ करोड नौ लाख रुपैयाँ घाटा छ ।
निगमलाई अर्को सबैभन्दा बढी घाटा भैरहेको खाना पकाउने ग्याँस हो । ग्याँसमा सरकारले प्रति सिलिण्डर भ्याट र अन्य कर गरेर २२८ रुपैयाँ लिन्छ । यसले निगमलाई मासिक ४३ करोड १६ लाख रुपैयाँ घाटा हुन्छ । निगमलाई प्रतिसिलिण्डर ग्याँसमा ३५९ रुपैयाँ घाटा छ ।
यसैवीच शुक्रवारको बैठकले संविधान सभा चुनावसम्वन्धी दुई अध्यादेश राष्ट्रपतिलाई सिफारिश गर्न मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ भने बैठकले नेपाली सेनाका महासेनानी गौरव तुन्डललाई सहायक रथी र प्रमुख सेनानीहरु विनयविक्रम राणा र मीनध्वज खड्कालाई महासेनानीमा बढुवा गरेको छ ।

Tata
GBIME
Nepal Life