चन्दाका विषयमा विद्यार्थीसँग व्यवसायीको छलफल, स्वेच्छिक रुपमा लिने विद्यार्थीको प्रतिवद्धता

बिजमाण्डू
२०७० जेठ २१ गते ००:०० | Jun 4, 2013

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले चन्दा आतंक, बन्द हड्ताल, स्थगित स्ववियु निर्वाचन लगायत नेपालको शैक्षिक वातावरण र गुणस्तर सम्बन्धमा विभिन्न दल सम्वद्ध विद्यार्थी संगठनका पदाधिकारीहरुसंग अन्तरक्रिया गरेको छ । कार्यक्रममा प्रमुख दल लगायत विभिन्न दल सम्वद्ध विद्यार्थी संगठनका नेताहरुले आर्थिक सहयोग चन्दा स्वेच्छिक रुपमा मात्र लिने प्रतिवद्धता जनाएका छन् । डर त्रास धम्कीबाट चन्दा नदिन आग्रह गर्दै अनुचित दवाव आएमा केन्द्रिय नेतृत्वलाई जानकारी गराउन आग्रह गरेका छन् ।
सहयोगलाई संस्थागत रुपमा गर्ने, चेकबाट कारोवार गर्ने र चन्दासंग सम्बन्धित समस्या समाधानका लागि संयन्त्र निर्माण गरी सहकार्य गर्ने सहमति पनि उनीहरुले जनाए । त्यसैगरी विद्यार्थीहरुले आपसी समझदारीद्वारा स्थगित निर्वाचनलाई यथासिघ्र अनुकूल वातावरण बनाई स्वच्छ र शान्तिपूर्ण ढंगले निर्वाचन गराउने पनि प्रतिबद्धता जनाए ।

कार्यक्रममा स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं एनबीआईका अध्यक्ष पद्य ज्योतिले विद्यार्थी नेताहरुलाई आन्दोलन, चन्दा, बन्द हडताल जस्ता विध्वंसात्मक गतिविधिको अन्त्य गरीे राष्ट निर्माणमा रचनात्मक योगदान पुर्याउन आग्रह गरे । युवाहरुको काँधमा मुलुकको भविष्य निर्माणको महत्वपूर्ण जिम्मेवारी हुने भएकोले राष्ट्रिय राजनितिले सही गन्तव्य लिन नसकिरहेको अवस्थामा विद्यार्थी नेतृत्वले परिपक्वता प्रदर्शन गर्नुपर्ने वताए । स्ववियु निर्वाचन स्वच्छ र पारदर्शीरुपमा सम्पन्न गरी राष्ट्रिय निर्वाचनलाई सन्देश दिनसक्नु पर्ने उनको भनाई थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले चन्दा आतंक, फर्जी विद्यार्थी भर्ना, बन्दका कार्यक्रमहरुको घोषणा लगायतलाई इंगित गर्दै स्ववियु चुनावको दौरान बाहिर आएका विभिन्न किसिमका चर्चा परिचर्चाले निजी क्षेत्र चिन्तीत रहेको बताउँदै औद्योगिक व्यवसायिक वातावरण विग्रदै गएको अवस्थामा चन्दा आतंकले निजी क्षेत्र थप मर्माहत भएकोले विद्यार्थी नेतृत्व जिम्मेवार हुनुपर्ने र सम्वाद र सहकार्यबाट समस्याको हल खोजिनुपर्नेमा जोड दिए  ।
पहलका महासचिव तथा नेपाल चेम्बरका निवर्तमान अध्यक्ष सुरेन्द्रवीर मालाकारले विद्यार्थी संगठन मात्र नभई राजनीतिक दलका दर्जनौं भातृसंगठनको चन्दाको चेपुवामा निजी क्षेत्र फसेको र राष्ट्रिय चुनावको तयारी संगसंगै राजनीतिक दलहरुले पनि ठूलो संख्याको रकम माग गर्न शुरु गरेको बताए ।
अन्तराष्ट्रिय मान्यताको अनुशरण गरि राष्ट्रिय निर्वाचनमा राजनीतिक दलले गर्ने खर्चका लागि राज्य कोषबाट केही अनुदानको रुपमा उपलब्ध गराएमा निजी क्षेत्रलाई कम चाप पर्ने उनले बताए । विद्यार्थीहरुले निर्वाचनका दौरान व्यवसायीहरुसंग चन्दा संकलन गर्दा डर, त्राश, धम्कीको बाटो त्यागेर विवेकपूर्ण ढंगबाट चुनावी प्रचारप्रसारमा लाग्न सुझाव दिँदै इतिहास मै पहिलो पल्ट निजी क्षेत्र र राष्ट्रिय विद्यार्थी संगठनका नेतृत्व तहबीच भएको यस किसिमको संवादबाट समस्याको हल खोजी भविष्यका लागि उदयमान अर्थतन्त्र बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
हिस्सानका केन्द्रीय अध्यक्ष उमेश श्रेष्ठ, प्याव्सनका सल्लाहकार एवं व्यवासायी राजेश खडका, औषधि व्यवसायी संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठ लगायतका उद्यमी व्यवसायीले जवरजस्ती र धम्कीपूर्ण रुपमा चन्दा माग गरिने परम्परा अविलम्व अन्त्य हुनुपर्ने र स्वेच्छिक रुपमा सहयोग गर्ने वातावरण निर्माण हुनुपर्ने वताउदै सहयोग रकम कम्पनीको वासलातमा देखाउन नपाईने कानुनी व्यवस्थाले उद्यमी व्यवसायी थप मारमा परेको वताए ।
कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष हिमाल शर्माले स्ववियु चुनाव स्थगित हुनु दुखद भएको बताउँदै सबै विद्यार्थी संगठनहरु मिलेर यसलाई शान्तिपूर्ण रुपमा टुङ्गोमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।  त्यसैगरी अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले आफ्नो संगठनबाट चन्दाको लागी अनुचित दबाब नदिएको दाबी गर्दै कसैले त्यसो गरेको भए व्यवसायीहरुलाई सार्वजनिक गर्न चुनौती दिए । नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जीत कर्णले धम्की र दबाब सिर्जना गर्ने व्यक्तिहरुलाई व्यवसायीले चन्दा दिएको कारणले नै यो समस्या सिर्जना भएको बताए । कार्यक्रममा अखिल छैठौंका घनश्याम न्यौपाने, अग्रगामी विद्यार्थी संगठनका शैलेश लामा, तराई मधेस विद्यार्थी फोरमका मनिस मिश्र लगतायत करिब एक दर्जन विद्यार्थी संगठनका नेताहरुको उपस्थिति थियो ।

Tata
GBIME