इनभेष्टमेन्ट बैंकले एनएलआईसीएलको झण्डै छ प्रतिशत सेयर हिस्सा किन्यो, साढे १४ करोड लगानी

बिजमाण्डू
२०७० जेठ १६ गते ००:०० | May 30, 2013

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले नेशनल लाइफ इन्सुरेन्स कम्पनी(एनएलआईसीएल)को दुई लाख ९० हजार कित्ता सेयर खरिद गरेको छ । ५० करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीमा बैंकको यो झण्डै छ प्रतिशत सेयर हिस्सा हो । इन्भेष्टमेन्ट बैंकले इन्सुरेन्स कम्पनीको सेयर खरिद गरेको जानकारी दिएको छ ।  एनएलआईसीएलको साधारण सेयरको मूल्य बिहिवार झण्डै चार प्रतिशतले बढेर प्रतिकित्ता ५३१ रुपैयाँमा कारोवार बन्द भएको थियो । बैंकले प्रतिकित्ता पाँच सय रूपैयाँमा कम्पनीको सेयर खरिद गरेको हो । स्टकको फ्लोरसिटअनुसार बैंकले बिहिवार २६ लाख ३६ हजार ४४ कित्ता सेयर खरिद गरेको छ । दुई लाख ९० हजार कित्ता सेयरको मूल्य पाँच सय रूपैयाँमा खरिद गर्दा १४ करोड ५० लाख रूपैयाँ पर्दछ । एनएलआईसीएलको सेयर खरिदले बैंकको आम्दानीको विविधिकरणमा मद्दत गर्नेछ, इन्भेष्टमेन्ट बैंकले बिहिवार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैंकले पछिल्लो एक दशकदेखि सवल वित्तीय विवरण प्रस्तुत गरेको र चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एक अर्ब ३४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी पनि दिइएको छ । ४२ शाखा कार्यालय भएको इन्भेष्टेमेन्ट बैंकका देशभर ७० एटिएम नेटवर्क सञ्जाल छन् । नेशनल लाईफ इन्सुरेन्स कम्पनी सन् १९९८ मा नेशनल लाइफ एण्ड जनरल इन्सुरेन्स कम्पनीको रुपमा स्थापना भएको थियो । कम्पनीको निर्जीविन बिमा व्यवसायलाई छुट्टयाएर जनरल इन्सुरेन्स कम्पनी गठन गरिएको छ । यो कम्पनीले हालै मात्रै सर्वसाधारणबाट छ करोड ७५ लाख रुपैयाँ उठाएको थियो ।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा नौ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको थियो । कम्पनीले मुनाफाबाट २५ प्रतिशत सेयर लाभांस दिएपछि कम्पनीको चुकता पुँजी ५० करोड नाघेको हो । बीमा समितिले २०७० असार भित्र जीवन बीमा कम्पनीलाई चुक्ता पुँजी ५० करोड र र्निजीवन बीमा कम्पनीको चुक्ता पुँजी २५ करोड पुर्याउन निर्देशन दिएको छ ।
नेशनल लाइफ इन्सुरेन्समा शिद्धेश्वरकुमार सिंहका नाममा १४.४७ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकसँग १० प्रतिशत, रणबहादुर शाहाको नाममा ५.३५ प्रतिशत, रिता मल्लको नाममा ४.४५ प्रतिशत, प्रेमाराज्य लक्ष्मी सिंहको नाममा २.८४, इश्वरी रिमालको नाममा २.२९ प्रतिशत, स्लिक कोटको नाममा २.१५ प्रतिशत सेयर हिस्सा छ । कम्पनीको ३५ प्रतिशत सेयर हिस्सा सर्वसाधरणमा छ । अघिल्लो वर्ष संस्थापकहरु तेजस्वी राज्यलक्ष्मी राणाले आफूसँग भएको ८.१५ प्रतिशत र सिद्धेश्वरकुमार सिंहले झण्डै डेढ प्रतिशत सेयर विक्री गरेका थिए । यो सेयरमध्ये केही भारती गुरुङ्ग र केही भरतबहादुर बस्नेतले खरिद गरेका थिए ।
कम्पनीको अध्यक्षमा प्रेमाराज्य लक्ष्मी सिंह अध्यक्ष छन् भने राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मा, राजिवबहादुर शाहा, राजकुमार तिमिल्सिना, केएच राणा, कुलदिप शरण सिंह, लिलामणी न्यौपाने बोर्ड सदस्य छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा भरतबहादुर बस्नेत छन् ।  

Tata
GBIME