
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला बैंक तथा वित्तीय कम्पनीसँग साना संस्था मर्ज गर्न छलफल सुरु गरेको छ । एउटै प्रकृति र आकारका संस्थाहरु मर्जर हुँदा समस्या देखिन थालेकाले राष्ट्र बैंकले ठूला संस्थासँग विलय नैं हुने गरी साना संस्था मर्ज गर्न छलफल थालेको हो ।
राष्ट्र बैंकको नियमन विभागका साथै यसका वरिष्ठ कर्मचारी व्यक्तिगत रुपमै ठूला र साना बैंक तथा वित्तीय संस्था मर्ज गर्नका लागि प्रत्यक्ष छलफलमा जुटेका छन् । अहिलेसम्म विभागको मर्जर युनिटले गाभ्ने गाभिने विषयलाई प्राथमिकतामा राखेर सल्लाह मात्र दिँदै आएको थियो ।
मर्जर सिद्धान्त अनुसार दु्र्इ प्लस दु्र्इ पाँच हुनु पर्नेमा पछिल्लो मर्जर अभ्यासमा उल्टो घटेर तीन हुन थालेकाले राष्ट्र बैंकले नयाँ रणनीति अख्तियार गरेको हो । वित्तीय अवस्थ विग्रिएका संस्थाहरुको असर सहन गर्न सक्ने ठूलो संस्था छानेर मर्जरमा लैजाने रणनीति राष्ट्र बैंकको हो ।
त्यहाँका अधिकारीहरुका अनुसार, ठूलो पुँजी भएका संस्थाहरुले साना संस्था गाभ्दा देशकै वित्तीय अवस्था राम्रो हुने भएकाले नयाँ रणनीति लिइएको हो । यो रणनीति अनुसार राष्ट्र बैंकले कस्तो संस्थासँग कुन स्तरको संस्था गाभ्ने भनेर प्रारम्भिक नाम पनि संकलन गरिसेको छ । उनीहरुका अनुसार, पछिल्लो रणनीति अनुसार नै ग्लोबल आइएमइ बैंकसँग वित्तीय अवस्था खराव भएको सोसियल डेभलपमेन्ट बैंक गाभ्ने प्रकृया अगाडि वढेको हो ।
राष्ट्र बैंकले शाखा सञ्जाल विस्तार गर्न चाहने वाणिज्य बैंकहरुका लागि क्षेत्रीय स्तरका विकास बैंक र फाइनान्स कम्पनी गाभ्न सुझाव दिन थालेको छ । मर्जर नीति आएपछि गाभिएका २२ जोडी संस्थामध्ये आधाभन्दा वढीको अवस्था सन्तोषजनक छैन । मर्जरपछि कर्मचारी, सञ्चाक समिति र प्रवद्र्धकहरुमा विवाद उत्पन्न हुन थालेको छ ।
बराबरी हैसियतका संस्था मर्ज हुँदा ‘कोभन्दा को कम’ भन्ने अहंले संस्थाहरुमा समस्या आएको राष्ट्र बैंकको विश्लेषण छ । ठूलो संस्थासँग सानो संस्था मर्ज हुँदा कर्मचारीहरुलाई फाइदा पुग्ने र सानो संस्थाका सेयरधनीको पनि सम्पति वढ्ने भएकाले विवाद नहुने राष्ट्र बैंकको विश्लेषण हो ।